सबै राष्ट्रिय दललाई निम्तो, बीजेपी र भारतीय कांग्रेस आउने पक्का- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

सबै राष्ट्रिय दललाई निम्तो, बीजेपी र भारतीय कांग्रेस आउने पक्का

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले महाधिवेशनमा देशभित्रका सबै राष्ट्रिय राजनीतिक दलहरूलाई निम्तो गरेको छ । आगामी शुक्रबारदेखि हुने महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसले देशी र विदेशी विभिन्न राजनीतिक दलहरूलाई निमन्त्रणा गरेको हो ।

सहमहामन्त्री प्रकाशशरण महतले राष्ट्रिय दलको मान्यता पाएका सबै दलहरूलाई निम्तो गरिएको जानकारी दिए ।

‘सबै राष्ट्रिय दलका प्रमुखहरूलाई बोलाएका छौं’ महाधिवेशनकालागि गठित विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका महतले इकान्तिपुरसँग भने, ‘विदेशी पाहुनाहरूको पनि टुंगो लाग्दैछ । निम्तो त धेरैलाई पठाएका छौं। तर, आउने निश्चित भएको छैन ।’

उनले भारतीय जनता पार्टी (बीजेपी) र भारतीय राष्ट्रिय कांग्रेसले आउने सन्देश पठाएका छन् । लामो समय भारतको शासन सत्ता सम्हालेको भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता महाधिवेशनमा आउने भएका छन् ।

‘कोभिडको नयाँ भेरियन्ट आएको छ, त्यसैको प्रभावले धेरै पाहुनाहरू आउन सक्ने अवस्था छैन, जोखिम छ,’ उनले भने ।

कांग्रेसले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत राजनीतिक दलहरूलाई महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिएको छ ।

कांग्रेस महाधिवेशनको उद्घाटन सत्र आगामी शुक्रबार दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

प्रकाशित : मंसिर २०, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्

दुबई घुम्न जाँदै गरेका ७६ नेपालीलाई मध्यरातमा विमानस्थलबाट फर्काइयो 

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमको विमानबाट आइतबार राति काठमाडौंबाट दुबई घुम्न जाँदै गरेका यात्रुको भिजिट भिसामा शंका गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ललितपुरको एक सहकारीका ७६ जना शेयर सदस्यहरूलाई मध्यरातमा अफलोड गरिदिएको छ ।

जाउलाखेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारीको ७६ जनाको समूहलाई जहाज चढ्नुअघि अध्यागन कार्यालयले फर्काइदिएको हो । उनीहरू राति साढे ११ बजे दुबईका लागि उड्दै थिए । उक्त सहकारीका सचिव विजय शर्माका अनुसार उनीहरू सबैजना चार दिनका लागि दुबई एक्स्पोमा भाग लिन काठमाडौंबाट जाँदै थिए ।

‘हाम्रो समूहमा करिब ७० प्रतिशत ४० वर्षमाथिका महिला शेयर सदस्य थिए,’ शर्माले भने, ‘अध्यागमनका कर्मचारीले माथिको आदेश भन्दै अध्यागमन कार्यालयमा जाँचपास लिइसकेका र नलिएका सबैलाई फर्काए ।’

उनका अनुसार यी यात्रुहरू जनही १ लाख ७ हजार रूपैयाँको टुर प्याकेज किनेर दुबई जाँदै थिए । कालिकास्थानस्थित अध्यागन विभागले ललितपुर महानगरपालिकाको नियमनभित्र पर्ने यो सहकारीका सदस्यहरूले भ्रमण सम्बन्धी कागजपत्र पूरा नभएकाले राति फर्काउनु परेको जनाएको छ । ‘समूहमा सहकारीका तर्फबाट विदेश जाँदै गरेको एउटै समूह रहेछ’, विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले कान्तिपुरसँग भने, ‘विमानस्थलमा रहेका अध्यागन कार्यालयका कर्मचारीले आधिकारिक निकायको चिठ्ठी माग्दो रहेनछ । त्यसैले अफलोड गर्नुपर्‍यो ।’

अध्यागमले महानगरले अनुमति दिएको पत्र मागेको थियो । तर शुभेक्षा बहुउदेश्यीय सहकारीका अध्यक्षसहितका पदाधिकारीले जमानत बस्ने, अरु कागजात राख्ने, लगायत जुनसुकै लिखित प्रतिवद्धता दिन तयार रहँदा पनि महिलाहरू भएकै कारण रोकिदिएको बताए ।

विमानस्थलमा रहेको निगम कार्यालयका कर्मचारीका अनुसार अध्यागनले जान नदिने भएपछि करिब १ घन्टा ती यात्रुहरूले अध्यागमन डेस्कअघि नाराबाजीसमेत गरेका थिए । यस घटनाका कारण निगमको न्यारोबडी विमान ७२ जना यात्रु मात्रै लिई राति साढे १ बजे दुबई उडेको थियो । जहाजभित्र राखिसकेका ती यात्रुका लगेज फेरि निकाल्दा करिब २ घन्टा लागेको थियो । दुबई जान नपाएकाहरू राति साढे १ बजे १७ वटा ट्याक्सी र एउटा बसमा विमानस्थलबाट घर फर्किएको सहकारीका सचिव शर्माले बताए ।

‘फर्काइएका ७६ मध्ये आधा यात्रुले बोर्डिङ पास लिई डिपार्चर गेटमा जहाज चढ्ने पालो पर्खिरहेका थिए,’ यस घटनाका एक प्रत्यक्षदर्शीले भने, ‘अधिकांश ललितपुरकै स्थानीय थिए । भिजिट भिसामा उतै हराउँछन् वा अन्य मुलुक भासिन्छन् भन्ने आशंकामा अध्यागनका कर्मचारीले रोकेको हुनसक्छ ।’ निगमको यात्रु सेवा विभागका एक कर्मचारीका अनुसार ती यात्रुको खानासहित करिब ७० लाख रूपैयाँ निगमले घाटा ब्यहोरेको छ । आइतबार मध्यरातको यो घटनाको सोमबार कालिकास्थानस्थित अध्यागन विभाग र पर्यटन मन्त्रालयमा उजुरी परेको थियो ।

कालिकास्थान पुगेका यात्रुलाई महानिर्देशक भट्टराईले सहकारीको उद्देश्य पूरा गर्न विदेश भम्रण जानुपर्ने कारण खुलाई पत्र मागिएको बताए । ‘एउटा सहकारीको कार्यक्रममा यति धेरै मानिस विदेश जानुपर्ने एबनर्मल घटना हो । महानगरले पत्र लेखिदिन्छ भने हामी छाडिदिन्छौं ।’ अब यी यात्रुले पुन टिकट लिन १० हजार हाराहारी अतिरिक्त शुल्क तिर्नुपर्छ । यदी उनीहरूले यात्रा रद्द गर्नुपर्ने भए निगमले क्यान्सिलेसन चार्ज लिई रकम फिर्ता दिनुपर्छ । ती यात्रुले फेरि दुवै मुलुकले जारी गरेका स्वास्थ्य प्रोटोकल, पीसीआर गर्नुपर्ने लगायत काम गर्नुपर्ने हुन्छ ।

दुबईका लागि सबैको डेढ महिनाको भिसा भएको बताउँदै सचिव शर्माले दुबईमा होटल बुकिङ तथा एक्स्पोको टिकट पनि खरिद भइसकेकाले यात्रा रद्द गर्ने वा नगर्नेबारे निर्णय भइनसकेको बताए ।

प्रकाशित : मंसिर २०, २०७८ २०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×