सर्वोच्चले उच्च अदालतलाई सोध्यो - ‘२८ करोड राजस्व छलीको मुद्दामा विपन्न किन थुनामा ?’

उमाशंकरलाई थुनामा पठाउने आदेश गर्नुको आधार र कारणसहितको ‘कैफियत प्रतिवेदन’ मगाउन आदेश
तुफान न्यौपाने

काठमाडौँ — बाराको परवानीपुर–१ का उमाशंकर रायभरलाई ठूलो राशि धरौटी मागी थुनामा पठाउनुको कारण पेस गर्न सर्वोच्च अदालतले पाटन उच्च अदालतलाई आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधबार रायभारलाई थुनामा पठाउने आदेश गर्नुको आधार र कारणसहितको ‘कैफियत प्रतिवेदन’ उच्चबाट मगाउने आदेश दिएको हो । 

नख्खु कारागारमा १० महिनादेखि थुनामा रहेका रायभरले अधिवक्ता राधिका खतिवडाको सहयोगमा गत आइतबार सर्वोच्च अदालतमा ‘बेरितको आदेश बदर गर्न’ निवेदन दिएका थिए । त्यसमा बुधबार पहिलो सुनुवाइ भएको हो । राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दर्ता भएपछि रायभर पक्राउ परेका हुन् ।

ऐलानी जग्गामा बनेको कच्ची घरमा बस्ने र बिहान–साँझ हातमुख जोड्न पनि धौ–धौ पर्ने परिवारका रायभरमाथि करिब २८ करोड रुपैयाँ राजस्व छलीको अभियोग छ । त्यही अभियोगमाथि प्रारम्भिक सुनुवाइ गर्दै पाटन उच्च अदालतका न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमको इजलासले गत वर्ष फागुन १९ मा रायभरसँग ७५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन वा बैंक जमानत राख्न नसकेपछि उनलाई नख्खु कारागार चलान गरिएको थियो ।

सर्लाहीका सरोजकुमार मिश्रले रायभरको नागरिकता, हस्ताक्षर र ल्याप्चेलगायत व्यक्तिगत विवरण दुरुपयोग गरेर कम्पनी दर्ता गरी राजस्व छली गरेको भए पनि विभागको प्रतिवेदनलाई मात्रै आधार बनाएर उच्च सरकारी वकिलको कार्यालयले रायभरमाथि पनि मुद्दा चलाएको थियो । काठमाडौंको कोटेश्वरमा बस्दै आएका सर्लाहीको साविक गोडैता गाविस–६ (हाल गोडैता नगरपालिका–८) का मिश्रले रायभरको नागरिकताको फोटोकपी लिएर ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामका दुई कम्पनी दर्ता गराएका थिए ।

१० महिनादेखि जेलमा रहेका उमाशंकरलाई छुटाउन सर्वोच्चमा निवेदन

प्राथमिक तह मात्र पढेका रायभरले जागिर पाउने प्रलोभनमा कागजातमा हस्ताक्षर र ल्याप्चे गरेका थिए । मिश्रले त्यसपछि कम्पनी दर्ता गरी सिटिजन्स बैंकमा खाता खोलेर बैंकसम्बन्धी सम्पूर्ण कारोबारको अख्तियारी आफैंले लिएका थिए । उनीले ती कम्पनीबाट गैरकानुनी रूपमा कर छली गरेको पाइएको छ ।

मिश्रले रायभर जस्ता सिधासाधा युवाको कागजात दुरुपयोग गरेर ठूलो रकम कर छली गरेको देखिन्छ । उनले प्रोकरस इन्टरनेसनल प्रालि, आरकेएस इन्टरनेसनल प्रालि, अनन्या इन्टरनेसनल, इन्टरसिटी इन्टरनेसनल, ब्लु क्रस ट्रेडर्स, जेन सप्लायर्स, राज एन्ड किशोर इन्टरनेसनल र स्विफ्ट इन्टरनेसनल प्रालि नामक फर्म/प्रालिहरूको बैंक खाता सञ्चालक बनेर तथा एसकेएम एक्टिभ ट्रेडिङ प्रालिको सञ्चालक बनेर एक अर्ब रुपैयाँभन्दा बढी कर छलेको राजस्व अनुसन्धान विभागले दायर गरेको अभियोग पत्रमा देखिन्छ । विभागले मिश्रले मूल्य अभिवृद्धि कर, आयकार र लाभांश कर ठगी गरेको भन्दै एक अर्ब ४ करोड २४ लाख ९९ हजार ७ सय २८ रुपैयाँ बिगो कायम गरेर बिगो र त्यति नै जरिवाना रकम उनीबाट असुल्न माग गर्दै मुद्दा चलाएको हो ।

रायभरलाई ब्लु क्रस ट्रेडर्समार्फत १५ करोड ८७ लाख ७ हजार ९ सय १३ र जेन सप्लायर्समार्फत १२ करोड ३ लाख ४३ हजार ७ सय ३९ रुपैयाँ छलेको अभियोग लगाइएको छ । दुवै कम्पनीबाट गरी छलेको भनिएको २७ करोड ९० लाख ५१ हजार ५ सय ५२ रुपैयाँ जरिवाना र मुद्दाको फैसला हुने समयसम्मको थप जरिवाना रकम उनीबाट असुल्नुपर्ने राजस्व अनुसन्धान विभागको माग छ । विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम उनलाई पाँच वर्षसम्म कैद गर्न पनि माग गरेको छ ।

राजस्व अनुसन्धान विभागको कमजोर अनुसन्धान, त्यसैमा मात्र आधारित भएर उच्च सरकारी वकिलको कार्यालयले दर्ता गराएको अभियोग पत्र र पाटन उच्च अदालतले गोश्वारा रूपमा गरेको थुनछेक आदेशका कारण रायभर कुनै ‘अपराध’ बिना १० महिनादेखि थुनिनुपरेको हो । राजस्व अनुसन्धान विभाग मुलुकमा राजस्व चुहावट नियन्त्रण गर्न गठन भएको विशिष्टीकृत निकाय हो । राजस्व चुहावट र विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान तहकिकात र अभियोजन गर्ने अधिकारप्राप्त विभाग अहिले देशको कार्यकारी शक्ति अभ्यास गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत क्रियाशील छ ।

यो हो २८ करोड राजस्व छलीका आरोपितको घर

हरिहर भवन ललितपुरमा कार्यालय रहेको विभागअन्तर्गत इटहरी, पथलैया, बुटवल र कोहलपुरमा थप चारवटा कार्यालय पनि छन् । यस्तो स्रोतसाधन र शक्ति सम्पन्न विभागले परिबन्दमा परेका रायभरजस्ता सर्वसाधारण र उनीहरूका कागजात दुरुपयोग गरी कम्पनी खडा गरेर करोडौं ठगी गर्ने मिश्र जस्ता व्यक्तिहरूबीच भेद नछुट्याई ‘अनुसन्धान प्रतिवेदन’ तयार पारेको देखिन्छ ।

राजस्व अनुसन्धान विभागको त्यस्तो प्रतिवेदनमै आधारित भएर उच्च सरकारी वकिलको कार्यालयले अभियोजन गरेको देखिन्छ । उच्च सरकारी वकिलको कार्यालयलाई अनुसन्धान गर्ने निकायले गरेको अनुसन्धान पूर्ण नभएको, मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेको अवस्थामा थप अनुसन्धान गर्न र प्रमाण जुटाउन निर्देशन दिन सक्ने अधिकार छ ।

बाराको परवानीपुरस्थित उमाशंकर रायभरको घर ।

रायभरले सर्वोच्च अदालतमा दिएको निवेदनमा आफू ज्याला मजदुरी गरी खाने सामान्य अनपढ नागरिक भएकाले आफ्ना कागजात दुरुपयोग गरी भएको कसुरबारे जानकारी नरहेको उल्लेख गरेका छन् । उनले निवेदनमा लेखेका छन्, ‘म एक सामान्य नागरिक हुँ । ज्याला मजदुरी, खेती किसानी गरेर खाने, अनपढ मानिस भएकाले अरूले गरेको षड्यन्त्र बुझ्न सकिनँ । मैले अभियोग लगाइए जस्तो भ्रमपूर्ण, नक्कली तथा झूटा मूल्य अभिवृद्धि कर बिजक बनाई राजस्व चुहावट गरी सरकारलाई घाटा पुर्‍याउने काम गरेको छैन । आरोप लगाइएको कम्पनी दर्ताबारे पनि मलाई केही जानकारी छैन ।’

रायभरकी कानुन व्यवसायी खतिवडाले सर्वोच्च अदालतले ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश गरेसँगै रायभर थुनामुक्त हुन सक्ने प्रक्रिया सुरु भएको बताइन् । उनले राजस्व अनुसन्धान विभागको ‘अनुसन्धान प्रतिवेदन’ आफैंमा प्रमाण नहुने, त्यसलाई अनुसन्धानको आधार बनाएर थप प्रमाणित गर्नुपर्नेमा त्यसो नगरी थुनामा राख्ने पाटन उच्च अदालतको आदेश गैरकानुनी भएको तर्क गरिन् । रायभरले निवेदनमा आफ्नो आर्थिक हैसियतले धान्न र तिर्न नसक्ने धरौटी माग गर्ने र त्यसो गर्न नसकेका कारणले मात्र थुनामा बस्न बाध्यबारे पार्ने उच्च अदालतको आदेश न्यायोचित नभएको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् ।

सर्वोच्चले मगाएको ‘कैफियत प्रतिवेदन’ मा उच्च अदालतले मुद्दासँग सम्बन्धित मिसिल र रायभरलाई चर्को धरौटी रकम माग गर्ने तथा बुझाउन नसकेपछि थुनामा पठाउने आदेश गर्नुको आधार–कारण खुलाएर पठाउनुपर्नेछ । ‘उच्च अदालतबाट एक साताभित्रै प्रतिवेदन आउँछ । त्यसपछि सुनुवाइका लागि संयुक्त इजलासमा पेस हुन्छ,’ सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले भने, ‘संयुक्त इजलासले सुनुवाइ गरेर रायभरलाई तारेखमा छाड्ने, धरौटी रकम घटाइदिने वा उच्च अदालतले माग गरेको धरौटीलाई कायमै राख्नेमध्ये कुनै एक निर्णय दिनेछ ।’

प्रकाशित : पुस २२, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल इन्जिनियरिङ कलेजको ठगी मुद्दा फैसला हुने चरणमा

कलेजको करिब ६ करोड आपसमा बाँडेको, कलेजकै रकमले गाडी किनेर व्यक्तिका नाम दर्ता गरेको, उही नामको कम्पनी खडा गरी खर्च देखाएको, असम्बन्धित व्यक्तिलाई लाखौं पेस्की बाँडेको अभियोग
तुफान न्यौपाने

काठमाडौँ — नेपाल इन्जिनियरिङ कलेजमा करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका लम्बोदरकुमार न्यौपानेलगायत विरुद्धको मुद्दा फैसला हुने चरणमा पुगेको छ । मुद्दाको सम्पूर्ण ‘अंग पुगेकाले’ भक्तपुर जिल्ला अदालतले सोमबार फैसला गर्ने सम्भावना छ ।

यस मुद्दामा गत साउन ३१ देखि नियमित सुनुवाइ गरिरहेकी न्यायाधीश कमला पौडेलले गत मंसिर १२ मा एक महिनाको समय दिएर बहस नोट पेस गर्न आदेश गरेकी थिइन् । दुवै पक्षले बहस नोट पेस गरिसकेकाले अदालतले सोमबारका लागि पेसी तोकेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरी तयार पारेको प्रतिवेदनका आधारमा भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा नेपाल इन्जिनियरिङ कलेजबाट न्यौपानेले ३३ करोड ७५ लाख १७ हजार ६ सय ४६, रामरत्न उपाध्यायले चार करोड ७० लाख ६८ हजार ६ सय ४४ र लबराज भट्टराईले ६ करोड ३४ लाख ६६ हजार ६ सय ७ रुपैयाँ ठगी गरेको अभियोग लगाइएको छ । त्यस्तै उपेन्द्र गौतमले पाँच करोड ६९ लाख २३ हजार चार सय ३१ र रामकुमार श्रेष्ठले २८ लाख ६४ हजार पाँच सय रुपैयाँ ठगी गरेको भन्दै कलेजलाई भराउन माग गरिएको छ ।

चोलाकान्त च्वाइँमाथि किर्ते गरेर कलेजको विधान परिवर्तन गरेको अभियोग लगाइएको छ । भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयले २०७७ कात्तिक १७ मा मृत्यु भएका सूर्यबहादुर केसीको जायजेथा वा बैंक ब्यालेन्सबाट दुई करोड १८ लाख ५० हजार ८ सय रुपैयाँ कलेजलाई भराउन मागदाबी गरेको छ । अभियोग पत्रमा न्यौपाने र उनको समूहमाथि कलेजको करिब छ करोड रुपैयाँ आपस बाँडेको, कलेजको रकमले गाडी किनेर व्यक्तिका नाम दर्ता गरेको, उही नामको कम्पनी खडा गरी खर्च देखाएको, कलेजसँग असम्बन्धित व्यक्तिहरूलाई लाखौं रकम पेस्की बाँडेको, हुँदै नभएको सचिवालयका नाममा खर्च देखाएको जस्ता विवरण उल्लेख छ ।

करोडौं रुपैयाँको खर्च अनियमित भनेर लेखा परीक्षण प्रतिवेदनमा पनि लेखिएपछि कलेजको नेतृत्व सम्हालिरहेका न्यौपानेको समूहले गरेको ठगी बाहिरिएको थियो । प्रतिवेदनले नै औंल्याएपछि कलेजले सञ्चालक समितिसँग त्यसबारे सोधेको थियो । ‘तर, उनीहरूले कुनै वास्ता नगरी पन्छाएपछि हामी ठगीको जाहेरी लिएर प्रहरीकामा गएका हौं,’ एक जना सञ्चालक सलिल भट्टराईले भने ।

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण–४ भक्तपुरका प्राचार्य हरिकृष्ण श्रेष्ठको जाहेरीमाथि अनुसन्धान गरेर कलेजका पूर्वअध्यक्ष न्यौपानेसहित सात जनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा गत वर्ष पुस २८ मा ठगी तथा किर्ते मुद्दा पनि दर्ता गरिएको थियो । प्रहरीले न्यौपानेसहित नेपाल इन्जिनियरिङ कलेजका पूर्वलेखा नियन्त्रक रामकुमार श्रेष्ठ र पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखाका सहायक प्रशासक चोलाकान्त च्वाइँलाई पक्राउ गरेर पेस गरेको थियो । फरार रहेका कलेजका तत्कालीन सञ्चालकहरू लबराज भट्टराई, उपेन्द्र गौतम र रामरत्न उपाध्याय पछि अदालतमा हाजिर भएका थिए । संस्थापकमध्येका सूर्यबहादुर केसीको मृत्यु भइसकेकाले उनलाई फौजदारी कारबाहीका लागि भने प्रतिवादी बनाइएको थिएन ।

२०७७ मंसिर १० मा पक्राउ परेका न्यौपानेलाई न्यायाधीश पौडेलले त्यसै वर्षको माघ ८ मा ३५ लाख रुपैयाँ धरौटीमा छाडेकी थिइन् । ‘अदालतमा पेस भएका प्रमाणको मूल्यांकन गर्दा उनी ठगी र किर्ते मुद्दामा दोषी होइनन् भन्ने अवस्था नदेखिए पनि उनको उमेर र स्वास्थ्य अवस्थालाई ख्याल गर्दै धरौटीमा छाड्नु उचित हुने’ आदेश पौडेलले दिएकी थिइन् । त्यस्तै श्रेष्ठलाई १० लाख र च्वाइँलाई पनि ५० हजार रुपैयाँमा त्यसै दिन न्यायाधीश पौडेलले नै धरौटीमा छाड्ने आदेश दिइन् । गएको असार २४ मा उपाध्याय पनि १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । भट्टराई र गौतम पनि अदालतमा हाजिर भएर धरौटीमा छुटेका थिए ।

न्यौपाने र अन्य सञ्चालकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ । विभागले अनुसन्धान सकेर मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन विशेष सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ । तर सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन तदारुकता देखाएको छैन ।

नेपालमा इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ बनाउन र देशका लागि दक्ष जनशक्ति उत्पादन गर्न भन्दै २०४८ फागुन २३ मा दीपक भट्टराईको अध्यक्षतामा रामरत्न उपाध्याय, हरिप्रसाद पाण्डे, उपेन्द्र गौतम, सूर्यबहादुर केसी, लबराज भट्टराई र लम्बोदरकुमार न्यौपाने सदस्य रहेको सञ्चालक समिति गठन गरिएको थियो । २०४८ मा कलेजको नाम नेपाल इन्जिनियरिङ कलेज राखिएकामा २०५१ मा संस्थापकहरूको सहमतिमा मुनाफारहित सामाजिक संस्थाका रूपमा कलेज सञ्चालन गर्ने गरी विधान बनाइएको थियो । २०६० भदौ ४ मा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा इन्जिनियरिङ कलेज दर्ता गरिएको थियो । २०५१ सालमै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएर चार वर्ष सञ्चालन भएपछि उक्त कलेजले २०५५ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको थियो ।

२०७० मंसिरमा न्यौपाने कलेज सञ्चालक समितिको अध्यक्ष भएपछि कलेजमा अनियमितता सुरु भएको एक जना सञ्चालकले बताए । न्यौपानेसहित उपाध्याय, भट्टराई, गौतम र केसीले २०७४ वैशाखमा कलेजको सम्पत्ति निजी कम्पनीको हुने गरी कलेजको प्रबन्धपत्र र नियमावली संशोधन गरेका थिए । जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार त्यसपछि न्यौपानेले आफ्नो एकल नाममा नेपाल इन्जिनियरिङ कलेज प्रालि दर्ता गरेका थिए । कलेजभित्रैबाट उक्त कार्यको चर्को विरोध भएपछि न्यौपाने आफैंले कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर त्यसै वर्षको मंसिर २० मा दर्ता खारेज गराएका थिए । तर पछि उनी खारेज गरिएको कम्पनीको दर्ता पुनःस्थापना गरिपाउँ भनी उच्च अदालत पाटन गए ।

२०७५ पुसमा उच्च अदालत पाटनले न्यौपानेको मागबमोजिम आदेश दियो । त्यसलाई बदर गराउन सञ्चालक समितिका तत्कालीन सदस्यद्वय हरिप्रसाद पाण्डे र सलिल भट्टराई कलेजका तर्फबाट सर्वोच्च अदालत गए । सर्वोच्चले उच्च अदालत पाटनको फैसला कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । यो मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्चले गत असोज १८ मा मिसिल झिकाउने आदेश दिएकामा त्यसपछि दुई पटक सुनुवाइका लागि पेसी तोकिएको थियो तर सुनुवाइ हुन सकेन ।

मुद्दा खेपिरहेका सञ्चालकहरूले कलेज गैरनाफामूलक संस्थाका रूपमा रहने भन्नेमा कहिल्यै सहमति नभएको दाबी गरेका छन् । ‘तर, विभिन्न समयमा उनीहरू रोटेसनबाट अध्यक्ष भएका छन् । उनीहरू अध्यक्ष भएका बखत कलेजका लागि जग्गा उपलब्ध गराइदिने स्थानीय निकायहरूलाई गरिएको पत्राचारमा समेत गैरनाफामूलक संस्था भएको उल्लेख छ,’ एक जना कलेज सञ्चालकले भने । हाल कलेजका नाममा गैरनाफामूलक संस्थाका लागि भनेर नेपाल सरकारका विभिन्न निकायबाट प्राप्त १ सय ७४ रोपनी जग्गा छ । ‘२७ वर्षअघिदेखिको वित्तीय प्रतिवेदन र माइन्युटलगायत सम्पूर्ण आन्तरिक कागजातमा गैरनाफामूलक संस्था उल्लेख गरिएको छ । तर अहिले विभिन्न उपाय खोजेर कलेजको सम्पत्ति निजी बनाउने प्रयास भइरहेको छ । त्यसमा अदालतले कस्तो भूमिका खेल्छ हेरौं,’ कलेज स्रोतले भन्यो ।

संस्था दर्ता ऐन र नियमावलीले सञ्चालकहरूले कुनै संस्था चलाउन नसके सम्पूर्ण चल/अचल सम्पत्ति र दायित्व नेपाल सरकारमा सर्ने उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ मंसिरमा इन्जिनियरिङ कलेजको पुरानो सञ्चालक समिति भंग गरी नयाँ सञ्चालक समिति गठन गर्ने निर्णय गरेको थियो ।

जसअनुसार अहिले चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र सञ्चालक समितिको अध्यक्ष रहने गरी ९ सदस्यीय समितिले कलेज सञ्चालन गर्दै आएको छ । ‘तत्कालीन सात जना सञ्चालकबाट कलेज सञ्चालन सम्भव भएन भन्ने अब प्रमाणित भइसक्यो । कलेजको सम्पत्ति र सम्पूर्ण दायित्व सरकारले स्वीकार गरेर सञ्चालनको नयाँ मोडल तय गर्नु उपयुक्त हुन्छ,’ सञ्चालक सलिल भट्टराईले भने ।

प्रकाशित : पुस १९, २०७८ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×