२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००
कांग्रेस महाधिवेशन

देउवालाई सिटौलाको भर

कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेस राजनीतिको अंकगणितमा नेता कृष्णप्रसाद सिटौला निर्णायक बनेका छन् । ६ वटा प्रदेश अधिवेशनको नतिजाले आफैं नेतृत्वमा पुग्न सक्ने अवस्था नभए पनि उनीसँग भएको मत नेतृत्व चयनमा निर्णायक बन्ने देखाएको छ । ६ प्रदेशमध्ये प्रदेश १ मा उनको समूहका उद्धव थापा सभापति निर्वाचित भएका छन् ।

देउवालाई सिटौलाको भर

कोइराला समूहको परम्परागत गढ मानिने प्रदेश १ मा उनले आफ्नो गृहजिल्लाका थापालाई सभापति बनाउन संस्थापन समूहको साथ लिए । वाग्मतीमा भने उनले संस्थापन समूहसँग भएको सहमतिविपरीत भीमसेनदास प्रधानलाई सभापतिमा उठाए । निर्वाचनमा

आफ्नो शक्ति परीक्षण गरेपछि दोस्रो चरणमा संस्थापन समूहका इन्द्रबहादुर बानियाँलाई समर्थन गर्दै सभापति जिताए । झापा, बागलुङ, गोर्खासहित कम्तीमा पाँच जिल्लामा सिटौला पक्षका सभापति चुनिएका उनको समूहका नेता प्रदीप पौडेलको दाबी छ । ‘हामी अघिल्लो महाधिवेशनभन्दा बढी प्रतिनिधिसहित थप बलियो भएका छौं,’ पौडेलले भने, ‘कहाँबाट कति संख्यामा प्रतिनिधि आए भन्नेबारे जोडघटाउ गरिरहेका छौं ।’

सिटौलाले १३ औं महाधिवेशनमा ३ सय २४ (खसेको मतको १० प्रतिशत) मत ल्याएका थिए । तत्कालीन संस्थापन समूहमा रहेका उनको उम्मेदवारीले शेरबहादुर देउवा र रामचन्द्र पौडेल (संस्थापन समूह) लाई पहिलो चरणमा निर्वाचित हुनबाट रोकेको थियो । दोस्रो चरणमा उनको सहयोगबाट देउवा सभापति निर्वाचित भएका थिए । त्यही निर्णायक मतका आधारमा सिटौलाले पार्टीभित्र आफ्नो समूहलाई मजबुत बनाउँदै लगे ।

सिटौलाले नेविसंघ, तरुण दल र महिला संघमा नेतृत्व देउवा पक्षलाई दिएर आफ्नो समूहका नेतालाई पदाधिकारीमा स्थापित गरे । ट्रेड युनियन कांग्रेस, शिक्षक संघ, निजामती कर्मचारी संघ, नेपाल निर्माण मजदुर संघ र यातायात मजदुर संघमा भने पौडेललाई समर्थन गरेर देउवा पक्षलाई हराए । ‘उहाँले कुनै एक पक्षसँग मिलेर नेतृत्व नपाए पनि च्याखे दाउ थापेर शक्ति बढाउँदै लगेको कुरा नकार्न सकिँदैन,’ देउवापक्षीय एक नेता भन्छन्, ‘मान्छे स्वाभाविक रूपमा जहाँ अवसर पाइन्छ त्यहीं जान्छ, सिटौलाले यो रणनीतिलाई सही रूपमा सदुपयोग गर्नुभयो, यसले गर्दा आफ्नो समूहलाई थप सशक्त बनायो ।’

१३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री उम्मेदवार बनेका गगन थापाले पछिल्लो समय उनको साथ छाडे । यसले गर्दा सिटौला समूह कमजोर भएको आकलन गरिएको थियो तर उनले काठमाडौंको निर्वाचनमा संस्थापन समूहसँग मिलेर तिनै थापा (प्रकाशमान सिंहसमेत) विरुद्ध नयाँ समीकरण निर्माण गरे । उनले पालिकामा बनेको संस्थापनसँगको समीकरणलाई प्रदेश निर्वाचनसम्म मात्र पुर्‍याएनन्, प्रदेश १ मा सभापति जित्दै वाग्मतीमा निर्णायक हैसियतसहित आफू शक्तिशाली भएको सन्देश दिए ।

प्रदेश निर्वाचनको नतिजा केलाउँदा संस्थापन–सिटौला समूह स्पष्ट बहुमतमा देखिएको छ । ६ वटा प्रदेशमा कुल ८ हजार १ सय ७१ मत सदर भएकामा संस्थापन–सिटौला समूहका सभापतिले ४ हजार ३ सय ३४ र संस्थापनइतर समूहका सभापतिले ३ हजार ८ सय ३० मत ल्याएका छन् । विमलेन्द्र निधि समूहले ७ मत ल्याएको छ । प्रदेश २ का २७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाममा संस्थापन समूह बलियो देखिएको छ । ‘सिटौला समूहसँग मिल्यो भने पहिलो चरणमै जित्ने हाम्रो अनुमान छ,’ देउवानिकट एक नेताले भने, ‘तर सिटौलाजीको च्याँखे थाप्ने र चर्को बार्गेनिङ गर्ने राजनीतिले शेरबहादुर (देउवा) दाइ आजित भइसक्नुभएको छ, त्यसैले प्रदेशसम्म आइपुगेको समीकरण महाधिवेशनमा के हुन्छ भन्न सकिने अवस्था छैन ।’

सिटौलाको भित्री चाहना आफू देउवाको टिमबाट उपसभापति बनेर आफ्नो टिमका नेताहरूलाई पदाधिकारी र केन्द्रीय सदस्यमा व्यवस्थापन गर्ने हो । तर, देउवालाई दबाबमा पार्दै बार्गेनिङको थप शक्ति आर्जन गर्न सभापतिमा लड्ने बताइरहेका छन् ।

सिटौला समूहमा अहिले पौडेलसहित उमाकान्त चौधरी, भीमसेनदास प्रधान, उद्धव थापा, सुधीर शिवाकोटी, शिवप्रसाद हुमागाईंलगायत नेता छन् । उनी कम्तीमा पौडेल र चौधरीलाई पदाधिकारीसहित आफूनिकट अन्य नेतालाई केन्द्रीय समितिमा पुर्‍याउन चाहन्छन् ।

यसका लागि उनी सभापतिमा लड्नु घातक हुनेछ । सभापतिमा लड्दा देउवा वा अर्को समूहको उम्मेदवारलाई पहिलो चरणमा जित्नबाट रोकेर आगामी राजनीतिमा थप निर्णायक हैसियत बन्ने अवस्था देखिए पनि समूहका नेताहरू पदाधिकारी बन्नबाट वञ्चित हुनेछन् ।

देउवाको रणनीति भने संस्थापनबाहेक (पौडेल, कोइराला, सिंह) समूहलाई मिल्न नदिने र सिटौला वा अर्को कुनै प्रभावशाली नेतालाई आफूतिर तान्ने छ । प्रदेशसम्म सिटौलासँग समीकरण गरे पनि केन्द्रमा भने समीकरणमा जोडिने नेतालाई सक्दो थोरै भाग दिने देउवाको रणनीति छ । यसका लागि उनले गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणलाई देशभरको अवस्था (सूचना) बुझ्ने र महामन्त्री पूर्णबहादुर खड्कालाई चुनावी रणनीति र समीकरण निर्माण गर्ने जिम्मा दिएका छन् । देउवाले सिटौलाका साथै प्रकाशमान सिंह र शशांक कोइरालालाई पनि आफूतिर तान्ने प्रयास जारी राखेको उनले बताए ।

नेतृत्वका आकांक्षी निराश

सिटौलाले दुइटा प्रदेश (वाग्मती र प्रदेश १) मा प्रभावशाली उपस्थिति जनाउँदा सभापतिमा उम्मेदवारी घोषणा गरेका प्रकाशमान सिंह र शेखर कोइराला भने निराश बनेका छन् । कोइरालाको गृहप्रदेशमा उनीनिकट गुरुराज घिमिरे झिनो मतले पराजित भए । सिंहको गृहप्रदेश वाग्मतीमा पनि उनले समर्थन गरेका उम्मेदवार जगदीशनरसिंह केसीले दोस्रो चरणमा पुगेर हार व्यहोरे ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेताहरूलाई आफ्नो क्षेत्रमा चुनाव हार्दा मनोवैज्ञानिक रूपमा कमजोर बनाए पनि उक्त परिणामलाई ‘नोटिस’ मा लिने कि नलिने भन्ने महत्त्वपूर्ण पक्षले प्रभाव पार्ने बताए । १३ औं महाधिवेशनमा ४९ जना जिल्ला सभापति रामचन्द्र पौडेलको पक्षमा उभिँदासमेत २६ जिल्ला सभापतिको समर्थन पाएका देउवाले नेतृत्व हात पारेको दृष्टान्त उनले सुनाए ।

संस्थापन समूहमा पनि महामन्त्रीका दाबेदार रहेका गृहमन्त्री खाँण र पूर्वउपसभापति गोपालमान श्रेष्ठ प्रदेशमा पराजय व्यहोर्दा निराश छन् । कर्णालीमा संस्थापन समूहको संयोजन गरेका महामन्त्री पूर्णबहादुर खड्का र वाग्मतीमा संयोजन गरेका सहमहामन्त्री प्रकाशशरण महत भने उत्साही छन् ।

प्रदेश २ अधिवेशन महाधिवेशनपछि

प्रदेश नम्बर २ मा महाधिवेशनपछि प्रदेश अधिवेशन हुने भएको छ । त्यहाँ सर्लाहीका ४ निर्वाचन क्षेत्रमा अझै क्षेत्रीय अधिवेशन हुन सकेको छैन । केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले महाधिवेशनअघि बाँकी रहेका सबै क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र जिल्ला तथा प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित : मंसिर २१, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?