देउवाले सिटौलासँग समीकरण गरेपछि बालकृष्ण खाँण, एनपी सावद र ज्ञानेन्द्रबहादुर कार्की असन्तुष्ट, विश्वप्रकाश शर्माले समूह छाडे
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा आउन बल पुग्ने गरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँग समीकरण गरेका छन् । यसो गर्दा उनले आफ्नो समूहभित्र तीव्र असन्तुष्टि खेप्नुपरेको छ भने युवा नेता विश्वप्रकाश शर्मालाई समूहबाट गुमाउनुपरेको छ ।
देउवा–सिटौला समूहबीच पालिका अधिवेशनबाटै समीकरण सुरु भएको थियो । काठमाडौं, झापा, मोरङलगायत जिल्ला अधिवेशन हुँदै उक्त समीकरण प्रदेश तहसम्म पुगेको थियो । देउवाको सहयोगमा सिटौलाले प्रदेश १ र सिटौलाको सहयोगमा देउवाले वाग्मती प्रदेशमा नेतृत्व हात पारेका छन् ।
महाधिवेशनमा भने देउवा–सिटौला समीकरण निकै पेचिलो भयो । कारण बन्यो– महामन्त्री पद । देउवा सिटौलालाई दुई सहमहामन्त्रीसहित बढीमा एक दर्जन केन्द्रीय सदस्य दिन चाहन्थे । बरु उनी सिटौलालाई उपसभापति दिन तयार थिए । देउवानिकट स्रोतका अनुसार उनमा उपसभापतिका आकांक्षीमध्ये विजयकुमार गच्छदारलाई मनाउन सक्ने आत्मविश्वास थियो । ‘कृष्ण (सिटौला) दाइलाई उपसभापतिसहित उहाँको समूहका प्रदीप पौडेल र उमाकान्त चौधरीलाई सहमहामन्त्री दिएर संयुक्त प्यानल बनाउने तयारी भइरहेको थियो,’ देउवानिकट एक नेताले भने, ‘तर उहाँले महामन्त्रीमा पौडेललाई अघि सारेपछि संस्थापन समूहभित्र असन्तुष्टिको ठूलै परकम्प आयो ।’
संस्थापन समूहमा लामो समयदेखि देउवाको साथमा रहेका प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी सावद र ज्ञानेन्द्रबहादुर कार्की तथा १३ औं महाधिवेशनबाट देउवासँग जोडिएका विश्वप्रकाश शर्मा महामन्त्रीका प्रमुख दाबेदार थिए । यीमध्ये महतलाई उनले केही महिनाअघि नै महामन्त्रीको तयारीमा लाग्न भनिसकेका थिए । खाँण टिममा पर्नेमा अरूभन्दा बढी ढुक्क थिए । प्रदेश अधिवेशनपछि भने सिटौलाले आफूलाई भन्दा पौडेललाई केन्द्रमा राखेर देउवासँग बार्गेनिङ थाले । जसरी पनि पहिलो चरणमै जित हात पार्ने मनोविज्ञानमा रहेका देउवा सिटौलाको निर्णायक हैसियतबाट दबाबमा परे ।
‘आकांक्षीमध्ये केही साथीले महामन्त्री सिटौला समूहलाई दिएमा टिम छोड्नेसम्मको धम्की पनि दिनुभयो, तैपनि सभापतिले सिटौलालाई टार्न सक्नुभएन,’ महामन्त्रीका एक आकांक्षीले भने, ‘उहाँ (देउवा) लाई जिताउन फेरि पनि झोला बोक्न तयार भइयो ।’ गृहमन्त्रीसमेत रहेका खाँण मनोनयन दर्ता गर्न राष्ट्रिय सभागृहमा पुग्दा निराश देखिन्थे । ‘म सभापतिज्यूको प्रस्तावक हुन आएको हुँ, मेरो उम्मेदवारी केहीमा हुँदैन,’ उनले सञ्चारकर्मीसँग भनेका थिए । तर उनले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । प्रवक्ता शर्माले त समूह नै परिवर्तन गरेर प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमै उम्मेदवारी दिएका छन् । सिटौलाले बुधबारै आफ्नो समूहको भेलामा पौडेललाई महामन्त्रीमा अघि सार्ने संकेत गरेका थिए । उनले भनेका थिए, ‘मेरो कुनै स्वार्थ छैन, जसले मलाई संकटका बेला साथ दियो, उसैलाई अघि बढाउँछु ।’
महाधिवेशन उद्घाटन समारोहमा शुक्रबार ‘म जहाँ हुन्छु, कांग्रेस त्यहीं रहन्छ’ भन्दै आफूलाई शक्तिशाली भएको सन्देशसहित पौडेलको नामै लिएर माहोल बनाउने प्रयास गरेका थिए । देउवा समूहका महामन्त्रीका आकांक्षी नेताहरू सिटौलाको उक्त अभिव्यक्तिबाट सशंकित भएका थिए । सावद, कार्की र खाँणले केही दिनयता आफूनिकट जिल्ला सभापति र नेताहरूलाई सभापति देउवासँग भेट्न पठाएर आफ्नो पक्षमा दबाब सिर्जना गरेका थिए । सिटौलाले अघि सारेका पौडेल आफूहरूभन्दा ‘जुनियर’ भएकाले महामन्त्रीमा स्विकार्न नसकिने उनीहरूको तर्क थियो । महामन्त्रीमा आकांक्षा राखेका संस्थापन समूहका कार्की, खाँण, सावद र शर्मा चारै जना नेविसंघका पूर्वअध्यक्ष हुन् । उनीहरू पौडेलभन्दा कम्तीमा एक दशकअघि नेविसंघको अध्यक्ष भएका थिए । सिटौलाले तिनै पौडेललाई महामन्त्रीमा अघि सारेर आफूसँग लाग्ने नेता–कार्यकर्तालाई ‘स्थापित गर्छु’ भन्ने सन्देश दिन खोजेका छन् ।
देउवानिकट स्रोतका अनुसार उनी पहिलो चरणमै परिणाम आफ्नो पक्षमा निकाल्ने लक्ष्य पूरा पार्न सिटौलासँग समीकरण गर्न बाध्य भएका हुन् । करिब ४५ देखि ४८ प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको देउवा समूहको आन्तरिक हिसाब छ । कांग्रेसको विधानअनुसार सभापति जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । संस्थापनबाहेक समूहबाट दुई जना उम्मेदवार हुँदै छन् भन्ने थाहा भए पनि देउवा एक्लै चुनाव लड्दा ५० प्रतिशत नपुग्ने हो कि भन्ने त्रासमा थिए । ‘त्यसैले सिटौलाले मागेअनुसारकै पद दिएर आफू सुरक्षित हुन खोज्नुभएको हो,’ देउवानिकट एक नेताले भने, ‘त्यतिमात्र होइन, दुई जना (देउवा–सिटौला) बीच शशांक कोइरालालाई समेत उपसभापति दिएर टिममा भित्र्याउनेसम्मको प्रयास भएको थियो ।’ गत महाधिवेशनमा १० प्रतिशत मत पाएका सिटौलाले यसपटक आफ्नो समूह थप मजबुत भएको दाबी गर्दै आएका छन् । उनको समूहले प्रदेश १ सहित केही जिल्लामा सभापति जितेको छ ।
देउवा–सिटौला समीकरणको आधार भने १३ औं महाधिवेशनमै बनेको थियो । उतिबेला पहिलो चरणमा देउवा, सिटौला र वरिष्ठ नेता रामचन्द्र पौडेल भिडेका थिए । ५० प्रतिशतभन्दा बढी मत नपुगेर देउवा र पौडेल दोस्रो चरणमा गएपछि सिटौलाले देउवालाई समर्थन गरेका थिए । त्यसयता बीचको केही समयबाहेक देउवा र सिटौलाबीच पार्टी र सरकारमा सहकार्य भयो । देउवाले सिटौलालाई तेस्रो शक्तिका रूपमा स्विकार्दै भागबन्डामा सहभागी गराए । यसले गर्दा उनको समूह १४ औं महाधिवेशनसम्म आइपुग्दा फेरि ‘निर्णायक’ बन्न पुग्यो । त्यही बलमा उनले देउवालाई दबाबमा राख्दै महाधिवेशनमा आफ्नो समूहका नेतालाई महत्त्वपूर्ण पदमा उम्मेदवार बनाए ।
देउवा समूहभित्र भने असन्तुष्टि बढेको छ । अब देउवासामु सोमबार बिहान निर्वाचनअगावै असन्तुष्टि साम्य पार्नुपर्ने चुनौती छ । ‘चुनावमा पदाधिकारीमा लाइन नपाउँदा असन्तुष्ट नेताहरू चुनावमा कसरी खट्छन् भन्ने कुराले पनि धेरै अर्थ राख्छ,’ संस्थापन समूहका एक नेताले भने, ‘समय छोटो भएकाले असन्तुष्टि व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण छ ।’
