साझा उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धनको अपिल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
राष्ट्रिय सभा निर्वाचन

साझा उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धनको अपिल

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँच दलीय गठबन्धनले राष्ट्रिय सभा चुनावमा संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेको छ । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै माघ १२ गते हुने निर्वाचनमा साझा उम्मेदवारहरुलाई विजयी गराएर गठबन्धनलाई अझ मजबुत बनाउन आग्रह गरेका हुन् ।

'यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर गठबन्धनलाई अझ मजबुत तुल्याउन र लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न हामी हार्दिक अपिल गर्दछौं,' जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

बुधबार १९ पदका लागि चुनाव हुँदैछ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्न पाउँछन् ।

प्रकाशित : माघ ९, २०७८ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्

दुम्कौलीमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीको अनुसन्धान

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योगको पूर्वी गेट नजिकै एक व्यक्तिले राखेको शंकास्पद झोलाका कारण स्थानीयहरू त्रसित बनेका छन् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार चौधरी ग्रुपको पूर्वी गेट नजिकै खैरो हेण्ड ब्यागमा शंकास्पद वस्तु रहेको आशंकामा प्रहरीले त्यस क्षेत्र नियन्त्रण लिई अनुसन्धान गरेको छ ।

शंकास्पद वस्तु बम हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । 'राति ८ बजे एक अपरिचित व्यक्तिले झोला छोडेर हिँडेको भन्ने सूचनाका आधारमा घटनास्थलमै छौं,' प्रहरी निरीक्षक भिमसेन घिमिरेले भने ।

शंकास्पद झोला भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए । बम हो वा हैन भन्नेबारे आफूहरूले केही बेरमै यकिन गर्ने प्रहरी निरीक्षक घिमिरेले बताए । इलाका प्रहरी कार्यालय रजहरबाट करिब सवा २ किलोमिटर पश्चिममा रहेको चौधरी उद्योगको पूर्वी गेट क्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : माघ ९, २०७८ २१:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×