‘रूपान्तरणका लागि पुस्तान्तरण’

मंसिर २६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — चौधौं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्न मुलुकभरका प्रतिनिधि राजधानीमा भेला भएका छन् । नेतृत्वमा अब पुस्तान्तरण हुनुपर्छ भन्ने बहस चलिरहेको छ । अधिकांश प्रतिनिधि पार्टीको आन्तरिक जीवनमा परिवर्तन हुनुपर्नेमा एकमत देखिन्छन् । यही सेरोफेरोमा विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिसँग गरिएको संक्षिप्त कुराकानी :

लक्ष्मी सिलवाल, धादिङ 

गत निर्वाचनमा कांग्रेस तीनै तहको चुनावमा पराजित भयो । अब निर्वाचन जिताउने नेतृत्व चाहिन्छ । नयाँ अनुहार नेतृत्वमा आए पार्टी अझ बढी अघि बढ्छ । युवाले एउटै पदमा प्रतिस्पर्धा गर्नेभन्दा पनि पद मिलाएर अघि बढ्दा राम्रो हुन्छ । पार्टी सञ्चालन गर्न नयाँ–पुराना सबै नेता आवश्यक पर्छ । मूल निर्णय युवाले नै गर्ने परिस्थिति बन्यो भने पार्टीको हित हुन्छ जस्तो लाग्छ । मैले त मान्छे हेरेर मत खसाल्ने विचार गरेको छु । 

मोहम्मद मोखतारुलहक, रौतहट 

पहिले गिरिजाप्रसाद कोइरालाको पालामा नेतृत्व बलियो थियो । एक जनालाई नेता मान्दा सहज हुन्थ्यो । अहिले त्यो अवस्था भएन । परिवर्तन जोगाउन युवालाई अघि बढाउनुपर्छ । नयाँ–पुराना दुवै रहेको टिमले जित्नुपर्छ । म त मान्छे हेरेर 

मत खसाल्छु । प्यानलमा हाल्दिनँ । पार्टीलाई आवश्यक मान्छेलाई जिताउनुपर्छ । मुख्यतः युवाको भूमिका बढी रहन्छ । पार्टी हाँक्ने क्षमताका मान्छेले जित्नुपर्छ । 

उषा देवी, सर्लाही 

म सर्लाहीको धेरै दुर्गम स्थानबाट प्रतिनिधि भएर आएको छु । पढेको, जानेको र मेरो गाउँमा विकास गर्ने नेतालाई भोट हाल्छु । नेता धेरै राम्रो चाहिन्छ । नयाँ मान्छे आउनुपर्छ । हाम्रो दुःखका कुरा पनि सुन्नुपर्छ । त्यस्तै मान्छेलाई भोट हाल्छु । 

टेकबहादुर रैका, कैलाली 

पार्टीमा धेरै गुट देखियो । यो दुःखको कुरा हो तर पनि विगतमा भएको कमी–कमजोरी हटाएर जानुपर्छ । वडादेखि नै प्यानलका आधारमा आएकाले धेरै मत खसाल्ने अवस्था छ । युवा भनिएको छ तर उनीहरू पनि सबै उस्तै हुँदैनन् । कस्तो युवा भन्ने विचार गर्नुपर्छ । जे भए पनि पार्टीमा गुट मौलाउनु राम्रो होइन । 

पम्फा थापा, तनहुँ 

म पहिलो पटक प्रतिनिधि भएर आएको हुँ । अब कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी काम गर्नुपर्छ । म त युवाले नै नेतृत्व गर्नुपर्छ भन्नेमा छु । मत दिँदा छानेर दिन्छु । पार्टीलाई अगाडि बढाउने व्यक्तिलाई दिन्छु । प्यानलमात्र भनेर हुँदैन, कसले दुःख गरेको छ, त्यो पनि हेर्नुपर्छ । पार्टी कसले हाँक्न सक्छ, त्यो पनि ख्याल गर्नुपर्छ । 

सीता सापकोटा, बेल्जियम जनसम्पर्क समिति

पहिलेको तुलनामा यो अधिवेशन निराशाजनक देखिएको छ । पार्टीको नीति कार्यक्रमभन्दा पनि नेतृत्वविहीन समूहजस्तो भएको छ । नेताहरूको गतिविधि ज्यादै आलोचना गर्न लायक देखिन्छ । धन, बल र गुटका आधारमा गरिएको भेलाजस्तो छ । यस्तो नेतृत्वले पार्टी चल्दैन । युवा शक्ति अघि बढेर पार्टीलाई गति दिनुपर्छ । पुराना नेताको सम्मान गर्नुपर्नेमा त्यस्तो भएको छैन । पुस्तान्तरण मात्र होइन, रूपान्तरणको पनि खाँचो छ । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully