कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
कांग्रेस महाधिवेशन

देउवाले भरतपुर मेयरको उम्मेदवारी खोसेका कोइराला बने केन्द्रीय सदस्य 

काठमाडौँ — कांग्रेसको ०७४ को बैशाख १९ गतेको निर्णयले चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार चयन भए– दिनेश कोइराला । दर्जनौं आकांक्षीमध्ये नेताहरूले मेयर उम्मेदवारमा आफूलाई रोजेपछि कोइरालाको ध्यान अब कसरी चुनाव जित्ने ? भन्नेमा केन्द्रित थियो ।

देउवाले भरतपुर मेयरको उम्मेदवारी खोसेका कोइराला बने केन्द्रीय सदस्य 

भोलिपल्टै उनले उम्मेदवारी दर्ता गरे, र मत माग्न थालिहाले । तर, मनोनयन दर्ता गरेर भोट माग्न थालेका कोइरालाको उम्मेदवारी ४८ घण्टा पनि टिक्न पाएन ।

२० वैशाखमै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच महानगरहरूमा गठबन्धन गर्ने सहमति बन्यो, भरतपुरमा दाहालपुत्री रेणु दाहाल उम्मेदवार बनिन् । एक त कांग्रेसको बलियो संगठन, त्यसमाथि कोइरालाको उम्मेदवारीले चुनावी माहोल कांग्रेसको पक्षमा थियो । जिल्लाको कांग्रेसले सांगठनिक रुपमै माओवादीसँगको गठबन्धनको विरोध गर्‍यो ।

मेयर उम्मेदवार कोइरालाले पनि गठबन्धनलाई अस्वीकार गर्ने घोषणा गरे । उनले अन्तिम समयसम्म विरोध गरे, तर विद्रोह गर्न सकेनन् । ‘मलाई केन्द्रबाट सभापतिज्यूले ४–५ पटक फोन गरेरै उम्मेदवारी फिर्ता लिन भन्नुभयो, तर मैले फिर्ता लिइन । अन्तिम समयमा सभापतिज्यू आफैंले काठमाडौंबाट निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखेर मेरो उम्मेदवारी फिर्ता गरिदिनुभयो,’ कोइराला सम्झिन्छन्, ‘मलाई उम्मेदवारी फिर्ता लिए केन्द्रीय सदस्य बनाउँछु भन्ने आश्वासन थियो, तर मैले फिर्ता लिइन । वास्तवमा त्यो बेला अमुक व्यक्तिलाई जिताउनका लागि मलाई र पार्टीको संगठनलाई बली चढाइएको थियो ।’

त्यो बेला केन्द्रीय सदस्य बन्ने देउवाको अफर अस्वीकार गरेका कोइराला १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । यो महाधिवेशनमा उनले देउवालाई भोट त हालेनन् नै, देउवाविरुद्व अभियान नै चलाए । नेता शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका उनले खुलातर्फ १० जनामात्रै निर्वाचित हुँदा पनि आफूलाई अटाएका हुन् । कोइरालाले एक हजार ७८१ मत पाएर ३१ औं नम्बरमा केन्द्रीय सदस्य जितेका छन् ।

‘त्यो बेला मेरो मात्रै होइन, केन्द्रका नेताहरूले सिंगो संगठनको कुरा सुनेनन् । ‘हामी आफ्नै शक्तिका भरमा चुनाव जित्न सक्छौं, कसैसँग तालमेल गर्दैनौं भन्दा पनि हामीमाथि जबरजस्ती केन्द्रको निर्णय लाद्ने काम भयो,’ कोइराला भन्छन्, ‘ममाथि त्यो बेला ठूलो अन्याय भयो । अहिले देशभरिबाट नेता कार्यकर्ता साथीहरूले मलाई न्याय गर्नुभएको महसुस गरेको छु ।’

उनी आफूले भड्किलो प्रचार प्रसार नगरेको दाबी गर्छन् । ‘मैले काठमाडौंमा न कुनै पर्चा बाँडे, न पोष्टर, व्यानर टाँगे, धेरैले आफ्नै सम्पर्क कार्यालय खोलेर प्रचार गरे, मैले त्यस्तो तडक भडक केही गरेको होइन,’ उनले भने, ‘मलाई देशभरिका साथीहरूले माया दिएर केन्द्रीय सदस्यमा निर्वाचित गर्नुभएको हो, मैले आफूमाथि न्याय भएको महसुस गरेको छु ।’

उनी त्यो बेला माओवादी केन्द्रसँग भएको गठबन्धन केवल एउटा व्यक्तिको स्वार्थमा केन्द्रित भएको दाबी गर्छन् । ‘त्यो कुनै सैद्धान्तिक गठबन्धन थिएन, न कुनै निष्ठा र इमान्दारिताको राजनीति थियो । न समाज, देश र राष्ट्रकालागि लाभ हुने कुरा थियो, केवल अमुक व्यक्तिको स्वार्थका लागि पार्टीको सिंगो संगठन र मलाई बली चढाइयो,’ कोइराला भन्छन्, ‘त्यो वर्तमान राजनीतिक विकृतिको एउटा रुप मात्रै थियो, म अब हाम्रो राजनीतिमा रहेको त्यो विकृतिलाई हटाउने भूमिकामा आफूलाई उभ्याउँछु ।’

अहिले राजनीति व्यवसाय बनेको उनी बताउँछन् । ‘मैले पद र पैसाकालागि राजनीति गरेको होइन, राजनीति पेशा होइन, व्यवसाय होइन । राजनीतिलाई आधार बनाएर मैले दुई रुपैयाँ कमाउनु पनि छैन, कमाउँदिन,’ कोइरालाले इकान्तिपुरसँग भने, ‘संगठनलाई ध्वस्त बनाएर आफू मोटाउने कुनै सपना छैन । व्यक्तिभन्दा पार्टी संगठन माथि हुनुपर्छ ।’

५० वर्षे कोइराला व्यवस्थापन संकायबाट स्नात्तकोत्तर हुन् । उनको परिवार पनि राजनीतिक नै थियो, उनका बुवा वडाध्यक्ष थिए । स्कुल र कलेज पढ्दा नेविसंघमा संगठित भएका उनी ०५७ सालमा विश्वप्रकाश शर्मा नेविसंघको अध्यक्ष हुँदा केन्द्रीय सदस्य भए । ०५८ मा चितवन कांग्रेसको सदस्य र प्रवक्ता, र ०५९ सालमा नेपाल जेसिजको केन्द्रीय अध्यक्ष भएर काम गरे । उनले जेसिजकै माध्यमबाट युवा नेतृत्व विकासको क्षेत्रमा काम गर्ने, सिक्ने मौका पाए । पार्टीका विभिन्न तहका कार्यसमितिमा बसेर काम गरेका उनी कांग्रेसको तीन पटक महासमिति सदस्य भइसकेका छन् । ‘लामो समय सामाजिक कार्यमा आफूलाई समर्पित गरेँ, राजनीतिलाई व्यवसाय होइन, सेवा गर्ने माध्यम बनाएको छु,’ उनी भन्छन्, ‘त्यहीकारण सबैले माया गर्नुभएको छ ।’

कोइराला आसन्न निर्वाचनमा पनि कसैसँग तालमेल गर्न नहुने बताउँछन् । ‘अब फेरि चुनाव आउँदैछ । फेरि कसैसँग तालमेल गर्नुपर्ने आवश्यकता छैन, कम्तिमा चुनावमा आफ्नो चुनाव चिन्ह लिएर आफ्नो कार्यकर्तालाई उभ्याउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘कसैको निहित स्वार्थपूर्ति गर्न चुनावी तालमेल गर्ने कुरा राम्रो होइन, अब म केन्द्रीय समितिमा आएको छु, मैले सकेको अवस्थासम्म म त्यो गर्न दिन्न ।’ आफ्ना कार्यकर्तालाई अर्को पार्टीको चुनाव चिन्हमा मत हाल्न लगाउँदा पार्टीको संगठनलाई ठूलो क्षति पुग्ने उनको दाबी छ ।

प्रकाशित : पुस ६, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?