‘हामी मतदाता मात्र कहिलेसम्म ?’

विदेशस्थित जनसम्पर्क समितिबाट १९५ महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् तर उम्मेदवार बन्न पाउँदैनन् 

काठमाडौँ — जापानको टोकियोमा बसोबास गर्ने राजेन्द्र जमकट्टेल काठमाडौं आइपुगेका छन् । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति जापानबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशनमा सहभागी हुन आएका उनको हैसियत भने मतदातामै सीमित छ । उनी उम्मेदवार बन्न पाउने छैनन् । 

‘हामी मतदाता मात्र कहिलेसम्म ?’

कांग्रेसमा लामो समयदेखि विदेशस्थित जनसम्पर्क समितिका लागि आरक्षिततर्फ केन्द्रीय सदस्य कोटा छुट्याउनुपर्ने माग उठे पनि सम्बोधन भएको छैन । यसले गर्दा जमकट्टेलजस्ता विदेशबाट आउने ‘पाहुना प्रतिनिधि’ नेतृत्व तहमा पुग्नबाट वञ्चित छन् । ‘अघिल्लो महाधिवेशनमै जनसम्पर्क समितिलाई एक भौगोलिक क्षेत्र मानेर केन्द्रीय समितिमा कोटा छुट्याउन माग गरेका थियौं,’ जमकट्टेलले भने, ‘माग सुनुवाइ भएन, केन्द्रीय समितिमा समेत हाम्रो एजेन्डा लगिदिने कोही पनि भएन ।’

कांग्रेसका विभिन्न ३७ देशमा जनसम्पर्क समिति छन् । यस पटक २९ जनसम्पर्क समितिबाट १ सय ९५ जनाले महाधिवेशनमा भाग लिँदै छन् । बुधबारसम्म अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन् । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार भारत, जापान, अमेरिका र बेलायतबाट १४–१४ जना, जर्मनी, नर्वे, इजरायल, बहराइन, कतार, ओमन, मलेसिया, साउदी अरब, हङकङ, स्पेन, बेल्जियम, दक्षिण कोरिया, स्विडेन, अस्ट्रेलिया, पोर्चुगल, क्यानडा, मकाउ, डेनमार्क, यूएईबाट ७–७ जना र नेदरल्यान्ड्स, पोल्यान्ड, साइप्रस, कुबेत, फ्रान्स र आयरल्यान्डबाट १–१ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

निर्धारित समयमा अधिवेशन सम्पन्न गरेका जनसम्पर्क समितिले मात्र महाधिवेशनमा भाग लिन पाउने उनले बताए । विभिन्न कामको सिलसिलामा विदेशमा बसोबास गर्ने कांग्रेसमा आबद्ध नेपाली नागरिक जनसम्पर्क समितिमार्फत क्रियाशील सदस्य हुन पाउँछन् । २ हजारभन्दा बढी क्रियाशील सदस्य भएको देशबाट सभापतिसहित १४ जना, ५ सयदेखि २ हजारसम्म क्रियाशील सदस्य भएको देशबाट सभापतिसहित ७ जना र ५ सयभन्दा कम क्रियाशील सदस्य भएको देशबाट एक जना महाधिवेशन प्रतिनिनिधि छनोट हुने कांग्रेसको नियमावलीमा उल्लेख छ । १३ औं महाधिवेशनमा १९ देशका जनसम्पर्क समितिको सहभागिता थियो ।

आफू नेतृत्वमा पुग्न नपाए पनि पार्टीमा नेतृत्व चुन्नका लागि विदेशबाट महाधिवेशन प्रतिनिधि महँगो खर्चमा आउँछन् । जमकट्टेलका अनुसार सामान्यतया एक प्रतिनिधिले सरदर ७ लाख रुपैयाँसम्म खर्च गर्छ । ‘विदेशबाट आतेजाते, यहाँ आएपछि खानबस्नको खर्च त सामान्य भइहाल्यो,’ उनले भने, ‘विदेशबाट आएको भनेपछि साथीभाइ र उम्मेदवारले पनि आस गरिहाल्छन्, हाम्रो खर्च त केन्द्रीय सदस्यका उम्मेदवारको भन्दा बढी हुन्छ ।’

विदेशस्थित जनसम्पर्क समितिहरू पार्टीका नेताका लागि आर्थिक स्रोतका माध्यम पनि हुन् । जनसम्पर्क समितिसँग महाधिवेशनमा चन्दा माग्ने र अन्य बेला उनीहरूको सहयोगमा विदेश सयर गर्ने गर्छन् । ‘धेरै नेपालीलाई विदेशमा आए पनि राजनीतिको नसाले छोड्दैन, बरु पसिनाको कमाइमा नेताहरूलाई मोजमस्ती गराउने होड नै चल्ने गर्छ,’ जनसम्पर्क समितिबाट आएका एक महाधिवेशन प्रतिनिधि भन्छन्, ‘यति गरेबापत महाधिवेशनका बेला भोट हाल्नेबाहेक अरू कुनै फाइदा छैन ।’

कतिपय नेपाली भने जनसम्पर्क समितिमार्फत राजनीति गर्ने अवसर पाएको बताउँछन् । कुनै कामका लागि निश्चित समयसम्म विदेशमा रहे पनि पछि स्वदेश फर्केर राजनीति गर्ने उद्देश्य बोकेका व्यक्तिलाई यसले फाइदा गर्ने जनसम्पर्क समिति जापानमा निवर्तमान सभापति डीपी कँडेलको भनाइ छ । ‘हामी विदेशमा भए पनि राजनीतिमार्फत नेपाली धरातलसँग जोडिएको महसुस गर्छौं,’ उनले भने, ‘कांग्रेसको जनसम्पर्क समितिजस्ता संस्था विदेशमा बस्ने नेपालीलाई देशको राजनीतिक, आर्थिक र सामाजिक अभियानसँग जोड्ने भरपर्दो माध्यम सावित भएका छन् ।’

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधिलाई उम्मेदवार बन्न पाउने अधिकार दिनुपर्ने भए पनि विधानमा व्यवस्था नभएको बताए । ‘विदेशबाट आउने महाधिवेशन प्रतिनिधिलाई पनि उम्मेदवार बन्न पाउनुपर्ने माग जायज छ, पार्टीभित्र छलफल पनि भइरहेको छ,’ उनले भने ।

यसैबीच, महाधिवेशनमा सहभागी हुन इन्टरनेसनल कांग्रेस र भारतीय जनता पार्टीबाट अतिथि आउने भएका छन् । पार्टी सहमहामन्त्री एवं पाहुना स्वागत तथा सत्कार समितिका संयोजक प्रकाशशरण महतले यसका साथै अन्य केही पार्टीबाट पनि अतिथि आउने बताए ।

महाधिवेशन प्रतिनिधि करिब ४ हजार ५ सय

कांग्रेसको आगामी महाधिवेशनमा करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । केन्द्रीय निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ३ सय १९ छ । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार यसमा विदेशस्थित २९ वटा जनसम्पर्क समितिबाट १ सय ९५ जना थपिनेछन् । ३१ वटा भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट १ सय २७ जना प्रतिनिधि चुनिन्छन् ।

प्रकाशित : मंसिर २३, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?