प्रकाशमान र शेखरले छाडेनन् सभापतिको दाबी, बिहीबार फेरि छलफल

मंसिर २२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबार साँझसम्म साझा उम्मेदवार चयन गर्ने भने पनि आकांक्षीहरूका बीचमा सहमति जुटेको छैन । चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरू साझा उम्मेदवार तयार गर्न नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले सहमति जुटाउन नसकेको हो । नेताहरू बिहीबार बिहान ८ बजे पुनः छलफलमा बस्ने गरी उठेका छन् । 

केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार सभापतिका आकांक्षी नेता प्रकाशमान सिंहले आफैँ सभापतिको उम्मेदवार हुनुपर्ने दाबी छाडेका छैनन् । पौडेल र कोइरालाहरूले भने छलफल गरेर अघि बढ्न सकिने भनेका छन् ।

नेता सिंहले आफ्नो दाबी नछाडेपछि बैठकमा तनावको अवस्थासमेत बनेको थियो । नेता घिमिरेले आकांक्षीहरू बाहेकका केन्द्रीय सदस्यहरू विहीबार विहान छलफलमा बस्ने, त्यो छलफलको निर्णयअनुसार नेताहरूलाई सुझाव दिने, र नेताहरूले निर्णय लिने सहमति भएको बताए ।

‘भोलि बिहान ८ बजे हामी छलफल गर्छौ, त्यहाँ सभापतिका आकांक्षीबाहेकका केन्द्रीय सदस्यहरू हुनुहुनेछ, हामीले एउटा उम्मेदवार बन्ने विषयमा निर्णय गरेर सुझाव दिन्छौँ,’ उनले भने, ‘हामीले आकांक्षीहरूसहित बस्दा खुलस्त छलफल गर्न सकेनौँ । भोलि त्यस्तै छलफल हुन्छ । र एउटा उम्मेदवार छान्ने विषयमा टुंगोमा पुग्छौँ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले मंगलबारै आफूहरू लचिलो हुन तयार रहेको बताएका थिए । तर, नेता सिंह र अर्का आकांक्षी शेखर कोइरालाका बीचमा सहमति हुन सकेको छैन । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully