स्थानीय निर्वाचनमा ‘ईभीएम’ प्रयोगबारे कार्यदल गठन


काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह मतदान मिति घोषणा गरेसँगै आयोगले त्यसको तयारीस्वरुप ईभीएमको प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो ।

आयोगको बुधबार बसेको बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले बुधबारबाटै स्थानीय तह निर्वाचनमा ईभीएम प्रयोगबारे अध्ययन सुरु गरिसकेको छ ।
स्थानीय तहको निर्वाचनमा ईभीएम प्रयोगबारे आयोगले बुधबार प्रविधि क्षेत्रका विज्ञहरूसँग छलफल गरेपछि कार्यदल गठन गरिएको हो । 'आयोगले आज आईटी विज्ञहरूसँग छलफल गरेको थियो । हामीले प्रविधिमा आधारित मतदान प्रणाली लागू गर्न सम्भाव्यता के हुन्छ ? भन्नका लागि कार्यदल गठन गरेर प्रतिवेदन पेस गर्न सात दिन समय दिएका छौं,' आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
कुन-कुन निर्वाचन क्षेत्र/स्थानीय तहमा ईभीएम प्रयोग गर्नेबारे कार्यदलले सुझाव दिने प्रवक्ता पौडेलले बताए । कार्यदलमा नेपाल सरकारका आईटी विज्ञहरू रहेको उनले जानकारी दिए ।
कार्यदलका संयोजक दत्तले यसअघि नेपालमा निर्वाचनमा ईभीएम प्रयोग भइसकेको र आगामी निर्वाचनमा त्यसको प्रयोगका विभिन्न पक्षबारे अध्ययन गरेर सात दिनभित्र प्रतिवेदन दिनेगरी काम सुरु भइसकेको बताए ।
प्रकाशित : माघ २६, २०७८ १९:१८