काठमाडौँ — २०६४ मा कांग्रेसबाट बाहिरिएका विजयकुमार गच्छदार एक दशकपछि पुनः कांग्रेसमा फर्किंदै उपसभापति बने । उनले आफ्नो नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई कांग्रेसमा समायोजन गर्दा उपसभापतिसहित ११ केन्द्रीय सदस्य र २० हजार क्रियाशील सदस्य पाएका थिए ।
यसपटक उपसभापतिमा दोहोरिने आकांक्षा असफल भएपछि भने गच्छदारको कांग्रेसभित्रको राजनीतिक भविष्य अन्योलमा परेको छ । ‘हामी राम्रै प्रभाव र शक्तिसहित कांग्रेसमा समायोजन भएका थियौं तर उपसभापतिमा थोरै मतले पराजित भएपछि केही न केही असर त पर्ला,’ उनीपक्षीय नेता रामजनम चौधरी भन्छन्, ‘तर निर्वाचनको सम्पूर्ण परिणाम नआई अहिल्यै भन्न सकिँदैन ।’
गच्छदार देउवाको प्यानलबाट उपसभापति उम्मेदवार बनेका थिए । उनले आफूसहित ६ जनालाई देउवा समूहबाट केन्द्रीय सदस्य उम्मेदवार बनाएका छन् । आफ्नो समूहबाट उम्मेदवार बनेका सबैले जिते पनि उनले कांग्रेसमा आफ्नो शक्ति कायम राख्न सक्ने छैनन् । अर्कोतिर उनी बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सांसदबाट निलम्बनमा परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका सुनील थापाको भविष्यमाथि पनि अनेक अड्कल हुन थालेको छ । समायोजनपछि उनी सहमहामन्त्री बनेका थिए । थापासँगै ६ जना केन्द्रीय सदस्य र ३ जना आमन्त्रित केन्द्रीय सदस्य थिए । यसपटक उनले देउवा प्यानलबाट खसआर्यबाट सहमहामन्त्री दोहोरिन चाहेका थिए । तर केन्द्रीय सदस्यमै चित्त बुझाउन बाध्य भए ।
‘राप्रपाबाट आएकामध्ये एक जना मात्र उम्मेदवार बन्ने निर्णय गर्यौं, केही साथी मनोनीत भएर केन्द्रीय सदस्यमा पुग्नुहोला,’ उनले भने, ‘यसपटकको केन्द्रीय समितिमा समायोजन हुने बेलाको भन्दा कम सहभागिता भए पनि प्रभाव भने घट्ने छैन ।’
