निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन,उम्मेदवारी दर्ता ४ देखि साढे ६ बजेसम्म- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
माओवादी महाधिवेशन

निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन,उम्मेदवारी दर्ता ४ देखि साढे ६ बजेसम्म

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन गरेको छ ।

केन्द्रीय समिति चयनका लागि उम्मेदवारी दर्ता आइतबार दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्मका लागि तोकिएको छ । यसअघि दिउँसोबाट उम्मेदवारी दर्ताको समय निर्धारण भएको थियो । सहमति खोज्ने प्रयासका लागि भन्दै केही समय सारिएको हो ।

त्यसैगरी केन्द्रीय सदस्यका लागि मतदान भने सोमबार बिहान ८ बजेदेखि दिउँसो सवा १ बजेसम्म हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताएका छन् । यसअघिको माओवादीले शनिबार राति हुने भनिएको मनोनयन कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो ।

माओवादीले शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता र आइतबार बिहान साढे ११ देखि ४ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ

प्रकाशित : पुस १८, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्

भुटानी शरणार्थीलाई एनआरएनएको सदस्यता !

भुटानीहरूको हकमा एनआरएनएको दाबी गर्नुभन्दा पनि अझै नेपाली भूमिमा रहेका ७ हजार ५ सयभन्दा बढी भुटानी शरणार्थीको उचित व्यवस्थापनमा आवाज उठाउन जरूरी छ । तेस्रो देश पुनर्वास भएका भुटानीहरूका बारेमा खुलेर बहस गर्नेहरूले शिविरमा रहेका शरणार्थीका बारेमा चुइँक्क नबोलेको देख्दा भुटानीहरूको समस्यामाभन्दा पनि आफूलाई फाइदा हुने काम गरेको प्रस्ट हुन्छ ।
सिएम निरौला

पश्चिमका विभिन्न मुलुकमा पुनर्वास भइसकेका करिब १ लाखभन्दा बढी भुटानी शरणार्थीहरूलाई एनआरएनएको सदस्यता दिनु ठिक कि बेठीक भन्ने विषयमा बहस सुरू भएको छ ।

एनआरएनएको सदस्यता दिनुपर्छ भन्नेहरूले भुटानी शरणार्थीहरू नेपाली भाषी भएकाले यसलाई उचित ठान्छन् भने विपक्षमा रहेकाहरू यसलाई ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ यो बहसलाई बेमौसमी बाजा भन्छन् ।

हालै ‘इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले नेपालका राष्ट्रिय टेलिभिजन र केही कार्यक्रममा पुनर्वास भएका पूर्वभुटानी शरणार्थीहरू जो हाल विभिन्न देशका नागरिक बनिसकेका छन् वा बन्ने क्रममा छन् तिनीहरूलाई पनि एनआरएनएको सदस्य बन्न दिनु पर्छ भन्ने विचार राखेका छन् ।

नेपाली नागरिक जो नेपालभन्दा बाहिर छन् र त्यहाँ तिनीहरू स्थापित हुँदैछन्, तिनीहरूले पाउने अधिकार हो– एनआरएनए । नेपालबाहिर अन्य देशमा रहेका नेपालीभाषी नागरिकहरू जस्तै— भुटानका नेपाली, भारतका नेपाली वा अन्य कुनै देशका नागरिकले नेपाली भाषा बोलेकै हकमा वा तिनीहरूका पुर्खा नेपाली भएकै भरमा एनआरएनएको सदस्यता बन्ने बाटो एनआरअएनएले दिएको छैन । जुन नेपालको संविधानसँग मत बाझिएको छ ।

भुटानीहरूको हकमा एनआरएनएको दाबी गर्नुभन्दा पनि अझै नेपाली भूमिमा रहेका ७ हजार ५ सयभन्दा बढी भुटानी शरणार्थीहरूको उचित व्यवस्थापनमा आवाज उठान जरूरी छ । तेस्रो देश पुनर्वास भएका भुटानीहरूका बारेमा खुलेर बहस गर्ने नेपाली नेता, कलाकार, पत्रकारहरूले शिविरमा रहेका शरणार्थीहरूका बारेमा चुइँक्क नबोलेको देख्दा यी भुटानीहरूको समस्यामाभन्दा पनि आफूलाई फाइदा हुने काम गरेको प्रस्ट हुन्छ ।

भुटानका जेलमा अझैपनि राजनीतिक कैदीबन्दी, तानाशाहको परिवार फुटाउने षडयन्त्रले बिछोडिएका तिनका परिवार र अदृश्य रूपमा भारत र पूर्वी नेपालमा शरणागत अवस्थामा रहेका मानिसहरूको चिन्तन र तिनका परिवारसँग मेलमिलाप गराउने वातावरण नेपाल सरकार र जी–८ राष्ट्रहरूलाई अपील गर्न छाडेर नेपालमा गएर एनआरएनएको वकालत गर्नु कोसीमा बगाएर राप्तीमा खोज्नुजस्तै हो ।

एकथरी मानिसहरू सामाजिक सञ्जालमा भोलि नै एनआरएनएको सदस्य भइहाल्ने र नेपालमा ठूल्ठूला परियोजनामा सेयर हाल्ने, होटल, महललगायत व्यवसाय खोलिहाल्ने र बुढेसकालमा नेपाल गएर आनन्दको जीवन जिउने सपना बुन्न थालिसकेका छन् भने अर्कोतिर यो विषयको उठानले भुटानी आन्दोलन छायामा परेको, आफ्नो अस्तित्व समापन हुन लागेको, आफू एनआरएनए हुनै नसक्ने, एनआरएनए भए आफूहरू अपमानित हुने भन्दै रोइलो गरिरहेका छन् । यी मानिसलाई एउटामात्र प्रश्न— कहाँ, कहिले, कसले र कसरी भुटानी आन्दोलन गरिरहेको छ ?

त्यसो त एनआरएनएका कतिपय नेता र तिनका आसेपासेलाई समेत यिनले एनआरएनएको मान्यता प्राप्त गरे आफूहरू पुनः कहिलै नेता वा उच्च पदमा पुग्न नपाइने हो कि भन्ने मनको बाघले खाइरहेको छ । त्यसैले एनआरएनए प्रवासी नेपालीभाषी भुटानीलाई सदस्य नबनाउनमै जोडगर्छ । सकेजति बल लगाएरै छेक्छ ।

हेगस्थित भुटानी मानवअधिकार अभियन्ता र सामुदायिक नेता राम कार्की भन्छन्, ‘हामी मूलरूपमा भुटानका हौँ र हामी आफ्नो देशमा पुनर्स्थापना हुनुअघिसम्म भुटानी नागरिक नै थियौँ । भुटानीका रूपमा हाम्रो पहिचानका कारण हामीले नेपालमा शरण पाएका थियौँ । पछि भुटानी शरणार्थीका रूपमा हामी विभिन्न देशहरूमा पुनर्स्थापित भयौँ । यसरी हामी मूलतः सार्क सदस्य राष्ट्र भुटानका नागरिक हौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधानको धारा ५.१ मा सार्क राष्ट्रका बाहेक २ वर्षभन्दा बढी नेपालबाट टाढा बस्ने सबै नेपालीभाषीलाई गैरआवासीय नेपाली भनिने र त्यसको सदस्यता लिन सक्ने स्पष्ट लेखिएको छ । त्यसैले अहिलेको अवस्थामा हामीले एनआरएनएको सदस्य बन्ने प्रश्न उठ्दैन ।

दोस्रो, नेपाली मात्र बोल्नु र नेपाली संस्कृति र चलनहरू पालना गर्नुको अर्थ हामी नेपाली हौँ र एनआरएनए सदस्यताका लागि योग्य हुनुपर्छ भन्ने होइन । कार्कीले आफ्नो राष्ट्रियता भुटानी भएको उल्लेख गर्दै नेपाल नभई भुटान बनाउन आफ्ना पुर्खाले रगत–पसिना बगाएको कुरा बिर्सन नहुने बताए । तसर्थ भुटानसँगको शरणार्थीको सम्बन्धलाई प्राथमिकता दिनुपर्छ । कार्की भन्छन्, ‘त्यसैले एनआरएनएको हैसियतको पछि दौडनुको सट्टा हामीले पुनर्वास भएका देशहरूमा आफूलाई बलियो बनाउनुपर्छ र राजनीतिक बन्दी, नेपालका शरणार्थी र भुटानभित्रको राज्यविहीनताजस्ता हाम्रा विवादित मुद्दाहरूको समाधानका लागि काम गर्नुपर्छ ।’

कसलाई थाहा छ एकदिन हामी हाम्रो आफ्नै गैरआवासीय भुटानी संघको सदस्य भएर गौरवान्वित हुने दिन नआउला भनेर ? कार्कीले भने, ‘यदि हामीले सौहार्द ढंगले मिलेर काम गरिरहृयौँ भने त्यो दिन पनि आउन सक्छ ।’

केही समयअघि पत्रकार प्रेम बानियाँ जो हाल अमेरिकामै छन्, उनले फेसबुक लाइभमार्फत् चल्ने बाल्कोनी कार्यक्रममा भुटानी नेपालीले पनि एनआरएनएको मान्यता पाउनु पर्छ र तिनका लागि आफूले वकालत गर्ने उद्घोष गरेका थिए । यस्तै प्रतिक्रिया धेरैतिरबाट आउने गरेको पाइन्छ । नाम नखुलाउने सर्तमा एक व्यवसायीले भने, ‘कर छली गर्‍यो, कुनै डिपोर्टेसन हुने काम गर्‍यो वा ठूलै अपराध गरेर नेपाल भाग्यो भने त्यसलाई के गर्ने त ?’ उनले पुनः थपे, ‘नेपाललाई वृद्धाश्रम बनाउन खोज्या हो त ?’

देश विकासमा दृश्य वा अदृश्य रूपमा भुटानीहरूको ठूलो सहयोग छ । कोही बिरामी पर्दा होस् वा अन्य काममा यिनीहरूले तुरून्त सहयोग जुटाइहाल्छन् । यदि एनआरएनएको मान्यता पाउने हो भने तिनले देश विकासका निम्ति ठूलै रकम र कार्यक्रम नेपाल भित्र्याउन सक्छन् जुन नेपालका निम्ति फलदायक हुनसक्छ । ‘रियालिटी शो’हरूमा समेत यी मानिसहरू करिब निर्णायकझैँ छन् । प्रायः यिनले सहयोग गरेको प्रतियोगिताले जित्ने गर्छ ।

यदि भुटानीहरू एनआरएनएको सदस्य हुन सक्दैनन् भने अमेरिका या तेस्रो मुलुकमा जन्मिएका नेपाली अभिभावकका बच्चा एनआरएनएको सदस्य हुन पाउने या नपाउने ? यो एउटा बहसको विषय बन्न सक्छ । मेरै हकमा हेर्ने हो भने मेरा हजुरबा नेपालमा जन्मनुभयो, पछि भुटान हुँदै पुनः शरणार्थी भएर नेपाल आउनुभयो । मेरा कान्छा हजुरबाका सन्तान हाल बुधबारे–५ झापामै छन् । अब म र मजस्ताले यसको सदस्य हुन पाउने कि नपाउने ?

नेपालको संविधानले भन्दा फरक ढङ्गले एनआरएनएले विधान परिमार्जन गरेर राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप एनआरएनएलाई लाग्ने गरेको छ । भुटानले अहिलेसम्म पनि यी गैरकानुनी रूपमा नेपालबाट आएका मानिस देश फर्के भनेर आरोप लगाइरहेको छ । यस विषयमा हामीले बहस गरिरहँदा भुटान सही र हामी गलत भन्ने हो ?

भुटानी युवा सुदर्शन अधिकारी भन्छन्, ‘हामी नेपाली मूलका वा हाम्रा पुर्खा नेपाली नै भएकाले विधानसंगत हामी ‘पीएनओ’ अन्तर्गत पर्छौं । त्यसैले एनआरएनएले सम्पूर्ण नेपालीभाषीलाई मान्यता दिनुपर्छ र यसका निम्ति आफूले वकालत गरिरहेको र गरिरहने छु, हाल अमेरिकामा रहेका एक लाखभन्दा धेरै नेपालीभाषीहरूलाई सदस्य बनाए एनआरएनएको आफ्नो राजनीति संकटमा पर्ने डरले पनि हामीलाई सदस्य बन्नबाट रोक लगाएको हुनसक्छ । यस विषयमा केही एनआरएनएका पूर्व सभापतिहरूसँग र अमेरिकाका लागि तत्कालीन नेपाली राजदूतसँग पटकपटक कुरा भएको थियो ।’

यस विषयमा पहिलो पुस्ता (जो नेपाली राजनीतिसँग अत्यन्त नजिक छन्) भन्दा पछिल्लो पुस्ता (जो अमेरिकामा नै पढेर एनआरएनएमा सक्रिय छन्) अलि बढी सकारात्मक देखिन्छन् ।

‘नागरिकता परित्याग गरेर एनआरएनए भएका नेपाली दुवै देशको नागरिक बन्न पाउनुपर्छ भन्दै आन्दोलन गरिरहेको भए पनि उनीहरूको माग पूरा भएको छैन । क्यानडामा रहेका प्रवासी भुटानी खगेन्द्र गौतम भन्छन्, ‘फेरि भोलि एनआरएनएका सदस्यले दोहोरो नागरिकता (डुएल सिटिजन) पाएमा हामीले पाउने कि नपाउने ? त्यसैले हामीले एनआरएनएको भन्दा पनि एनआरबीको माग जोड्दारसाथ उठाउनु नै हाम्रो हितमा छ ।’

युएन शरणार्थी एजेन्सी, यूएनएचसीआरले आफ्नो मानवीय सहयोग फिर्ता लिएपछि नेपालमा रहेका भुटानी शरणार्थीहरु अन्योलमा परेका छन् भने क्यारिटास नेपालले सन् २०२० अप्रिलदेखि शैक्षिक सहयोग अन्त्य गरेकाले बालबालिकाको भविष्य नै अप्ठारोमा परेको छ ।

ग्लोबल भुटानीज अर्गनाइजेसन (जीबीओ) ले व्यक्तिगत तथा संगठनहरूबाट सानो अनुदानमार्फत रकम जम्मा गरेर यी बालबालिकाहरूलाई सिक्ने अवसर प्रदान गर्ने प्रयास गरिरहेको छ । यस कोषको उद्देश्य शैक्षिक क्रियाकलापमा सुरक्षित सिक्ने ठाउँ, अन्तरक्रियात्मक र अर्थपूर्ण सहभागिता प्रदान गर्नु हो । यसले साक्षरता सुधार गर्ने, विद्यालयपछिको शैक्षिक आवश्यकतामा सहयोग गर्ने, सामाजिक सहभागितालाई प्रोत्साहित गर्ने र सुन्दर समुदाय निर्माणमा योगदान गर्ने परिकल्पना गरेको छ ।

भुटानी शरणार्थी शिविरका बालबालिकाहरु संघर्षरत छन् । उनीहरुको भविष्य पनि अन्योलमा छ । जीबीओले अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, नर्वे, न्यूजिल्याण्ड, बेलायत, अमेरिका र नेपालमा रहेका शरणार्थी समुदायसँग सहयोग र साझेदारी गर्न खोजेको छ । शिविरमा रहेका शरणार्थी समुदायले कोष स्थापना गर्न र शैक्षिक परियोजना कार्यान्वयन गर्न खोजेका छन् । जीबीओले गत एक वर्षदेखि निरन्तर रूपमा आर्थिक सहयोग गर्दै आएको छ । यसले नेपालका भुटानी शरणार्थी शिविरमा बस्दै आएका हाम्रा स–साना नानीहरूलाई डिसेम्बर २०२० देखि शिक्षा प्रदान गर्ने साथै स्वास्थ्य उपचार, विपद् उद्धार सहयोग, पोषणलगायतका कार्यक्रमहरूमा पनि सहयोग गर्दै आएको छ ।

दुई शरणार्थी शिविरमा अझै ७ हजारभन्दा बढी भुटानी शरणार्थीहरू बसोबास गरिरहेका छन् । १ लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थीहरू विभिन्न ८ वटा विकसित देशमा पुनर्वास भएका छन् । पोषण, शिक्षा, स्वास्थ्यको देखभाल र उनीहरूको दीर्घकालीन शरणार्थी मुद्दाको स्थायी समाधानको लागि आवश्यक सहयोग र व्यवस्थापनलाई प्राथमिकता र अविलम्ब मानवीय समर्थनको निरन्तरताको खोजीमा शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थी समुदाय र पुनर्वास भएका ग्लोबल भुटानी समुदाय गैरआवासीय नेपाली दर्जाका अधिवक्ताभन्दा शिविरमा बस्ने मानिसहरूको स्थायी समाधानका लागि बढी चिन्तित छन् । जीबीओ अध्यक्ष डीबी राई भन्छन्, ‘यो एनआरएनए स्टाटस भू–राजनीतिक हैसियतका कारण हाम्रा लागि असान्दर्भिक छ ।’

नेपाल सरकारले बनाएको गैरआवासीय नेपालीसम्बन्धी ऐन तथा संघको विधानअनुसार नेपालीभाषी भुटानी समुदायलाई संघमा समेट्ने स्थिति अहिले छैन । तर, हालै संघद्वारा आयोजना गर्न लागिएको ‘एनआरएन द सिंगर’ जस्ता प्रतियोगिताहरू भुटानीलगायत सबै नेपाली भाषीका लागि खुला गरिएको छ जुन स्वागतयोग्य छ ।

नेपाली भाषा बोल्ने, हिन्दु धर्म मान्ने, ठूलो उत्साहसाथ दसैं, तिहार, माघे संक्रान्तिजस्ता चाडपर्व मनाउने भुटानी नेपालीहरू अहिले थुप्रै पश्चिमा मुलुकहरूमा बसोबास गरिरहेका छन् । आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाउनेदेखि नेपाली संस्कृतिको जगेर्ना गर्न पनि भुटानी समुदाय निकै सचेत देखिन्छ । नेपालको कानुन नै संशोधन गर्न तत्काल कठिनाइ भए पनि सांस्कृतिक र सामाजिक गतिविधिमा प्रवासमा रहेका भुटानी समुदायलाई समेटेर अगाडि बढ्दा एनआरएनएलाई नै फाइदा हुने देखिन्छ ।

आफ्नो देशबाट बलजफ्ती धपाइएपछि नेपालका शरणार्थी शिविरहरूमा लामो समय कष्टकर जीवन बिताएका भुटानीहरू अहिले पुनर्वास गराइएका मुलुकमा एकसेएक प्रगति गर्दै अगाडि बढिरहेका छन् । पत्रकार योगी भन्छन्, ‘नेपाल र नेपालीप्रति भुटानी समुदायको स्नेह त्यत्तिकै गहिरो रहेको छ । त्यसैले एनआरएनएले भुटानी शरणार्थीहरूको स्वदेश फर्कन पाउनुपर्ने अधिकारको वकालत गर्नुका साथै कुनै न कुनै रूपले संस्थागत रूपमै समेटेर लैजान सक्नु पर्छ । प्रवासमा रहँदा, बस्दा एकआपसमा हातेमालो गरेर अगाडि बढ्नु नै हामी सबैको हितमा छ ।’

हाल पुनर्वास भएका भुटानीहरूले एनआरएनएको बखेडा झिक्नुभन्दा हामी स्थापित हुँदै गरेको समाजमा भइरहेको समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्नु नै सबैका निम्ति फलदायक हुनेछ । समाजमा घरेलु हिंसा, लागूऔषधको समस्या, मानसिक स्वास्थ्य, स्कुल ड्रपआउट, मादक पदार्थको सेवन र त्यसबाट हुने क्षतिबारे बहस गर्ने र यी समस्याहरूको रोकथाम गर्ने, शैक्षिक रूपमा समाजलाई अघि बढाएर युवापुस्ताले सामाजिक काममा प्रस्थान गर्ने समय हो यो । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ यो बेमौसमी एनआरएनएको बखेडामा झुन्डिरहनु फाइदाजनक देखिँदैन ।

(निरौला अमेरिकास्थित भुटानी पत्रकार हुन् ।)

प्रकाशित : पुस १८, २०७८ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×