म सभापति बन्ने समय आएको छ : सिंह

मंसिर २१, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापति बन्ने समय आएको बताएका छन् । उनले पार्टीमा प्राप्त गरेको अनुभवका आधारमा स्वाभाविक उम्मेदवार भएको पनि बताएका छन् ।

१४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका सिंहले मंगलबार महाधिवेशन लक्षित सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा साधारण कार्यकर्ता हुँदै उपसभापतिसम्म भएकाले आफू स्वाभाविक उम्मेदवार भएको बताएका हुन् । 

कांग्रेसको विद्यार्थी संगठन, काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति भइसकेकाले आफू स्वाभाविक उम्मेदवार भएको सिंहको भनाइ थियो । 'म नेचुरल क्यान्डिडेट (स्वाभाविक उम्मेदवार) हुँ । म सामान्य कार्यकर्तादेखि लिएर विभिन्न पदमा बसेर, लामो समयसम्म पार्टिको विभिन्न जिम्मेवारी बहन गरिसकेको छु । मेरो लामो अनुभव भएको कारणले गर्दा र म पार्टीको केन्द्रीय उपसभापति र महामन्त्री भइसकेकोले अब समय आएको छ,' उनले भने, 'मैले प्राप्त गरेका अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्यालाई विधिवत तरिकाबाट सामना गर्न सक्ने पार्टीको रूपमा मेरो अनुभवबाट सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने क्षमता भएको हुनाले मेरो नाममा सहमति आउँछ जस्तो लाग्छ ।’

संस्थापन इतर समूहबाट आफू साझा उम्मेदवार बन्ने सिंहको भनाइ थियो । महाधिवेशन लक्षित सम्पर्क कार्यालय खोलेबाटै आफू सभापतिमा उम्मेदवार बन्न कति दृढ हो भन्ने कुरा बुझ्न उनले आग्रह गरेका थिए । उनले आफूहरू एउटामात्र उम्मेदवार तय गर्नका लागि निरन्तर छलफलमा रहेको पनि जानकारी दिए । उनले मंगलबार दिउँसो १ बजे आफ्नो निवास चाक्सीबारीमा रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइरालालगायतका नेताहरूको छलफल आयोजना गरिएको पनि जानकारी दिए ।

एउटा मात्रै उम्मेदवार तय गर्नका लागि सजिलो नभएकाले सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियामा सबै नेताहरू जानुपर्ने उनको भनाइ थियो । 'साझा उम्मेदवार बनाउनका लागि प्रयास जारी रहेको छ । भएन भने लोकतान्त्रिक पार्टी हो, स्वच्छ प्रतिस्पर्धा गर्नेबाहेक के उपाय हुन सक्छ र !,' उनले भने । 

बिहान ८ बजेदेखि साँझ सम्म नै आफ्नो सम्पर्क कार्यालय खुला रहने सिंहले बताए । देशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूसँग सभापतिको उम्मेदवारलाई भेट्न सहज होस् भनेर कार्यालय खोलेको उनको भनाइ थियो । सम्पर्क कार्यालय उद्घाटनमा सिंह निकट नेताहरूको उपपस्थिति थियो । कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully