काठमाडौँ — कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा विद्यार्थी राजनीतिबाट उदाएको पछिल्लो पुस्ता पार्टीको केन्द्रीय नेतृत्वमा प्रवेश गर्न खोज्दै छ । नेपाल विद्यार्थी संघमा लामो समय काम गरेका वर्तमान र पूर्वपदाधिकारी एवं सदस्यहरूले धमाधम केन्द्रीय तहमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।
उम्मेदवारी घोषणा गरेका कतिपय अनुहार पार्टीको चौथौ पुस्ताका रूपमा परिचित छ । गगन थापापछिको पुस्ताको नेता को भन्ने जिज्ञासा उठिरहेका बेला विद्यार्थी राजनीतिबाट उदाएकाहरूले नेतृत्वमा दाबी गर्न थालेका हुन् ।
नेविसंघका अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा पन्त, महामन्त्रीद्वय उर्मिला थपलिया र दीपक भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरा, पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, डिल्लीराम सुवेदी, कृष्णकुमारी बस्नेत, पूर्वमहामन्त्रीहरू प्रतिमा गौतम, कुन्दन काफ्ले, मनोजमणि आचार्यले पनि केन्द्रीय सदस्यमा उठ्ने बताएका छन् । पूर्वअध्यक्ष रञ्जित कर्णले आरक्षण सिटमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्ले समृद्धिको यात्रा पूरा गर्ने जिम्मेवारी युवा पुस्ताको भएकाले पार्टीको केन्द्रीय नेतृत्वमा प्रवेश गर्न खोज्नु स्वाभाविक भएको बताए । केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका काफ्लेले बाबुको पुस्ताले लोकतन्त्र ल्याएको, अब छोरा/नातिको पुस्ताले पार्टीको केन्द्रीय तहमा पुगेर मुलुकको नेतृत्व लिनुपर्ने समय आएको बताए ।
नेविसंघबाटै राजनीति सुरु गरेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महतदेखि गगन थापासम्मको पुस्ता पार्टीको केन्द्रीय तहमा पुगिसकेको छ । नेविसंघबाटै उठेर यसअघि केन्द्रीय सदस्य बनेका कतिपय नेताहरू अहिले पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा छन् । एक पटक पनि केन्द्रीय तहमा नपुगेका पूर्वविद्यार्थी नेताहरूले अहिले सदस्यमा धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।
पूर्वअध्यक्ष कर्ण विद्यार्थी संगठनमा काम गरेको लामो समय भएकाले पार्टी राजनीतिको केन्द्रीय तहमा पुग्न खोज्नु बाध्यता भएको बताउँछन् । अहिले महाधिवेशन प्रतिनिधिमा युवा धेरै आएकाले पनि नेताहरू आफूले मत पाउने विश्वासमा रहेको भनाइ उनको छ । ‘४० वर्ष नाघेका पुस्ताले नेविसंघका काम गरिरहेकाले अब जाने बाटो पार्टी केन्द्रीय समिति नै हो,’ उनले भने ।
नेविसंघका नेताहरूले महाधिवेशन प्रतिनिधिलाई लबिइङ गरेर आफ्नो पुस्तालाई मत खसाल्न अनुरोध गर्ने बताए । पूर्वमहामन्त्री काफ्ले भने, ‘युवापंक्तिलाई जिताउन एकीकृत रणनीतिका विषयमा छलफल भइरहेको छ ।’ पार्टीमा सधैं एउटै अनुहार, विचार र भनाइले गतिशीलता प्राप्त गर्न नसक्ने आवाज उठिरहेका बेला युवापंक्ति उत्साहित देखिन्छ ।
महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका प्रदीप पौडेलले सिनियर नेताहरूले पदाधिकारीमा प्रतिस्पर्धा गर्ने भएकाले केन्द्रीय समितिमा नयाँ अनुहार धेरै आउने सम्भावना रहेको बताए । परिचित अनुहारले माथिल्लो पदमा प्रतिस्पर्धा गरेपछि युवापंक्ति स्वाभाविक रूपमा केन्द्रीय तहमा पुग्ने उनको विश्वास छ ।
