महामन्त्रीमा नयाँ पुस्ता - पहिले सहयात्री, अहिले प्रतिस्पर्धी

मंसिर २५, २०७८

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसमा सभापतिपछि अर्को शक्तिशाली पद हो, महामन्त्री । यसपटक दुबै महामन्त्री निर्वाचित हुन्छन् । दुई महामन्त्री पदकालागि छ जनाको उम्मेदवारी परेको छ । वर्तमान सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र अर्का नेता राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

 पार्टीमा रुपान्तरण र पुस्तान्तरणको बहस भइरहेका बेला महामन्त्रीमा नयाँ पुस्ताका नेताहरूबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । 

महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने रिजाल र थापा शेखर कोइराला प्यानलका । शर्माले उम्मेदवारी दर्तापछि प्रकाशमान सिंहसँग समीकरण गरे । अर्का नेता कार्कीले निधिको समूहबाट उम्मेदवारी दिएका हुन् । कांग्रेसजन माझ धेरै नचिनिएका कार्की चिकित्सा पेशाबाट राजनीतिमा आएका हुन् । 

देउवा र कोइराला प्यानलसँग परम्परागत गुट र संगठनको साथ छ । तर, यही महाधिवेशनमा पुरानो समूहबाट अलग्गिएर उम्मेदवार बनेका सिंह र निधिसँग बलियो गुट छैन । त्यसैले महामन्त्रीमा देउवा प्यानलका महत र पौडेल तथा कोइराला प्यानलका थापा र रिजालबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । तर, पार्टी संगठन र आममानिस माझ सिंह प्यानलबाट उम्मेदवार बनेका शर्माको लोकप्रियता पनि कम छैन । 

महामन्त्रीका उम्मेदवारमा उनीहरूमध्ये पनि दुई पुस्ता छ, पहिलो रिजाल र महतको, दोस्रो शर्मा, थापा र पौडेलको । पहिलो पुस्ताका रिजाल र महत तथा दोस्रो पुस्ताका शर्मा, थापा र पौडेल कुनै बेला विद्यार्थी राजनीति र पार्टीभित्र एउटै गुटमा थिए । उनीहरूबीच लामो सहकार्य र सहयात्रा भएको छ । तर, कुनैबेला एउटै गुटमा सहयात्रीका रुपमा रहेका उनीहरू अहिले पार्टीको महामन्त्रीमा प्रतिस्पर्धीका रुपमा प्रस्तुत भएका छन् । प्यानलगत रुपमा भिन्न–भिन्न प्यानलबाट उम्मेदवारी दिएपनि उनीहरू हरेकले बाँकी सबैसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

पार्टीभित्र उनीहरूका आ–आफ्नै क्रेज छन्, कोही वाक कलाका कारण लोकप्रिय छन्, त कोही मुद्दा र स्वभावगत हिसावले । आम कांग्रेसी उनीहरू अहिलेको कांग्रेसको अनुहारमा देखिरहनुपर्ने ठान्छन्, तर एउटै पदमा उनीहरूको उम्मेदवारीले प्रतिस्पर्धालाई रोचकमात्रै बनाएको छ । 

पहिलो पुस्ता: रिजाल र महत

सँग–सँगै राजनीतिमा आएका महत र रिजाल ०५९ सालमा कांग्रेस विभाजित हुँदा शेरबहादुर देउवासँगै कांग्रेस प्रजातान्त्रिकमा संगठित थिए । त्यसबेला उनीहरूबीच सहकार्य र सहयात्रा मात्रै होइन, गहिरो मित्रवत् सम्बन्ध नै रह्यो । काम र अनुभवका हिसाबले पनि उनीहरूबीच धेरै समानता र सहयात्रा भएका छन् । कांग्रेस प्रजातान्त्रिक हुँदा रिजाल केन्द्रीय सदस्य र प्रवक्ता थिए भने महत केन्द्रीय सदस्य । कांग्रेस एकीकरण भएपछि पनि रिजाल र महतबीच देउवा समूहमै रहेर सहकार्य भयो । तर, १२ औं महाधिवेशनपछि उनीहरू एउटै गुटमा रहेनन्, रिजाल कोइराला परिवारसँग नजिकिए । 

१३ औं महाधिवेशनबाट दुवैले केन्द्रीय सदस्य जिते, तर महतले देउवा प्यानलबाट जिते भने रिजालले पौडेल समूहबाट । देउवाले महतलाई सहमहामन्त्री बनाए, रिजालले पौडेल समूहमा बसेर महामन्त्री शशांक कोइरालाको विश्वासपात्रका रुपमा भूमिका खेल्दै आएका छन् । महत देउवाका विश्वासपात्र मात्रै होइन, असल छवि भएका इमानदार  र कुशल संगठक हुन् । दुवैले संसद र सरकारमा बसेर काम गरिसकेका छन् ।

महत पूर्वपरराष्ट्रमन्त्री हुन् भने रिजाल वर्तमान रक्षामन्त्री तथा पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री । यसपटक भने रिजाल प्रतिनिधिसभामा सांसद छन् । महत प्रतिनिधि सभा बाहिर छन् । मोरङ–२ बाट चुनाव जितेका रिजालले पार्टीका तर्फबाट संसदमा खेलेको भूमिकाकै कारण उनी कार्यकर्तामाझ लोकप्रिय छन् । 

दोस्रो पुस्ता: शर्मा, थापा र पौडेल

विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल । यी नाम सुन्ने जो कोहीले भन्छन्, विद्यार्थी राजनीतिबाट उदाएका लोकप्रिय युवा नेता । विद्यार्थी राजनीतिमा शर्मा, थापा र पौडेल एउटै गुटमा थिए, अनि त्यो गुटको नेता शर्मा । विद्यार्थी राजनीतिमा शर्माले नै थापा र पौडेललाई अघि बढाएका हुन् । 

झापाको मेची क्याम्पसदेखि विद्यार्थी राजनीति थालेका शर्मा ०५७ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भए । २ वर्षे कार्यकालभित्रै महाधिवेशन गरेर विद्यार्थीमाझ लोकप्रिय बनेका शर्माले आफ्नो वर्चस्व जमाएका थिए । उनले थापा र पौडेललाई आफ्नो टिमबाटै उम्मेदवार बनाएर अघि बढाएका थिए । 

थापा र पौडेलको विद्यार्थी राजनीति सिद्धार्थ बनस्थली क्याम्पसबाट सुरु भएको थियो । ०५३ मा अमृत साइन्स क्याम्पसमा स्ववियु सभापति भएका पौडेललाई शर्माले आफ्नो कार्यकालमा नेविसंघको सहमहामन्त्री मनोनित गरेका थिए । ०५५ मा त्रिचन्द्र कलेजको स्ववियु सभापति भएका गगन शर्माका उपाध्यक्ष थिए । 

थापा नेविसंघको केन्द्रीय अध्यक्ष नै भएनन् । पौडेल ०६४ सालमा केन्द्रीय अध्यक्ष भए, तर महाधिवेशन गराउन नसकेपछि ०६७ सालमा बर्खास्तीमा परे ।

०६२/६३ को जनआन्दोलन र विद्यार्थी संगठनको सक्रियताका कारण शर्मा, थापा र पौडेल तिनै जनाको लोकप्रियता उंचो रह्यो । उनीहरूले संगठनभित्र राम्रै माया पाए । 

अहिले पनि उनीहरूको एजेन्डा र लोकप्रियता मिल्दोजुल्दो छ । तर विद्यार्थी राजनीतिमा एउटै गुटमा बसेर सहयात्रा गरेका उनीहरू पार्टी राजनीतिमा भने तीन कित्तामा तीन तिर विभाजित भएका छन् । तीन मध्ये सबैभन्दा कान्छा हुन् थापा । तर, पार्टी र संसदीय राजनीतिमा भने उनी अघि छन् । 

पहिलो संविधानसभामा ३१ वर्षकै उमेरमा सांसद बनेका थापा मन्त्री पनि भइसके । तर, शर्मा र पौडेल सांसद नै बन्न सकेका छैनन् । ०७० र ७४ को आमनिर्वाचनमा काठमाडौं– ४ बाट प्रत्यक्ष निर्वाचित थापा पूर्वस्वास्थ्य मन्त्री हुन् । पार्टीमा पनि गगनले छलाङ मारेका छन् । १२ औं महाधिवेशनमा उनी सर्वाधिक मतसहित विजयी भए । त्यो बेला पौडेल केन्द्रीय सदस्यमा पराजित भए भने शर्मा झापा जिल्ला सभापतिमा हारे । केन्द्रीय सदस्य हारेका पौडेललाई तत्कालिन सभापति सुशील कोइरालाले केन्द्रीय सदस्य मनोनित गरे । शर्मा त्यसमा पनि परेनन् । 

त्यसबेलासम्म पनि उनीहरू एउटै गुटमा थिए, त्यसपछि भने उनीहरू बाँडिए । १३ औं महाधिवेशनमा शर्माले देउवा प्यानलबाट केन्द्रीय सदस्य जिते । थापाले सिटौला टिमबाट महामन्त्री लडे भने पौडेलले पौडेल समूहबाटै केन्द्रीय सदस्य जिते । शर्मा प्रवक्ता भए, पौडेलले सिटौलासँग नजिकिएर काम गरे । थापाले सिटौला टिमबाटै मन्त्री खाए । 

अहिले १४ औं महाधिवेशनमा आइपुग्दा शर्मा, थापा र पौडेल तिनै जना एउटै पदका प्रत्यासी हुन् । तर, थापा, शर्मा र पौडेल तिनै जनाले गुट बदलेका छन् । 

शर्मा, थापा र पौडेलका पछि सिटौला कारक

शर्मा, थापा र पौडेलका पछि जोडिएको ‘सिटौला फ्याक्टर’ झन् रोचक छ । उनीहरूको उम्मेदवारी र गुट परिवर्तनका पछि सिटौला जोडिन्छन् । कोही सिटौलाका कारण स्थापित भएका छन्, त कोही विस्थापित भएका छन् । 

१३ औं महाधिवेशनमा थापा सिटौलाको बलियो साथसहित महामन्त्रीको उम्मेदवार थिए, अहिले उनी सिटौलाको साथमा छैनन् । थापाले महामन्त्री पदकै लागि आफूलाई छाडेको सिटौलाको बुझाई छ । त्यहीकारण सिटौलाले थापासँग रिस फेर्न देउवासँग समीकरण गरेर पौडेललाई महामन्त्रीमा उम्मेदवार बनाएका छन् । त्यसकारण पौडेल सिटौलाकै कारण महामन्त्रीको उम्मेदवार छन् । 

सिटौला र शर्माको सम्बन्ध त झन् कटु छ । सिटौलाकै कारण झापामा आफूले पार्टी र संसदीय राजनीतिमा स्थापित हुन नपाएको शर्माको बुझाई छ । हुन पनि झापामा सिटौला पकड त्यस्तै छ, १२ औं महाधिवेशनमा झापा सभापतिमा शर्मालाई हराउँदै सिटौलानिकट उद्धव थापा विजयी भए । १३ औंदेखि शर्माले आफ्नै उम्मेदवार खडा गरे । यसपटक पनि झापामा सिटौला–शर्मा प्रतिस्पर्धा भयो । 

१४ औं महाधिवेशनमा देउवा–सिटौला समीकरण बनेपछि शर्माले त्यहाँ सुरक्षित महसुस गरेनन् । सिटौलाकै कारण देउवा गुटमा लागेका शर्माले उनकै कारण अहिले प्रकाशमान सिंह रोज्न पुगेका छन् । शर्माले ०७० र ०७४ को निर्वाचनमा झापा–१ बाट पराजय बेहोरेका थिए ।

कांग्रेस महाधिवेशन

प्रकाश डेढ दशकदेखि पत्रकारितामा क्रियाशील धौलाकोटी हाल ईकान्तिपुरसँग आबद्ध छन् । उनी सामाजिक तथा राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully