देउवा समूहको छलफल : प्रदेशगत रुपमा उम्मेदवारको नाम टुंग्याउन निर्देशन

मंसिर २२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेशगत रुपमा उम्मेदवार टुंग्याउन निर्देशन दिएका छन् । आफूनिकट नेताहरूसँग बुढानीलकण्ठस्थित निजी निवासमा बुधबार आयोजित छलफलमा देउवाले आकांक्षीहरुलाई मिलेर आउन भनेका हुन् ।

सभापतिमा जित सुनिश्चित खोजिरहेका देउवाले सहभागीको धारणा बुझेपछि प्रदेशगत रूपमा छुट्टाछुट्टै छलफल गरेर उम्मेदवारको नाम सिफारस गर्न निर्देशन दिएका एक नेताले बताए । सिफारिस भएर आएका नामहरु हेरेर बिहीबार बेलुकासम्म देउवाले आफ्नो समूहबाट उठ्ने उम्मेदवारहरुको नाम घोषणा गर्ने तयारी गरेका छन् ।

देउवाले आफूलाई केन्द्रमा राखेर बुधबारको बैठकमा सभापति कसरी जितिन्छ ? तपाईंलाई किन उम्मेदवार बनाउने भनेर प्रश्न गरेका थिए । पाँच घण्टासम्म भएको छलफलमा आकांक्षीहरु धेरै देखिएका छन् । 

बैठकमा बालकृष्ण खाँण, एनपी साउद र प्रकाशशरण महतले महामन्त्रीमा उठ्ने आकांक्षा देखाएका थिए । यस्तै, महामन्त्रीमा उम्मेदवारी दिने बताउँदै आएका विश्वप्रकाश शर्मालाई भने देउवाले सहमहामन्त्रीको उम्मेदवार बन्न आग्रह गरेका छन् । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully