कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०
कांग्रेस महाधिवेशन

प्रदेश २ मा देउवा र निधी समीकरण कति सम्भव ?

अजित तिवारी

(जनकपुर) — केन्द्रीय महाधिवेशन अघि हुन नसकेको प्रदेश–२ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ । सर्लाही, बारा र महोत्तरीमा प्रदेश प्रतिननिधि चयन नभएकाले अधिवेशन रोकिएको थियो । केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनको अर्को मिति तोकेसँगै प्रदेशमा नेतृत्वका प्रतिस्पर्धा सुरु भएको छ ।

प्रदेश २ मा देउवा र निधी समीकरण कति सम्भव ?

केन्द्रीय महाधिवेशनको नतिजा नतिजा नआउँदै काठमाडौंमा व्यस्त नेताहरु जिल्ला आउन थालेका छन । यसअघि, मंसिर १७ गते प्रदेश २ को अधिवेशन जनकपुरको तिरहुतिया गाँछीमा उद्घाटन गरेर रोकिएको थियो ।

प्रदेशको नेतृत्वका लागि संस्थापन पक्षबाट को उम्मेदवार हुने भन्नेबारेमा मुख्य चासो बढेको छ । जिल्ला अधिवेशन सम्ममा यहाँको मुख्य प्रतिस्पर्धा तीन समूहबीच थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिँदै सभापतिका प्रत्यासी बनेका विमलेन्द्र निधिले जिल्ला अधिवेशन सम्ममा आफ्नो छुट्टै अस्तित्व खडा गरेका छन् ।

केन्द्रीय सभापतिको दोस्रो चरणको निर्वाचनमा निधिले देउवालाई समर्थन गरेपछि प्रदेश–२ को समीकरण कस्तो हुने भन्ने विषय पेचिलो बनेको छ । संस्थापनपक्ष र इतरपक्षका नेता शेखर कोइराला समूहबीच मात्रै प्रतिस्पर्धा हुन्छ वा निधिसमेतको त्रिपक्षीय प्रतिस्पर्धा हुन्छ भन्नेमा अझै भन्न नसकिने भएको छ ।

केन्द्रीय सभापतिका लागि पहिलो चरणमा कसैले पनि पचास प्रतिशत मत कटाउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र शेखरबीच दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह र निधि दुवैले देउवालाई साथ दिएका थिए । मंसीर २९ गते आफूलाई समर्थन माग्न निधि निवास पुगेका देउवासँग केही बेर प्रदेश २ को नेतृत्वको बिषयमा समेत छलफल भएको थियो ।

यसअघि निधिले आफ्नो समूहबाट प्रदेश २ का कांग्रेस संसदीय दलका नेता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्रीसमेत रहेका रामसरोज यादवलाई अघि सारेका थिए । दोस्रो चरणको निर्वाचनमा विनासर्त समर्थन जनाएको बताउँदै निधिले देउवासँग आफ्नो निवासमा रामसरोजलाई समर्थन गर्न आग्रह गरेको प्रसंग उल्लेख गरे । ‘सभापतिमा समर्थन माग्न मेरो घरमा आएकै बेला रामसरोजजी पनि मेरै घरमा हुनुहुन्थ्यो । त्यहिँ प्रसंगमा मैले शेरशबहादुरजीसँग रामसरोजलाई समर्थन गर्न आग्रह गरेको हुँ, ’ निधिले भने, ‘उहाँले हुन्छ, हुन्न केही भन्नुभएको छैन ।’

गत बिहीबार बालुवाटारमा देउवासँगको भेटमा पनि निधिले रामसरोजलाई साथ र समर्थन दिन देउवासँग आग्रह गरेका थिए । देउवा पक्षबाट यसअघि रौतहट कांग्रेसका सभापति कृष्णा यादवलाई अघि सारेको थियो ।

अधिवेशन गराउन केन्द्रबाट खटिएका रमेश रिजालकै उपस्थितिमा कृष्णाले प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका थिए । पौडेल समूह (हाल शेखर समूह) बाट नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रहेका रंजित कर्णले उम्मेदवारी दिएका थिए । कर्ण महाधिवेशनमा मधेसी कोटामा सह–महामन्त्रीका उम्मेदवार बनेर पराजित भएपछि अब शेखर समूहले कसलाई अघि बढाउने भन्ने निर्णय गरीसकेको छैन । उनले ‘प्रदेश २ लगायत अरु जिल्लाका बाँकी अधिवेशनमा बलियो गरी प्रस्तुत हुने’ अभिव्यक्ति दिएका छन् ।

शेखरनिकट नेता सुरेश कोइरालाका अनुसार प्रदेश सभापतिमा कस्लाई उभ्याउने विषयमा छलफल भइरहेको बताए । ‘काठमाडौंमा शनिबार पनि उम्मेदवार कसलाई बनाउने विषयमा छलफल भएको छ,’ उनले भने,‘थुप्रै जनाको नाम आएको छ । एक–दुई दिनमा टुंगो लाग्छ ।’

प्रकाशित : पुस ४, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?