२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

देउवालाई पदाधिकारी टुंग्याउन सकस

आफ्नै समूहमा आकांक्षी मिलाउन हम्मे परिरहेका बेला जित निकाल्न सिटौला वा अन्य कुनै समूहसँग समीकरण गर्नैपर्ने बाध्यता
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेस सभापतिमा दोहोरिने प्रयासमा रहेका शेरबहादुर देउवालाई आफ्नो समूहभित्र पदाधिकारीको टुंगो लगाउन सकस भएको छ । समूहभित्र उपसभापति र महामन्त्रीका आकांक्षी धेरै भएको र चुनाव जित्नका लागि यी पदमा अर्को कुनै समूहका नेतालाई तान्नुपर्ने बाध्यताले उनी अप्ठ्यारोमा परेका हुन् ।

देउवालाई पदाधिकारी टुंग्याउन सकस

बालुवाटारमा मंगलबार ७ वटै प्रदेशका आफूपक्षीय वरिष्ठ नेतासँग बैठक गरेर देशभरिको अवस्था बुझेका देउवाले बुधबार निजी निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसमितिमा रहेका आफूपक्षीय नेतालाई परामर्शका लागि बोलाएका थिए । उनको समूहमा वर्तमान उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का उपसभापतिका आकांक्षी छन् । अर्को कुनै समूहसँग समीकरण गर्नुपर्ने अवस्थामा देउवासामु खड्का वा गच्छदारमध्ये एक जनालाई रोज्नुपर्ने बाध्यता छ ।

उनलाई दुई जना महामन्त्रीको टुंगो लगाउन अझ बढी सकस छ । प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखकले महामन्त्रीमा दाबी गरिरहेका छन् । समूहको बुधबारको बैठकमा पनि आकांक्षीहरूले आफ्नो दाबी पेस गरेका थिए । पार्टीका प्रवक्तासमेत रहेका शर्माले १८ देखि ५० वर्ष उमेर समूहका महाधिवेशन प्रतिनिधिको संख्या करिब ५० प्रतिशत रहेको आँकडा सुनाउँदै उक्त उमेर समूहको भावना प्रतिनिधित्व गर्न प्रमुख पद (सभापति, उपसभापति र महामन्त्री) मा युवालाई ठाउँ दिनुपर्ने बताएका थिए । ‘५० वर्षमुनिका क्रियाशील सदस्यको संख्यासमेत ६१ दशमलव ६३ प्रतिशत छ,’ उनले बैठकमा प्रस्तुत गरेको तथ्यांक सुनाउँदै भने, ‘त्यसैले मैले प्यानलै चुनाव जित्नका लागि प्रमुख पदमा युवा अनुहार हुनुपर्ने कुरा राखेको हुँ ।’

बैठकमा देउवापक्षीय युवा नेताहरू नैनसिंह महर, रामहरि खतिवडा, मीन विश्वकर्मालगायतले ‘सर्ट लिस्ट’ गरेको सभापतिदेखि सदस्यसम्मका सम्भावित १ सय ५३ उम्मेदवारको नाममाथि पनि छलफल भएको थियो । महाधिवेशनमा १ सय ३४ जनाका लागि निर्वाचन हुने भए पनि नेताहरूले देशभरिका आफ्नो विचार समूहका नेताहरूको नाम उक्त सूचीमा राखेका छन् । सहमहामन्त्री प्रकाशशरण महतले पदाधिकारीका उम्मेदवारको नाममाथि छलफल भए पनि निष्कर्ष ननिस्किएको बताए । ‘सभापतिज्यूले सम्भावित उम्मेदवारको नाम त कहीँ न कहीँबाट जानकारीमा राख्नुभएकै छ, आज (बुधबार) पनि केही नाममाथि छलफल भयो,’ उनले भने, ‘तर भोलि (ढिलोमा पर्सि) सम्म टिम घोषणा हुन्छ होला ।’ कृष्णप्रसाद सिटौला समूह वा अन्य कुनै समूहसँग समीकरणको सम्भावना रहेको उनले बताए ।

बैठकले ७ वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको नाम टुंग्याउन ७ जना नेतालाई जिम्मेवारी दिएको छ । प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई यसको जिम्मेवारी दिइएको छ । बैठकमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पद थप्नुपर्ने आवाज पनि उठेको थियो ।

८ सहमहामन्त्रीमध्ये पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, आदिवासी/जनजातितर्फ भीष्मराज आङदेम्बे, मधेसीतर्फ महेन्द्र यादव, थारुतर्फरामजनम चौधरी र मुस्लिमतर्फ फरमुल्लाह मन्सुर दाबेदार छन् । दलिततर्फ मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा, महिलातर्फ पुष्पा भुसाल, चित्रलेखा यादव र डिना उपाध्यायले दाबी गरेका छन् । खस आर्यतर्फ गोविन्द भट्टराई र शंकर भण्डारीले दाबी गरे पनि महामन्त्रीमा दाबी गरिरहेका कतिपयले भित्रभित्रै सहमहामन्त्री पाए बस्ने सोच बनाएका छन् ।

केन्द्रीय सदस्य किशोरसिंह राठोरले उपसभापति र महामन्त्रीमा आरक्षित र सहमहामन्त्रीमा खुला पद थप्नुपर्ने बताएका थिए । नेता साउदले उनको कुरामा थप जोड दिएका थिए । कांग्रेसको विधानमा खुलातर्फ दुई–दुई जना उपसभापति र महामन्त्री भए पनि आरक्षणको व्यवस्था छैन । अर्कोतिर सहमहामन्त्री आरक्षणतर्फ ८ जना भए पनि खुलातर्फ कोटा छैन । ‘पदाधिकारी थप्दा नेतृत्व विकासको बाटो फराकिलो हुन्छ, प्रतिस्पर्धा पनि धेरै हुन्छ,’ राठोरको भनाइ थियो, ‘त्यसैले पार्टीभित्र सबै पक्षसँग सल्लाह गरेर पदाधिकारी थप्न कन्जुस्याइँ गर्नु हुँदैन ।’

प्रकाशित : मंसिर २३, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?