मैले हारेँ, तर हाम्रो पुस्ताले जितेको छ : प्रदीप पौडेल

‘कांग्रेसलाई नेपालको सबैभन्दा ठूलो मात्रै होइन, बहुमत प्राप्त पार्टी बनाउने उदेश्यले काम गरौँ’

पुस ३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा निरन्तर प्रश्न गर्दै आएको आफ्नो पुस्ता अब जवाफ दिने ठाउँमा पुगेकोमा खुसी व्यक्त गरेका छन् । उनले प्रतिस्पर्धाले आफूले पराजय बेहोरेको भए पनि आफ्नो पुस्ता र एजेन्डाको जितमा खुसी व्यक्त गरेका छन् ।

‘हामीले देशको सन्दर्भमा शासकहरूमाथि धेरै प्रश्न उठायौँ, पार्टीमा नेतृत्वमाथि प्रश्न उठायौँ,’ पौडेलले आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै अघि भने, ‘यो महाधिवेशनमा म हाम्रो पुस्ता ती प्रश्नहरूको जवाफ दिने ठाउँमा पुग्नुपर्छ, र त्यसका लागि म योग्य छु भनेर उम्मेदवारी दिएको थिएँ, प्रतिस्पर्धा एउटा प्रक्रिया हो, त्यसमा मैले हारेँ, तर खुसी छु किनकि मेरो पुस्ताले जितेको छ । मेरै साथीहरू जवाफ दिने, समस्याको समाधान गर्ने ठाउँमा पुग्नुभएको छ ।’ 

उनले महामन्त्री निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई दिँदै पार्टीको नेतृत्वले अब चित्तबुझ्दो जवाफ दिन सक्नुपर्ने बताए । ‘हिजो हामीसँगै प्रश्न गर्थ्यौ, निरन्तर प्रश्न सोधिरहने मेरै साथीहरू उत्तर दिने ठाउँमा पुग्नुभएको छ । म उहाँहरूलाई भन्न चाहन्छु, फेरि हिजोकै जस्तो नहोस्, तपाईँहरूले दिएको उत्तर चित्त नबुझ्ने खालको नहोस्,’ पौडेलले भने । 

उनले अब पार्टी र मुलुकको कार्यकारी भूमिकामा आफ्नो पुस्ताको अनुहार देख्न पाइने भन्दै खुसी व्यक्त गरे । ‘म आमयुवाको भावना बुझेर महामन्त्रीको उम्मेदवार भएको थिएँ, किनकि अब मेरो पुस्ता यो मुलुकको कार्यकारी भूमिकामा पुग्नुपर्ने जरुरी थियो । मैले त्यो आकांक्षा गरेकै हो । प्रतिस्पर्धामा मैले जितिनँ, तर मेरो पुस्ताले जितेको छ,’ उनले भने, ‘अब हाम्रो पुस्ता पार्टी चलाउन सक्षम छ, योग्य छ । हामीसँग समस्यामात्रै खोतल्ने होइन, समस्याको समाधान दिन सक्ने क्षमता पनि छ भनेर तपाईँहरूले पुष्टि गर्नुपर्छ ।’

उनले अबको नेतृत्वले पनि आम जनताका प्रश्नको जवाफ दिन नसकेको अवस्थामा वर्तमान व्यवस्थामाथि नै खतरा हुने बताए । ‘तपाईँ हाम्रो पुस्तामाथि धेरै ठूलो विश्वास छ, कांग्रेसमा मात्रै होइन, आमजनतामै हाम्रो पुस्तामाथि धेरै ठूलो विश्वास छ, आशा छ, भरोसा छ, तपाईँहरूले त्यो भरोसालाई जीवित राख्नुपर्छ, अब समस्या खोतल्ने मात्रै होइन, तिनको समाधान गर्ने काम तपाईँहरूको हो,’ उनले भने । 

नेता पौडेलले पार्टीमा विधानको पूर्ण कार्यान्वयन र चुस्तदुरुस्त संगठन राख्ने काममा परिवर्तित नेतृत्वको भूमिका प्रभावकारी हुनुपर्ने बताए । ‘पार्टी विधिविधानबाट व्यवस्थित ढंगले अघि बढोस्, पार्टीमा सबै कार्यकर्तालाई न्याय हुने अवस्था होस्, क्षमता र लगानीका आधारमा साथीहरूको मुल्यांकन होस्, अवसरको समान र न्यायोचित वितरण होस्,’ उनले भने । 

नेता पौडेलले अब कांग्रेस पहिलो पार्टी होइन, बहुमत प्राप्त पार्टी बन्नुपर्ने बताए । ‘आगामी निर्वाचनमा हामीले जित हासिल गर्नका लागि आम-एकता आवश्यक छ । आम-एकताका लागि पार्टीको नेतृत्वमा पुगेका साथीहरूले न्याय गर्नसक्नुपर्छ । अब यो पुस्ता र त्यो पुस्ता भनेर विभाजन होइन, यो गुट र त्यो गुट भनेर फुट ल्याउने होइन,’ पौडेलले भने, ‘कांग्रेसलाई नेपालको सबैभन्दा ठूलो मात्रै होइन, बहुमत प्राप्त पार्टी बनाउने उदेश्यले काम गरौँ ।’

उनले अब पनि पार्टीमा टिकट किनबेच भएका समाचार सुन्न नपरोस् भन्दै सतर्क गराए । ‘फेरि पनि पैसा तिरेर टिकट किन्न पाइने स्थिति नहोस् । फेरि पनि खल्तीबाट टिकट झिकेर बाँड्ने व्यवस्था भयो भने त्यसले कसैलाई पनि न्यायको अनुभूति हुँदैन । नेतृत्वमा परिवर्तनको अनुभूति हुँदैन,’ उनले भने, ‘त्यसैले नेतृत्वमा पुगेका साथीहरूले न्याय गर्न सक्नुहोस् ।’

नेता पौडेलले पार्टीभित्र आन्तरिक नेतृत्व चयनको प्रक्रिया बदल्नुपर्ने आवश्यकता रहेको बताए । ‘कसले प्रगतिशील विचार बोकेर आएको छ ? कसले पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाएर अघि बढाउन सक्छ ? कसले समाजका मुद्दाहरूलाई सही ढंगबाट उठाएको छ ? त्यसका आधारमा पार्टीको नेतृत्व चुन्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘हामीले हाम्रो आन्तरिक प्रतिस्पर्धाको नेतृत्व चयन प्रक्रियालाई पनि बदल्न सक्नुपर्छ ।’

उनले शेरबहादुर देउवा पूरानो पुस्ताको त्यागी नेता भएको बताए । ‘पाको पुस्ताको, पूरानो पुस्ताको त्यागी नेता शेरबहादुर देउवाले म जस्तो एउटा युवालाई आफ्नो टिममा राख्नुभयो, त्यसकालागि उहाँलाई म आभार प्रकट गर्न चाहन्छु,’ उनले भनेका थिए ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully