सबै लड्छु, लड्छु मात्रै भन्छन्, रामचन्द्रजी त पार्टीबाटै अलग हुन्छु भन्‍नुहुन्छ : महत

मंसिर २२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता रामशरण महतले सबै आकांक्षीले आफ्नो दाबीबाट पछि नहट्दा साझा उम्मेदवार छान्न सकस भएको बताएका छन् । बुधबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकबाट बाहिरिने क्रममा नेता महतले सबैले लड्छु लड्छु मात्रै भन्दा समस्या भएको बताए ।

‘कुरा मिलेको छैन, चारजना आकांक्षी हुनुहुन्छ । सबैलाई सभापति चाहिएको छ । सबै म पनि लड्ने, म पनि लड्ने भन्छन्, छोड्दिनँ भन्छन्,’ महतले सञ्चारकर्मीसँग भने, ‘रामचन्द्रजीले तपाईंहरू मिल्नुस्, नभए मलाई सहयोग गर्नुस् भन्नुभएको छ । तर, प्रकाशमानजी पनि लड्ने, शेखरजी पनि लड्ने भन्या छ । सहमति भएको छैन ।’

वरिष्ठ नेता पौडेलले त साझा उम्मेदवार छान्न नसके आफू पार्टीबाटै अलग भएर घरमै बस्ने बताएको उनले सुनाए । ‘रामचन्द्रजीले सबै लड्ने हो भने म छोड्दिन्छु । म घरमै बस्छु, पार्टीबाट अलग हुन्छु । जे सुकै होस् भन्नुभयो । मिलेरै जानुपर्छ भन्ने उहाँको भनाइ छ,’ महतले सुनाए ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully