काठमाडौँ — कांग्रेस नेता जीवन परियारले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले १४ औं महाधिवेशनमा संस्थापन इत्तर पक्षबाट समावेशी दलिततर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कांग्रेसले यसपटकदेखि समावेशी समूह अन्तर्गत खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १–१ जना सहमहामन्त्री चुन्ने व्यवस्था गरेको छ । १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका परियारले मंगलबार पत्रकार सम्मेलन गर्दै यो महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।
सहमहामन्त्रीमा संस्थापन इत्तर पक्षमा उनी एक्ला दाबेदार हुन् । नेपाल दलित संघको दुई पटक महामन्त्री भएका परियार संविधानसभा सदस्य हुन् । विद्यालय तहदेखि नै नेविसंघको राजनीति गरेर आएका परियारले १४ औं महाधिवेशनबाट नागरिकको विकासको सपनालाई पूरा गर्न नेतृत्व चयन गरेर अघि बढ्नुपर्ने बताए ।
‘हाम्रो आसन्नमै तीन तहको निर्वाचन छ, कांग्रेसले ती निर्वाचनमा विजयी हुने कुरामात्रै मुख्य होइन, अब दशकौँदेखि नेपाली जनताले देखेका विकासका सपना पूरा गर्नुपर्छ,’ उनले भने, ‘विकास भनेको पूर्वाधारमात्रै होइन, सामाजिक सांस्कृतिक जीवनमा पनि रुपान्तरण आउनुपर्छ ।’
उनले दलित समुदायले नेपाली राजनीतिक परिवर्तनका लागि भएका सबैजसो क्रान्तिहरूमा उल्लेख्य योगदान गरेपनि त्यो समुदायले अपेक्षाकृत न्याय नपाएको बताए । समावेशी दलिततर्फ सहमहामन्त्री पदमा संस्थापन पक्षबाट मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा पनि आकांक्षी छन् ।
