काठमाडौँ — आफ्नै परिवारका सदस्य एक ठाउँ नहुनु कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाका लागि घातक बन्यो । कोइराला परिवारबाटै शेखर सभापति उठ्दा सुजाता कोइराला प्रकाशमान सिंहको प्यानलबाट उपसभापति लडिन् । बीपीपुत्र शशांक कोइराला मौन बसिदिए ।
दोस्रो चरणको निर्वाचनमा समेत उनी सहमति र सहकार्यको आवश्यकता भन्दै मझधारमा उभिए । यसले गर्दा शेखर एक्लो परे । ‘सुरुदेखि नै कोइराला परिवार एक ढिक्का भइदिएको भए अहिलेको अवस्था आउने थिएन,’ एक नेताले भने, ‘कोइराला परिवारभित्रै विखण्डन हुँदा पनि देउवालाई सहज भयो ।’
अर्कातिर लामो समय कोइराला समूहमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि निर्णायक मोडमा मौनता साधे । समूहभित्र साझा उम्मेदवार बन्न नपाउँदा निराश बनेका उनी पहिलो चरणमा सिंह र कोइरालामध्ये कसलाई समर्थन गर्ने भन्ने अप्ठ्यारोमा थिए ।
दोस्रो चरणमा पनि उनी कोइरालाका पक्षमा खुलेनन् । ‘सुरुदेखि नै पौडेलले शेखर’दालाई खुलेर समर्थन गरिदिएको भए जितको सम्भावना बढ्थ्यो, तर उहाँले महत्त्वपूर्ण समयमा टिमलाई धोका दिनुभयो,’ शेखर कोइराला समूहका एक नेताले भने ।
कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।
