आज छुट्लान् उमाशंकर ?

२८ करोड रूपैयाँ राजस्व छली गरेको अभियोग, थुनामुक्त मागसम्बन्धी निवेदनमा आज सर्वोच्च अदालतले सुनुवाइ गर्दै
तुफान न्यौपाने

काठमाडौँ — ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर गत वर्ष फागुन १९ मा ललितपुरको नख्खु कारागार चलान भएका उमाशंकर रायभरले आफूलाई थुनामुक्त गर्न आदेश माग गर्दै दिएको निवेदनमाथि सर्वोच्च अदालतले शुक्रबार सुनुवाइ गर्दै छ ।

जागिरका लागि दिएका नागरिकता, फोटो र हस्ताक्षरजस्ता व्यक्तिगत विवरण ठगले दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छलेपछि उमांशकर जेल परेका हुन् ।

बाराको परवानीपुर–१ मा ऐलानी जग्गामा बनेको कच्ची घरमा बस्दै आएका रायभरमाथि करिब २८ करोड रुपैयाँ राजस्व छली मुद्दामा पाटन उच्च अदालतले ७५ लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटी बुझाउन नसकेर जेल जीवन बिताउँदै आएका उनले गत पुस १८ मा सर्वोच्चमा आफूलाई तारेखमा छाड्न माग गर्दै निवेदन दिएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पुस २१ मा उच्च अदालतलाई कैफियत प्रतिवेदन पठाउन आदेश दिएको थियो ।

भाइ उमाशंकरको रिहाइका लागि संघर्षरत सन्तोष बाध्यताले उडे कतार

पाटन उच्च अदालतले पुस २९ मा सर्वोच्चलाई मुद्दासम्बन्धी विवरणसहितको प्रतिवेदन पठाएको थियो । त्यसपछि सर्वोच्च अदालतले शुक्रबारका लागि पेसी तोकेको हो । सुनुवाइपछि सर्वोच्चले रायभरलाई उच्च अदालतको आदेश बदर गर्दै साधारण तारेखमा छाड्ने, धरौटी रकम घटाइदिने वा उच्च अदालतको आदेश कायमै राख्ने गरी तीनमध्ये एक आदेश गर्नेछ ।

सर्लाही स्थायी घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका सरोजकुमार मिश्रले रायभर र उनीजस्तै विपन्न परिवारका युवाको व्यक्तिगत विवरण दुरुपयोग गरेर उनीहरूकै नाममा प्रोकरस इन्टरनेसनल प्रालि (स्थायी लेखा नं ६०३५३२३४८), आरकेएस इन्टरनेसनल प्रालि (स्थायी लेखा नं. ६०४२३२८९२), अनन्या इन्टरनेसनल (स्थायी लेखा नं. ६०५२१६४१५), इन्टरसिटी इन्टरनेसनल (स्थायी लेखा नं ६०५२१६४२८), ब्लु क्रस ट्रेडर्स (स्थायी लेखा नं. ६०४८५७६०८), जेन सप्लायर्स (स्थायी लेखा नं. ६०४२९६७७३), राज एन्ड किशोर इन्टरनेसनल (स्थायी लेखा नं. ६०३८२८६९६) र स्विफ्ट इन्टरनेसनल प्रालि (स्थायी लेखा नं. ६०४२९६७९९) नामक फर्म/प्रालि दर्ता गरेका छन् । ती कम्पनीनका नामबाट विभिन्न बैंकमा खाता खोली त्यसको सञ्चालक बनेर मिश्रले राजस्व ठगी गरेको पाइएको छ । उनी एसकेएम एक्टिभ ट्रेडिङ प्रालि (स्थायी लेखा नं. ६०३५३०६४१) को भनै आफैं सञ्चालक छन् ।

सर्वोच्चले उच्च अदालतलाई सोध्यो - ‘२८ करोड राजस्व छलीको मुद्दामा विपन्न किन थुनामा ?’

राजस्व अनुसन्धान विभागले गत वर्ष उच्च अदालतमा दायर अभियोगपत्रअनुसार मिश्रले मूल्य अभिवृद्धि कर, आयकार र लाभांश कर गरी एक अर्ब ४ करोड २४ लाख ९९ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको देखिन्छ । विभागले १० जनालाई मुख्य अभियुक्त र सात जनालाई मतियार बनाएर झूटा, जालसाजी तथा नक्कली कर बीजक जारी गरेको र मूल्य अभिवृद्धि कर, आयकर र लाभांश कर छली गरेको अभियोग मुद्दा लगाएको थियो  । विभागले उच्च अदालतमा मिश्र, उनका कम्पनीमा कार्यरत कर्मचारी, लेखा परीक्षक र कर सहयोगीविरुद्ध कर छलीको मुद्दा चलाएको हो । मिश्रसँगै उमाशंकर सहनी, हीरालाल जहरा, रामबाबु सहनी, राजकिशोर सहनी, रामसुन्दर रायभर, सुरेन्द्रकुमार इङ्नाम र दीपककुमार कोइराला गरी ८ जना फरार छन् ।

विभागले रायभरविरुद्ध भने ब्लु क्रस ट्रेडर्समार्फत १५ करोड ८७ लाख ७ हजार ९ सय १३ र जेन सप्लायर्समार्फत १२ करोड ३ लाख ४३ हजार ७ सय ३९ रुपैयाँ छलेको अभियोग लगाएको छ  । दुवै कम्पनीबाट गरी छलेको भनिएको २७ करोड ९० लाख ५१ हजार ५ सय ५२ रुपैयाँ जरिवाना र मुद्दाको फैसला हुने समयसम्मको थप जरिवाना रकम उनीबाट असुल्नुपर्ने विभागको मागदाबी छ  । विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम पाँच वर्षसम्म कैद गर्न पनि माग गरेको छ  ।

यो हो २८ करोड राजस्व छलीका आरोपितको घर

उच्च अदालत पाटनले रमेश घिमिरे, वीरेन्द्रकुमार चौधरी, गंगाप्रसाद भट्टराई र तोयानाथ अधिकारीसँग ५० हजार रुपैयाँ मात्रै धरौटी मागेको थियो । घिमिरे फेमिलिएर इन्भेस्टमेन्ट ग्रुप प्रालि नामको कम्पनी सञ्चालक हुन् । उनीमाथि उक्त कम्पनीबाट झूटा तथा नक्कली कर बीजक जारी गरेको र लेखा परीक्षण प्रतिवेदन तयार पार्न मिश्रलाई सहयोग गरेको अभियोग छ । चौधरीले आफूलाई मिश्रको फर्मबाट कर तिरी कारोबार गर्ने व्यापारीका रूपमा चिनाएका छन् । भट्टराई र अधिकारी कर सहयोगीका रूपमा कार्यरत कर्मचारी हुन् । उच्च अदालतले टंकबहादुर राउतलाई २ लाख र दीपक निरौलालाई १ लाख रुपैयाँ धरौटी मागेको थियो । उनीहरू सबै छुटिसकेका छन् । राउत एन्ड एसोसिएट्स नामको लेखा परीक्षण गर्ने फर्म सञ्चालक राउत र दीपक एन्ड कम्पनी नामको लेखा परीक्षण गर्ने फर्मको सञ्चालक रहेका निरौला दुवैमाथि मिश्रका कम्पनीमा लेखा परीक्षण गरी झूटा प्रतिवेदन दिएको अभियोग छ ।

१० महिनादेखि जेलमा रहेका उमाशंकरलाई छुटाउन सर्वोच्चमा निवेदन

उच्च अदालतले कर सहयोगीहरू परमेश्वर साहलाई पनि ७५ लाख र जयकिशोर साहलाई ७० लाख धरौटी माग गरेको थियो । जयकिशोर ७० लाख धरौटी स्वरूप बैंक जमानत बुझाएर छुटे भने परमेश्वर उच्च अदालतको आदेशविरुद्ध कानुन व्यवसायी खोजेर सर्वोच्च अदालत गए । गत असोज १ मा सर्वोच्च अदालतका न्यायाधीशहरू टंकबहादुर मोक्तान र सुष्मलता माथेमाले धरौटी रकम ७५ लाखबाट १० लाखमा झारिदिएपछि उनी पनि उक्त रकम बुझाएर छुटिसकेका छन् । अदालतमा हाजिर हुन पुगेका ९ जनामध्ये रायभर मात्रै धरौटी बुझाउन नसकेर बन्दी जीवन बिताइरहेका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमको इजलासले गत वर्ष फागुन १९ मा रायभरलाई ७५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।

विपन्नताका कारण उच्च अदालतको आदेशलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालत जाने कानुन व्यवसायीसमेत नपाएर थुनिएका रायभरले अधिवक्ता राधिका खतिवडाबाट निःशुल्क कानुनी सहायता पाएपछि मात्रै गत पुस १८ मा उनले निवेदन दिन सकेका हुन् । रायभरले सर्वोच्चमा दिएको निवेदनमा आफू ज्याला मजदुरी गरी खाने सामान्य नागरिक भएकाले आफ्ना कागजात दुरुपयोग गरी भएको कसुरबारे जानकारी नरहेको उल्लेख गरेका छन् ।

उनले निवेदनमा लेखेका छन्, ‘म एक सामान्य नागरिक हुँ । ज्याला मजदुरी, खेती किसानी गरेर खाने, अनपढ मानिस भएकाले अरूले गरेको षड्यन्त्र बुझ्न सकिनँ  । मैले अभियोग लगाइए जस्तो भ्रमपूर्ण, नक्कली तथा झूटा मूल्य अभिवृद्धि कर बीजक बनाई राजस्व चुहावट गरी सरकारलाई घाटा पुर्‍याउने काम गरेको छैन  । आरोप लगाइएको कम्पनी दर्ताबारे पनि मलाई केही जानकारी छैन  ।’

जो ठगको फन्दामा परेर जेल पुगे

कानुन व्यवसायी खतिवडाले राजस्व अनुसन्धान विभागको ‘अनुसन्धान प्रतिवेदन’ आफैंमा प्रमाण नहुने, त्यसलाई अनुसन्धानको आधार बनाएर थप प्रमाणित गर्नुपर्नेमा त्यसो नगरी थुनामा राख्ने पाटन उच्च अदालतको आदेश गैरकानुनी भएको तर्क गरिन्  । ‘आर्थिक हैसियतले धान्न र तिर्न नसक्ने धरौटी माग गर्ने र त्यसो गर्न नसकेका कारणले मात्र थुनामा बस्न बाध्य पार्ने कार्य सर्वोच्च अदालतकै नजिरविपरीत छ । उच्च अदालतको आदेश न्यायोचित छैन । त्यो बदर हुनुपर्छ,’ उनले भनिन् ।

प्रकाशित : माघ १४, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

सहज बन्दै सिटामोल

सरकारले अनुगमन तीव्र बनाएपछि फार्मेसीले लुकाउन छाडे, नेपाल औषधि लिमिटेड र अन्य कम्पनीले उत्पादन बढाए
राजु चौधरी

काठमाडौँ — कोभिड तेस्रो लहरसँगै बजारमा अभाव भएको सिटामोल केही सहज बन्दै गएको छ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड र स्वदेशी उत्पादनकर्ताहरूले उत्पादन बढाएसँगै बजारमा सिटामोल पाइन थालेको छ ।

आपूर्ति व्यवस्था र बजार अनुगमन गर्न मुख्य दायित्व पाएका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार ६ फार्मेसीमा अनुगमन गर्दा चारवटामा सिटामोल भेटिएको छ । ‘साताअघिसम्म बजारमा समस्या नै थियो, फार्मेसीहरूमा सिटामोल अत्यन्त कम देखिन्थ्यो,’ विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले भने, ‘अब अभाव कम हुँदै गएको छ । ६ वटा फार्मेसीमा अनुगमन गर्दा कम्तीमा चारवटामा भेटिएको छ ।’

पौडेलका अनुसार बुधबार बी एन्ड बी अस्पताल क्षेत्रका दुई फार्मेसीमा अनुगमन गर्दा दुवैमा सिटामोल भेटिएको थियो । मंगलबार चाबहिल क्षेत्रका ६ फार्मेसीमा अनुगमन गर्दा ४ वटामा सिटामोल थियो । सोमबार टिचिङ अस्पताल क्षेत्रमा अनुगमन गर्दा पनि अभाव कम हुँदै गएको पौडेलले बताए । ‘फार्मेसीहरूले बिरामीको गम्भीरताको आधारमा एउटा व्यक्तिलाई एक पत्ता सिटामोल दिएका छन्,’ उनले भने, ‘एउटा व्यक्तिलाई एउटा मात्रै दिँदा उपलब्धता देखियो ।’

सरकारले अनुगमन तीव्र बनाएपछि अहिले फार्मेसीहरूले औषधि लुकाएका छैनन् । अभाव पनि कम हुँदै गएको विभागका प्रवक्ता हरि पंगेनीले बताए । ‘सरकारी निकायले अनुगमन बढाएपछि होलसेलले फार्मेसीलाई सिटामोल उपलब्ध गराएका छन् । औषधि उत्पादक कम्पनीहरूले पनि उत्पादन बढाएका छन्,’ पंगेनीले भने, ‘त्यसको प्रभाव बजारमा देखिएको छ । साताअघि धेरै समस्या थियो, अहिले त्यति समस्या छैन । बिस्तारै पाइएको छ ।’

बजारमा अभाव भएपछि गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिएका थिए । लगत्तै औषधि व्यवस्था विभागमा औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्तासहित छलफल भएको थियो । त्यस क्रममा सबैले आ–आफ्नो तर्फबाट उत्पादन र आपूर्ति गर्ने प्रतिबद्धता जनाएका थिए ।

यहीबीचमा सर्वोच्च अदालतले पनि सिटामोललगायतका औषधिको सहज वितरणको व्यवस्था मिलाउन सरकारका नाममा आन्तरिम आदेश जारी गरेको थियो । त्यसपश्चात पनि कम्पनीहरू तातेका हुन् । औषधि व्यवस्था विभागका अनुसार नेपालमा औषधि उत्पादन गर्ने २५ उद्योग छन् । ती उद्योगले क्षमताअनुसार उत्पादन गर्ने जनाएका छन् । आयातकर्ता १२ वटा छन् । जसमध्ये एउटा आयातकर्ताले आयात गरिरहेको जनाएको छ । नेसनल हेल्थ केयर र नेपाल औषधि लिमिटेडले पनि प्रतिबद्धताअनुसार औषधि उपलब्ध गराएको औषधि व्यवस्था विभागले जनाएको छ ।

लिमिटेडका महाप्रबन्धक मोहम्मद साइफुल्लाले औषधि उत्पादन धमाधम भइरहेको जानकारी दिए । ‘गत बुधबार औषधि व्यवस्था विभागमा भएको छलफलमा ७ दिनमा १० लाख ट्याब्लेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थियो । औषधि लिमिटेडले बुधबार (१२ गतेसम्म) साढे १२ लाख ट्याब्लेट आपूर्ति गरेको छ,’ उनले भने, ‘थप १६ लाख ५९ हजार ९१ ट्याब्लेट मौज्दात छ ।’

महानिर्देशक साइफुल्लाका अनुसार औषधि लिमिटेडले थापाथली, महाराजगन्ज, पाटन, टेकु, वीर अस्पताल क्षेत्रका फार्मेसीहरूमा उक्त ट्याब्लेट उपलब्ध गराएको छ । लिमिटेड घाटामा गएपछि सिटामोल उत्पादन बन्द गरेको थियो । लिमिटेडको घाटा पूर्ति गर्न बोर्डले अर्थ मन्त्रालयसँग १ करोड ६ लाख माग गरेको थियो । अर्थबाट स्रोत सुनिश्चित नभएपछि औषधि लिमिटेड पर्ख र हेरको अवस्थामा थियो । अहिले बजारमा सिटामोल अभाव भएपछि पुनः उत्पादन सुरु गरेको लिमिटेडले जनाएको छ ।

औषधि उत्पादक संघका अध्यक्ष प्रबलजंग पाण्डेले पनि सिटामोलको अभाव सहज भएको बताए । ‘उद्योगीहरूले उत्पादन बढाएका छन्, बजारमा त्यति समस्या छैन, धेरै सहज भइसकेको छ,’ उनले भने, ‘सर्वसाधरणले सञ्चय गर्दा केही समस्या भएको थियो । अहिले त्यो अवस्था पनि छैन । बजारमा उपलब्धता छ ।’ संघका अनुसार उद्योगीहरूसग भएको कच्चा पदार्थका आधारमा उत्पादन बढाएका छन् ।

नवीकरण नगर्ने फार्मेसी धमाधम कारबाहीमा

वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागले नवीकरण नगरी, बिल बीजक जारी नगरी कारोबार गर्ने फार्मेसीलाई धमाधाम कारबाही सुरु गरेको छ ।

विभागका निरीक्षक अधिकृत धनेश्वर पौडेलका अनुसार बुधबार त्रिपुरेश्वरमा रहेको अस्मिता सर्जिकल हाउसलाई १० हजार जरिवाना गरिएको थियो । उक्त सर्जिकल हाउसलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ को (घ), ३९,१ (क) बमोजिम जरिवाना गरिएको छ ।

मंगलबार जियस फार्मेसीलाई १० हजार, सास्की फार्मेसीलाई ५ हजार जरिवाना गरेको पौडेलले बताए । सोमबार भिगोर फार्मेसीलाई ५ हजार, माइरस फार्मेसीलाई १० हजार, मेडसेवा हेल्थकेर प्रालिलाई ५ हजार, मेरिडियन फार्मेसीलाई ५ हजार जरिवाना गरेको उनले बताए । ‘समयमै नवीकरण नगरेको, बिलबिजक जारी नगरेको र अनुगमनमा असहयोग गरेको कसुरमा जरिवाना गरेका छौं,’ उनले भने ।

प्रकाशित : माघ १४, २०७८ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×