काठमाडौँ — कांग्रेसमा सभापतिपछिको तीव्र प्रतिस्पर्धा महामन्त्रीमा हुने भएको छ । महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा विद्यार्थीबाट राजनीतिमा प्रवेश गरेकाको बाहुल्य छ । कुनै बेला एउटै टिममा रहेका उनीहरू अहिले प्रतिस्पर्धीका रूपमा खडा भएका छन् ।
महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र गगनकुमार थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा र निधिको समूहबाट राजाराम कार्कीबीच प्रतिस्पर्धा हुँदै छ । शर्मा, थापा र पौडेलले कांग्रेसमा तेस्रो पुस्ताको प्रतिनिधित्व गर्छन् । थापा र पौडेल केही समयसम्म सिटौला समूहमा सँगै थिए । सिटौला समूहबाट थापा अलग्गिएपछि पौडेलले मौका पाएका हुन् । थापाले आफूलाई छाडेकामा सिटौला असन्तुष्ट छन् ।
शर्मा देउवासँगै थिए । देउवाले युवा अनुहार देखाउनकै लागि उनलाई पार्टीको प्रवक्ता बनाएका थिए । गृहजिल्ला झापाको राजनीतिमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको सेपमा परेका शर्मा केन्द्रीय कार्यासमितिमा प्रवेश गरेसँगै उनको उचाइ बढेको थियो । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उनले झापाको राजनीतिमा लामो समय बिताए । नेविसंघको अध्यक्ष, जिल्ला पार्टी सभापति हुँदै १३ औं अधिवेशनमा पार्टीको केन्द्रीय सदस्य जितेका थिए । गत संसदीय निर्वाचनमा झापाबाट पराजित भएपछि उनले केन्द्रीय राजनीतिमा सक्रियता बढाएका थिए ।
सभापति देउवाले प्रवक्ता बनाए पनि त्यहाँ आफ्नो स्थान नदेखेपछि उनी अलग भएका हुन् । उनी अध्यक्षका उम्मेदवार प्रकाशमान सिंहको समूहमा जोडिएका छन् । सुरुमा अध्यक्षका उम्मेदवार विमलेन्द्र निधिको समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने कसरत भएको उनीनिकटहरू बताउँछन् । उम्मेदवारी तय गर्ने क्रममा कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने चर्चा चले पनि सार्थक हुन सकेन । उनले सिंहको समूहमा जोडिएर उम्मेदवारी दिएका छन् ।
महाधिवेशन प्रतिनिधिले उनीहरूलाई जिताउन खोजे पनि महामन्त्रीको दुई सिटमा तीन युवा नेता अटाउँदैन्न् । त्यसैले ६ जनामध्ये क–कसले जित्लान् ? युवा नेताहरूको स्थान के होला ? चासोको विषय बनेको छ ।
तीन युवा नेपाल विद्यार्थी संघका पछिल्लो पुस्ताका चर्चित नेता हुन् । नेविसंघको महामन्त्री भएका थापा दुई पटक संविधानसभा सदस्य हुँदै पछिल्लो समय काठमाडौंबाट निर्वाचन जितेर सांसद बनेका हुन् । उनले पछिल्लो समय मुलुकभर घुमेर आफूलाई कांग्रेस कार्यकर्तामाझ परिचित र लोकप्रिय बनाउने कसरत गरेका थिए । १३ औं अधिवेशनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनी त्यतिबेला पराजित भएका थिए । अहिले उनी कोइराला समूहबाट उम्मेदवार बनेका छन् ।
अर्का युवा नेता पौडेल महामन्त्रीका परिचित उम्मेदवार हुन् । सिटौलाले देउवा समूहलाई समर्थन गरेपछि उनले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । नेविसंघ अध्यक्ष हुँदै राजनीतिमा क्रियाशील उनले १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा लोकप्रिय मत प्राप्त गरेका थिए । उनको उम्मेदवारीले देउवा समूहमा लामो समय काम गरेका धेरै नेता महामन्त्रीको प्रतिस्पर्धाबाट पछि हट्न बाध्य भएका छन् । पौडेलले सहकर्मीबीच हुने प्रतिस्पर्धा स्वाभाविक भएको बताए । ‘आन्तरिक प्रतिस्पर्धालाई सहज रूपमा लिनुपर्छ । हाम्रो भावना जोडिएको भए पनि प्रतिस्पर्धा हुनु स्वाभाविक हो,’ उनले भने, ‘यो अहिले नभएको भए अर्को पटक भइहाल्थ्यो ।’
