शेखरको उदय

सभापतिमा पराजय भए पनि शेखर कोइराला देउवाविरोधी शक्तिलाई सन्तुलनमा राख्ने र कोइराला परिवारको विरासत थाम्ने भूमिकामा आइपुगेका छन्

मंसिर २९, २०७८

ऋषिराम पौड्याल

काठमाडौँ — राजनीतिमा जितले मात्र नेता जन्मिँदैनन् । पराजित हुँदा पनि नेताका रूपमा उदाउँछन् । विरासत थेग्ने हैसियतमा पुग्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा पराजित भएका शेखर कोइराला यस्तै एक पात्र बनेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग सभापतिमा पराजित भए पनि पार्टीमा देखिएका दुई धारमध्ये एउटा धारको नेताका रूपमा स्थापित भए ।

युवा पुस्तालाई समेटेर उम्मेदवार बनेका उनी पछिल्लो पुस्ताले विश्वास गरेको नेता त बने नै, विगतको भूमिकाभन्दा फरक र सक्रिय रहने अवस्थामा पुगेका छन् । पार्टी नेतृत्वको आकांक्षी बन्ने रोलक्रम केलाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताले उनलाई ‘जुनियर’ को आरोप लगाए । पार्टीका ‘सिनियर’ नेताहरू र परिवारका सदस्यहरूले समेत सभापतिको उम्मेदवार बनाउन नचाहेपछि युवाको आडमा चुनावी प्रतिस्पर्धामा उत्रेका शेखर अन्ततः पार्टीमा बनेका दुई समूहमध्ये एउटाको नेता बनेका छन् ।

पार्टी सभापतिको प्रतिस्पर्धामा बीपी कोइरालाका छोरा शशांक मौन बसे । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले नेता सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिइन् । अर्थात् उनीहरूले आफैंले नेतृत्व गर्ने वा परिवारका सदस्य शेखरलाई जिताउने भूमिका देखाएनन् । बीपीपुत्र र गिरिजापुत्रीले महाधिवेशनमा निर्वाह गरेको भूमिकाले कोइराला परिवारको राजनीतिक ‘लिगेसी’ पनि अब स्वाभाविक रूपमा शेखरमा जोडिएको छ ।

शेखर बीपीका भाइ केशवका छोरा हुन् । निर्वाचनको नतिजा जे आए पनि अब कांग्रेसमा देउवा–कोइराला समूह बनेको छ । त्यसको नेतृत्वमा शेखर रहने परिस्थिति बनेको छ । निर्वाचनमा आएको मतका आधारमा उनीसँग रहेको युवा पंक्तिको राजनीति पनि यही समूहसँग जोडिएको छ । शशांकमा देखिएको विचलित वैचारिक क्षमता र ढुलमुले नीतिले पनि कोइराला परिवारको राजनीतिक विरासत स्वतः शेखरमा सरेको विश्लेषण राजनीतिक वृत्तमा छ ।

गिरिजाप्रसादनिकट रहेर लामो समय काम गरेका राजनीतिक विश्लेषक हरि शर्मा शेखर विरासतबाट नभई आफ्नै मिहिनेतले नेताका रूपमा स्थापित भएको बताउँछन् । ‘विरासतबाट हुने भए गिरिजाप्रसादकी छोरी सुजाता किन प्रकाशमानसँग जानुपर्थ्यो, बीपीका छोरा शशांक किन भूमिकाविहीन हुनुपर्थ्यो,’ उनले भने, ‘लोकतन्त्रमा विरासतबाट नेता हुने होइन ।’ मतदातालाई आफूले जे भन्यो त्यही गर्ने भेडाबाख्रा ठान्ने नेताहरूको प्रवृत्ति बढेको भन्दै शर्माले यसकै परिणाम कांग्रेसको महाधिवेशन विचारशून्य बनेको बताए । अघिल्लो महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएपछि बितेको पाँच वर्ष पार्टीमा ‘कोइराला पक्ष’ भन्ने शब्दावलीको प्रयोग लगभग हराएको थियो ।

देउवा फेरि कांग्रेस सभापति

देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेर पराजित भएका रामचन्द्र पौडेलले नै कोइराला पक्षको प्रतिनिधित्व गर्दै आए । त्यसैले पौडेल पक्ष भन्नेबित्तिकै १३ औं महाधिवेशनका सहयात्रीहरू नेता प्रकाशमान सिंह, महामन्त्री शशांकसहितको समूह बुझ्ने गरिन्थ्यो । १४ औं महाधिवेशनमा भएको निर्वाचनमा देखिएको समीकरणले विगतको पौडेल समूह छिन्नभिन्न भएको छ । दोस्रो चरणको निर्वाचनमा गिरिजापुत्री सुजाताको उपस्थितिमा सभापतिका उम्मेदवार सिंहले मंगलबार आफ्नो समर्थन देउवालाई रहेको घोषणा गरे । निर्वाचन दोहोरिने भएपछि दाइ शेखरसँग प्रतिस्पर्धा गरिरहेका देउवासँग भेट्न शशांक मंगलबार मध्याह्न आफैं बालुवाटार गए । तर दाइ शेखरलाई भेट्ने आवश्यकता ठानेनन् ।

गिरिजा र बीपीका परिवारका छोराछोरी नै आफ्नो अस्तित्व समाप्त हुने गरी अन्य समूहमा ‘विलय’ भएको ठम्याइ शेखरनिकट स्रोतको छ । सुजाता र शशांकको दोहोरो भूमिकाले सभापतिमा पराजित भएर पनि शेखरको काँधमा स्वतः कोइराला परिवारको विरासत थेग्ने र आफ्नो समूहको संरक्षण गर्ने जिम्मेवारी आएको छ । आफूले पार्टीलाई विधि र प्रक्रियामा सञ्चालन गर्ने र युवा पंक्तिलाई समेटेर पार्टीमा नयाँ ऊर्जा पैदा गराउने भन्दै उनी १३ औं महाधिवेशन सकिएलगत्तै संगठन विस्तारमा लागेका थिए । उनले अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गरेर विजय भएपछि हौसिएका शेखरले सभापति देउवाले पार्टीलाई गलत ढंगले सञ्चालन गरेको भन्दै सुधारको नारा अघि सार्दै आएका थिए । पार्टी सुदृढीकरणको नारा दिएर उनी मुलुकका सबैजसो जिल्लामा पुगेका थिए ।

विश्लेषक पुरञ्जन आचार्य कांग्रेसमा परिवर्तन गर्ने ‘फ्रेस आह्वान’ ले नै शेखर निर्वाचनमा प्रतिस्पर्धा गर्ने मूल आधार रहेको बताउँछन् । परिवर्तन चाहनेको मत उनले पाएको भन्दै आचार्यले भने, ‘शेखर न कसैलाई केही दिन सक्ने हैसियतमा थिए न ठूलो पद थियो ।’ सत्ताको आडमा नेतृत्वले खुद्रा पसल जस्तो बनाएको कांग्रेसलाई पुनर्जागरण गराउने उनको नारा अनुमोदन भएको दाबी आचार्यले गरे । संगठन गर्न पद नै चाहिन्छ भन्ने मान्यतालाई पनि शेखरले खण्डन गरेको भनाइ उनको छ । उनले अप्ठ्यारो परिस्थितिमा प्राप्त मत कांग्रेसको नेतृत्वविरुद्धको आक्रोश भएकाले युवाहरूको समर्थनमा शेखर परिवर्तनको वाहकका रूपमा स्थापित भएको भनाइ उनको छ । 

किन उभिए देउवासँगै सिंह–निधि ?

१३ औं अधिवेशनपछि देउवाले संसद् र पार्टी सञ्चालनमा निर्वाह गरेको भूमिकाप्रति महामन्त्री शशांक, पूर्वमहामन्त्री सिंह, वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला र शेखर एकै ठाउँमा देखिँदै आएका थिए । तर सिटौलाबाहेक पौडेल समूह भनेर चिनिएको उक्त समूहमा सभापतिको उम्मेदवार छनोटमा सहमति हुन नसक्दा छिन्नभिन्न भए । दोस्रो चरणको निर्वाचनमा शेखरबाहेक सबै देउवाको सहयोगी बने । मंगलबार पौडेलले बोलाएको चियापान कार्यक्रममा कार्यकर्ताले शेखरलाई समर्थन गरेर मत माग्न दबाब दिए । ‘अघिल्लो महाधिवेशनमा तपाईंलाई जिताउन हामी लाग्नुपर्ने तर अहिले चुप बस्ने ?’ भन्दै कार्यकर्ताले हुटिङ गर्दा पनि पौडेलले शेखरको पक्षमा मुख खोलेनन् ।

पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न भनेपछि कार्यकर्ताले देउवालाई सघाएको अर्थ लगाए । आफ्नो समूहका ‘सिनियर’ नेताहरू देउवाको ‘सहयोगी’ जस्तै बनेपछि शेखर उक्त समूहको स्वतः नेता भएका हुन् । देउवाविरोधी मतको संरक्षण गर्ने जिम्मेवारी शेखरको काँधमा आएको छ । त्यसैले उनले दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा गरेको पत्रकार सम्मेलनमा आफू पार्टी गतिविधिमा क्रियाशील रहेर परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता अडान दोहोर्‍याए । पार्टीमा युवाको नेतृत्व गर्दै सक्रिय भूमिका निर्वाह गरिरहने उद्घोष उनले गरे । केही दिन अघिसम्म देउवा र पौडेलबाट पार्टी च ल्दैन भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका सिंह, शशांक र सुजाताहरू अन्ततः देउवा नै ठीक भन्दै सभापतिमा सघाउने निर्णयमा पुगे । 

कतिपयले नेपाली कांग्रेस विभाजन भएर बनेको प्रजातान्त्रिक कांग्रेसका पूर्वनेताहरू एकै थलोमा पुगेको टिप्पणी पनि गरेका छन् । जो जता मिले पनि शेखरले भने देउवाले कांग्रेसलाई गलत बाटो हिँडाउन खोजेको भन्दै नेतृत्व परिवर्तनको पक्षमा आफ्नो अडान छाडेनन् । पौडेल, सिंह र शशांकले शेखरलाई पार्टीमा जुनियरको आरोप लगाएर सभापतिमा स्वीकार गर्न आनाकानी गरेका थिए । तर ‘जुनियर’ भनिएका शेखरले विगतको पौडेल समूहको नेतृत्व सम्हाल्ने एकमात्र नेता भए । गगनकुमार थापालगायत आफ्नो टिममा रहेका युवा नेताहरूलाई अभिभावकीय संरक्षण दिनुपर्ने जिम्मेवारी पनि उनको भागमा परेको छ । 

कांग्रेस महाधिवेशन

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully