माओवादी केन्द्रको वाग्मती प्रदेश कमिटी नेतृत्व चयनका लागि निर्वाचन हुँदै

पुस ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको वाग्मती प्रदेश कमिटीको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । अध्यक्षलगायत प्रदेश कमिटी पदाधिकारीका लागि सहमति जुट्न नसकेपछि सोमबार साँझ मतदान हुने भएको छ ।

वाग्मती प्रदेशको मंसिर २५ गते सुरु भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन । अध्यक्षलगायत पदाधिकारीमा सहमतिका लागि लामो समयसम्म प्रयास हुँदा पनि सरल सहयात्री पौडेल र दिननाथ गौतमले दाबी नछोडेपछि निर्वाचन हुने भएको हो । यसअघि अध्यक्षका लागि आधा दर्जनभन्दा बढी नेताले दाबी गरेका थिए । 

माओवादी वाग्मती प्रदेश कमिटी सदस्य विदुर खड्काले भने, 'अध्यक्षमा सहमति जुटाउने प्रयास भए पनि सहमति हुन सकेन । आज साँझ ६ बजे मतदानको तयारी भइरहेको छ ।' प्रदेश कमिटी सदस्यहरूको शपथ भइसकेको र पदाधिकारीका लागि मनोनयनको प्रक्रिया पनि सुरु भएको उनले जानकारी दिए । 

अध्यक्ष र पदाधिकारी छनोटका लागि प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने उनले बताए । अध्यक्षमा दाबी गरेका खड्काले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्ने पनि जानकारी दिए । उनले अन्य पदाधिकारीमा पनि उम्मेदवार उठ्ने बताए । 

माओवादीमा विवादका कारण कुनै प्रदेशमा पदाधिकारी मात्रै चयन गरिएका छन् भने कुनै प्रदेशमा पदाधिकारी बाहेकका सदस्यहरू मात्रै छनोट भएका छन् । अन्य प्रदेश कमिटी पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन हुन नसकेपनि वागमती प्रदेशमा भने निर्वाचन हुन लागेको हो । 

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमाओवादी महाधिवेशन

कान्तिपुर

Link copied successfully