देउवाले एकलौटी केन्द्रीय सदस्य मनोनीत गरेपछि कोइराला पक्ष असन्तुष्ट- समाचार - कान्तिपुर समाचार

देउवाले एकलौटी केन्द्रीय सदस्य मनोनीत गरेपछि कोइराला पक्ष असन्तुष्ट

विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न कोइरालाको जोड
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेपछि शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ । आफू निकटका नेताहरुको भेलामा नेता कोइरालाले सभापति देउवाले कुन मापदण्ड अपनाएर सदस्यहरू नियुक्त गरेको भन्दै प्रश्‍न गरेका छन् । उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको बताए ।

नेता कोइरालाले सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने बताउँदै सेचत हुन आग्रह गरे । भेलामा नेता कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न सबै एकढिक्का भएर प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन पदाधिकारीमा पराजितहरुलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेपछि कोइरालाले असहमति जनाएका हुन् । देउवाले आफू निकटका पराजित उम्मेदवारहरुलाई केन्द्रीय समितिमा ल्याएको भन्दै कोइराला पक्षले असन्तुष्टि जनाएको हो ।

भेलामा उपसभापति धनराज गुरुङ्, महामन्त्री गगन थापा,सहमहमान्त्रद्वय बद्री पाण्डे र जीवन परियारलगायतका नेताहरु उपस्थित छन् ।

समूह भेला कोइरालाले गरेको सम्बोधनको पूर्ण पाठ:

साथीहरु,

नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुयाउने अभियानमा विश्राम लागेको छैन पार्टीको १४औं महाधिवेशनले केही साथीहरुलाई महत्वपूर्ण जिम्मेवारीमा पुयाएको छ भने केही साथीहरुलाई पदिय जिम्मेवारीबाट बाहिर राखेको छ ।

१) संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीहरुलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरुले मात्र आशा र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरुको गतिविधिलाई हेरिरहेका छन । त्यस कारण हामी अग्नि परिक्षामा छौं ।

२) हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ अहिले पार्टी संगठन भित्र कटुता, विभाजन र सहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन तर यति भनिरहंदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडि बढोस् भन्ने चाहन्छौं । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हो, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन् । हाम्रो निर्णय प्रकृयाले पार्टीमा उजाको संचार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ ।

३) पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड" अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो । हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।

४) सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?

मलाई थाहा छ । हामी पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन सक्दैनौ होला तर पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौं। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने मलाई लाग्छ हामी सक्छौं।

साथीहरु

हाम्रा अगाडिका बाटाहरु सहज छैनन, तीन तहको निर्वाचन हाम्रो सामु छ । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौं। कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं । हामी थाक्ने छैनी र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौ। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहने छौ। तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा न्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं ।

जय नेपाल

डा. शेखर कोइराला

२१ पौष २०७८

प्रकाशित : पुस २१, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्

पुँजीगत खर्चको आधा बराबर रकमान्तर

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिना अवधिमा सरकारले गरेको कुल पुँजीगत खर्चकाे आधा बराबर बजेट रकमान्तर, स्रोतान्तर र थप निकास भुक्तानीस्वरुप दिएको पाइएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार मंसिर मसान्तसम्ममा विभिन्न मन्त्रालय र मातहतका निकाय तथा योजना/कार्यक्रममा १३ अर्ब ५० करोड ३२ लाख रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा उपलब्ध गराएको उल्लेख छ ।

यो रकम सोही अवधिमा भएको कुल पुँजीगत खर्चको आधा बराबर हो । मंसिर मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्च २८ अर्ब ४० करोड रुपैयाँ बराबर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

सामान्यतया आर्थिक वर्ष सुरु भएको पहिलो त्रैमासमा रकमान्तर, स्रोतान्तर र थप निकासा नगर्न भन्दै अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शनमार्फत विषयगत मन्त्रालयलाई परिपत्र गर्ने गरेको छ । तर मन्त्रालयले उपलब्ध गराएको विवरणमा भने गत साउनदेखि नै हरेक महिना रकमान्तर, स्रोतान्तर र थप निकासा भइरहेको उल्लेख छ । गत साउन र भदौ महिनामा सरकार बजेटविहीन भएको अवस्थामा पनि यी विभिन्न शीर्षकमा बजेट निकासा दिएको देखिन्छ । यो अवधिमा भएका अधिकांश रकमान्तर, स्रोतान्तर र थप निकासाका शीर्षकहरु आर्थिक सहायता, भैपरि आउने प्रशासनिक खर्च, कर फिर्ता र दण्ड जरिवानालगायतका विषयहरुमा छन् ।

यो अवधिमा सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि कोभिड १९ विरुद्धको खोप खरिद र ढुवानी गर्न भन्दै १ अर्ब १० करोड ५० लाख रुपैयाँ अतिरिक्त निकासा दिएको देखिन्छ । त्यस्तै, चीनबाट कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रयोजनका लागि भन्दै ४ अर्ब २४ करोड रुपैयाँ छुट्याएको देखिन्छ ।

मन्त्रिपरिषद्को २०७७ कात्तिक २७ गतेको निर्णयअनुसार सुख्खा बन्दरगाह भन्सार कार्यालय विस्तारका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जाका रुपमा भुक्तानी दिनका लागि १ अर्ब रुपैयाँ रकमान्तर निकासा गरेको देखिन्छ । त्यस्तै, राष्ट्रिय जनगणना कार्यक्रम २०७८ का गणकलाई तलव भुक्तानी गर्ने प्रयोजनका लागि १ अर्ब १ करोड ७६ लाख रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो ५ महिना अवधिमा सबैभन्दा धेरै मंसिरमा रकमान्तर, स्रोतान्तर र थप निकासा देखिन्छ । त्यस्तै गत साउनमा पनि यस्तो शीर्षकमा दिइएको निकासा करिब साढे ६ अर्ब रुपैयाँ बराबर छ । भदौ महिनामा २ करोड १६ लाख ९३ हजार, असोजमा ३८ करोड ५५ लाख र कात्तिकमा १५ करोड ६५ लाख रुपैयाँ रकमान्तर, स्रोतान्तर तथा थप निकासा भएको छ । त्यस्तै, मंसिर महिनामा मात्र ६ अर्ब ५७ करोड रुपैयाँ वार्षिक बजेट शीर्षकभन्दा बाहिरबाट खर्च गरिएको छ ।

प्रकाशित : पुस २१, २०७८ १४:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×