‘कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन सकेन’

काठमाडौँ — पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताएका छन् । आफूद्वारा लिखित ‘बिपी कोइरालाको आर्थिक विचार’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्व गभर्नर नेपालले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु राम्रो नहुने बताए ।

‘कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन सकेन’

उनले बिपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिष्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको बताए ।

उनले आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा उल्लेख गरेको बताए । उनले भने, ‘म बाध्य किन भएँ भन्दा आजभन्दा ४ वर्षअघि एमालेको सरकारले ७० वर्ष गर्‍यो वृद्धभत्ता । त्यसपछि नेपाली कांग्रेसको सरकारले ६४ बनायो । मैले गएर भने पनि त्यति बेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो । के गरेको यो ? हामी स्पष्ट कहाँ छैनौं ? यो स्थिती ४८ सालदेखि छ । हामी किन स्पष्ट भएनौं ? हामी कसरी फरक त ? जब एमालेले गर्‍यो भनेर त्यसकै पछाडि लाग्ने ? कांग्रेसको एक जमात पनि त्यसले राम्रो गरेको छ भन्ने, फेरि कांग्रेस पनि त्यसले गरेको कुरा फलो गर्दै जाने । के अर्थ छ यसको ? ’

उनले भने, ‘कुन रुपमा, आर्थिक दृष्टिकोणमा, प्रजातान्त्रिक दृष्टिकोणमा कसरी फरक भनेर हिजोको दिनमा विश्वेश्वरप्रसाद कोइरालाले त्यसरी स्पष्ट देखाएर हिँडेको पार्टी आज हामी कम्युनिष्ट भन्दा पनि फरक हुन सकेनौं । तानाशाही भन्दा पनि फरक हुन सकेनौं । झनै फलो गर्दै उनीहरुको काम गर्दै गयौं । विश्वमै चर्चित सोच भएर ख्याति कमाएको मानिसले सिर्जना गरेको पार्टीमा अहिले विचारै छैन । न आर्थिक विचार छ न प्रजातान्त्रिक विचार ।’

कार्यक्रममा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताए । उनले पुस्तकमा भनेका बीपीका कुराहरु अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको बताए । सांसद चौधरीले बिपीजस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको बताउनु भयो ।

प्रकाशित : मंसिर २२, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?