काठमाडौँ — नेपाली कांग्रेसको आसन्न १४ औं केन्द्रीय महाधिवेशन अन्तिम चरणमा पुगेको बताइएको छ । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १४ औं केन्द्रीय महाधिवेशन अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताए । प्रवक्ता शर्माले प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए ।
केन्द्रीय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका काम तीव्रताका साथ अघि बढाइएको प्रवक्ता शर्माले जानकारी दिए । महाधिवेशनको स्वागतद्वार र श्रृंगारका लागि नेपाली कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई संयोजक बनाइएको उनको भनाइ छ ।
प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशनको अन्तिम चरणमा छौं । नेपाली कांग्रेस पार्टीको संगठनको ८ वटा चरण छ, टोलदेखि केन्द्रसम्म । त्यसमा ७ वटा तहको निर्वाचनको प्रक्रिया हुन्छ । वडादेखि लिएर प्रदेश अधिवेशनसम्म आउँदा ६ वटा तह सकिएको छ । प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक ती विषयलाई महाधिवेशनपछि हुने कुरा थाती राखेर अब हामी केन्द्रीय अधिवेशनतर्फ केन्द्रित छौं ।'
यसैबीच महाधिवेशनमा भाग लिन देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू आउने क्रम सुरु भइसकेको प्रवक्ता शर्माले बताए । प्रवक्ता शर्माले कोरोनाभाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरिएन्टले बढाउनसक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्क अनिवार्य गरेको पनि बताए । उनले अन्य प्रकारका रोगका लागि पनि महाधिवेशनस्थलमै हेल्थडेस्क स्थापना गरिने जानकारी दिए ।
‘स्वास्थ्य समितिका संयोजक मोहनबहादुर बस्नेत हुनुहुन्छ । उहाँले हिजोको बैठकमा पेश गर्दैगर्दा ओमिक्रोन आइसक्यो, पहिलादेखि नै कोरोनाको जोखिम कायमै रहेको छ । त्यसलाई दृष्टिगत गरेर स्यानिटाइजर, मास्कलाई अनिवार्य गराउने, फील्डमा नै एन्टिजेन परीक्षण गर्ने व्यवस्था, अन्य सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड, अन्य प्रकारका रोगको लागि पनि हेल्थडेस्क, यी सबै कुराको व्यवस्थापन गरिएको छ,' प्रवक्ता शर्माले भने ।
प्रवक्ता शर्माले डिजिटल भोटिङको व्यवस्था गर्ने प्रस्ताव आएको पनि अब ढिलो भइसकेको भन्दै अबको दुई दिनमा पदाधिकारी र केन्द्रीय समितिको बैठक बसेर पहिलेकै व्यवस्था अनुसार वा डिजिटलबाट भोट गर्ने निर्णय गर्ने बताए । उनले यसपटक मतदाताको संख्या धेरै रहेकोले मत व्यक्त गर्न एक घण्टाको समय लाग्ने बताए ।
