काठमाडौँ — माओवादी केन्द्रले वर्ग वा समुदायको जनसंख्यालाई मुख्य आधार मानेर केन्द्रीय समितिलाई समावेशी बनाउने भएको छ । केन्द्रीय समितिमा १५ प्रतिशत सदस्य दलित समुदायबाट, ५ प्रतिशत मुस्लिम समुदायबाट र सबै पार्टी समितिमा ४० वर्ष मुनिका युवा कम्तीमा २० प्रतिशत समावेश गर्ने तयारी छ ।
केन्द्रीय समितिमा ३५ प्रतिशत महिला चुन्न लागिएको छ । यसैविषयमा केन्द्रीत भएर माओवादी केन्द्रीय सदस्य उर्मिला अर्यालसँग गरिएको कुराकानीः
विधान संशोधनमा तपाईंहरूको माग के छ ?
केन्द्रीय समितिमा ३५ प्रतिशत महिला भनेको छ । महिला संघको इन्चार्ज र अध्यक्षका तर्फबाट केन्द्रीय समितिमात्रै होइन कि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा पनि ३५ प्रतिशत महिला हुनुपर्छ भनेर लिखित रूपमा माग गरेका छौं ।
नेताहरूले के भनेका छन् त ?
पदाधिकारी समावेशी बनाउने भनेर विधानमा भनिएको छ । त्यहीअनुसार समावेश हुन्छ भन्ने छ । पदाधिकारीमा एक जना त पक्कै पर्नुहुन्छ । त्यसबाहेक अरू कति हुन्छ भन्न सक्ने अवस्था छैन । स्थायी र पोलिटब्युरोमा धेरै सम्भावना छ ।
तपाईंहरूले यो–यो पदमा हाम्रो दाबी छ भन्न किन नसक्नुभएको ?
यहाँ भोटिङ भइदिए पो दाबी गर्नु ? भोटिङ हुँदैन । त्यहाँ कोटरीबाट जे नाम आउँछ, त्यसैमा सबैले ताली पिटे भने चुप लागेर बस्नुबाहेक अरू के गर्न सकिन्छ र ?
तपाईंहरूको माग चुनाव हुनुपर्छ भन्ने हो ?
हामीले नीतिगत रूपले आफ्ना कुरा राख्यौं । महाधिवेशनमा पेस भएको विधान मस्यौदामा केन्द्रीय समितिमा ३५ प्रतिशतको प्रस्ताव आएको छ । पदाधिकारीलगायत अन्य समितिमा के हुन्छ हेरौं न π तैपनि अध्यक्षलाई भेटेर फेरि कुरा राख्छौं । पदाधिकारीसहित सबै समितिमा ३५ प्रतिशत ल्याउनुभयो भने राम्रै हुन्छ ।
तपाईंको दाबीचाहिँ कुन पदमा हो ?
आफैं दाबी गर्नेभन्दा पनि एकपटक सल्लाह गर्छु, के भन्नुहुन्छ अध्यक्षले । साँचो कुरा गर्दा धेरै आशा गरेका छैनौं । एमालेमा अहिलेको अवस्थाजस्तै छ यहाँ पनि । धेरै जोडबल गर्न अरू अलि डराउने । मप्रति धेरै जना सकारात्मक हुनुहुन्छ । पार्टीमा थुप्रै महिला हुनुहुन्छ । केन्द्रीय समितिमा त अन्य पार्टीको भन्दा राम्रो उपस्थिति हुने भयो ।
नेताहरूको लिस्टमा पर्नुभएन र चुनाव हुने भयो भने तपाईं पदाधिकारीमा उठ्नुहुन्छ कि हुँदैन त ?
म चुनाव लड्छु । महिला साथीहरूको बीचमा पनि एउटा छलफल गर्छौं । हामीबीचमै फुट नहोस् भन्ने कुरालाई विचार गरिन्छ । महिला नै विभाजित भयौं भने हामी कमजोर बन्छौं । त्यसकारण एकसरो छलफल गरेर चुनाव हुने भयो भने जेसुकै होस्, पदाधिकारीमा लड्छौं । सहमतिमा एक जनामात्रै महिला भयो भने स्वतः पदाधिकारीमा हुने भयो । सहमति भएन भने महासचिव, उपाध्यक्ष, सचिवमा पनि किन नलड्ने ?
