कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
कांग्रेस महाधिवेशन

देउवा–सिटौला गठजोड केन्द्रसम्मै !

अहिले वडादेखि प्रदेशसम्म पनि देउवा–सिटौलाबीच गठजोड कायम रह्यो । बागमती र प्रदेश १ मा निर्णायक बनेको सिटौला पक्ष केन्द्रमा पनि फेरि निर्णायक बन्न सक्ने देखिएको छ
प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसले प्रदेश–२ बाहेकका छ वटा प्रदेशमा पहिलो नेतृत्व चयन गरेको छ । ‘मिनि–महाधिवेशन’का रुपमा हेरिएका प्रदेश अधिवेशनले केन्द्रीय महाधिवेशनको झल्को दिएका छन् । प्यानल प्रतिस्पर्धा, भड्किलो प्रचार र अनौठा समीकरणले प्रदेश अधिवेशन झन् रोचक बनेका छन् ।

देउवा–सिटौला गठजोड केन्द्रसम्मै !

प्रदेश अधिवेशनको परिणामले सभापतिमा दोहोरिन चाहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो शक्ति अझै बढाउनुपर्ने देखाएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको इत्तर समूहले पार्टीको नेतृत्वमा आउन संस्थापन इत्तर पक्षमा बृहत्तर एकता कायम गर्न सक्नुपर्ने देखिएको छ ।

पहिलो पटक भएको प्रदेश अधिवेशनमा देउवा पक्षले सुदुरपश्चिम र कर्णाली प्रदेशमा एकलौटी नेतृत्व हात पारेको छ । प्रदेश १ र बागमतीमा नेता कृष्णप्रसाद सिटौला पक्षसँगको तालमेल फलदायी बनेको छ । गण्डकी र लुम्बिनीमा भने सभापतिका आकांक्षीहरू पौडेल, शशांक–शेखर कोइराला र प्रकाशमान सिंह समूहले जमाएको छ । समग्रमा देउवा–सिटौला गठजोडले चार प्रदेश जितेका छन् भने पौडेल–कोइराला–सिंह समूह दुई प्रदेशमा सीमित बनेको छ ।

सुदुरपश्चिम र कर्णाली प्रदेशमा वर्चस्व जमाएका देउवाले प्रदेश १ र गण्डकीमा सिटौला पक्षसँग गठजोड गरेका थिए । काठमाडौंका स्थानीय तह, क्षेत्र र जिल्लामा देखिएको देउवा–सिटौला गठबन्धन बागमती प्रदेशमा पुगेर सफल बनेको छ । उता, प्रदेश १ मा देउवाले आफ्नो उम्मेदवार नै खडा नगरी सिटौलालाई सहयोग गरेका छन् । तल्ला तहमा सामान्यझैं देखिएको देउवा–सिटौला गठजोडले प्रदेश अधिवेशनमा भने १३ औं महाधिवेशनको झल्को गरायो ।

पटक–पटक प्रधानमन्त्री भएपनि सिंगो कांग्रेसको सभापति बन्न नसकेका देउवालाई १३ औं महाधिवेशनमा सिटौलाले ‘सञ्जिवनी बुटी’ बनेका थिए । सिटौलाले पौडेल समूह इत्तर बसेर सभापतिमा उम्मेद्वारी दिएका थिए । त्यही कारण देउवालाई जित्न सहज भएको थियो । त्यसयता देउवाको कार्यकालभरि आफ्नो हिस्सा सुरक्षित गर्न सकेका सिटौलाले १४ औं महाधिवेशनमा पनि फेरि त्यस्तै शक्ति हासिल गरेका छन् । १३ औं महाधिवेशनमा बनेको देउवा–सिटौलाबीचको त्यो गठजोड यसपटक वडादेखि प्रदेशसम्म पनि कायम रह्यो । र, त्यसले देउवा–सिटौला दुवैलाई लाभ दिएको छ । देउवासँगको बार्गेनिङमा सिटौलाले प्रदेशको नेतृत्व नै हात पारेका छन्, बागमतीमा देउवाका लागि सिटौला ‘बैसाखी’ बनेका छन् ।

देउवाको पुरै कार्यकालभरि कहिले देउवातिर, त कहिले पौडेलतिर सहकार्य गर्दै आएका सिटौलाले पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा फेरि निर्णायक शक्ति प्रदर्शन गरेका छन् । देउवाविरुद्ध पौडेल समूहले साझा उम्मेदवारीको होमवर्क गरिरहेका बेला अब केन्द्रीय महाधिवेशनमा पनि सिटौला जता उभिन्छन्, त्यतै पल्लाभारी हुन सक्ने देखिएको छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सिटौलाले देउवासँग गठजोड गर्ने वा नगर्ने भन्ने विषयले पार्टीको आन्तरिक शक्ति संघर्षमा निर्णायक भूमिका खेल्ने बताउँछन् । ‘संख्या त थोरै नै हो । तर, इत्तर पक्षको एकता भएकै अवस्थामा पनि सिटौलाको त्यो सानो संख्या फेरि पनि निर्णायक हुनसक्छ,’ उनले भने ।

त्यसो कांग्रेसवृत्तमा चर्चा चलिसकेको छ कि देउवाले सिटौलालाई आफ्नो टिमबाट उम्मेदवार नै बन्न प्रस्ताव गरिसकेका छन् । तर सिटौला आफैंले भने त्यसबारे मुख खोलेका छैनन् ।

१३ औं महाधिवेशनमा सिटौलाको शक्तिको प्रमुख स्रोत थिए, युवा नेता गगन थापा । तर, अब थापा उनीसँग छैनन् । थापाले छाडेपछि सिटौला कमजोर बन्ने र दुईमध्ये कुनै गुटमा विलिन हुने धेरैको अनुमान थियो । तर, सिटौलाले पार्टीभित्र आफ्नो अस्तित्व जोगाउन सफल नै भएका छन् । वर्तमान मन्त्रिपरिषद्मै पनि उनीनिकट नेता उमाकान्त चौधरी खानेपानीमन्त्री छन् । केन्द्रीय समितिमा प्रदीप पौडेल, शिव हुमागाईं लगायत नेताहरू उनीनिकट छन् । देउवासँग हिमचिम भएपनि काठमाडौंका नेता भीमसेनदान प्रधान फेरि पनि सिटौलासँगै उभिएका छन् ।

सिटौलाले आफूनिकटहरूसँग आन्तरिक समीकरण हेरेर मात्रै उम्मेदवारी दिने वा नदिने भन्नेबारे निष्कर्षमा पुग्ने बताएका छन् । ‘प्रदेश १ मा संस्थापनको सहयोगमा हाम्रो उम्मेदवारले जित्नुभयो, बागमतीमा दोस्रो चरणमा हामीले सघायौं । तर, त्यो समीकरण पहिलो चरणमै भएको भएपनि हुन्थ्यो,’ उनीनिकट केन्द्रीय सदस्य भन्छन्, ‘हामीले आन्तरिक समीकरणहरू कसरी बन्छन् ? त्यो हेरिरहेका छौं । सिटौला दाइले उठ्ने वा नउठ्ने केही भन्नुभएको छैन ।’ ती नेताले अझै केही दिनपछि मात्रै त्यसबारे टुंगो लाग्ने बताए ।

अर्का एक केन्द्रीय सदस्यले भने सिटौलाले यसपटक देउवालाई पहिलो चरणमै सघाउने दाबी गरे । ‘तलदेखि केन्द्रसम्मै सहकार्यको सहमति भएको छ, उहाँ (सिटौला) ले यसपटक पहिलो चरणमै देउवाजीलाई सघाउनुहुन्छ,’ ती नेताले इकान्तिपुरसँग भने, ‘समीकरण बनाउँदा तालमेल हुन्छ ।’ यसअघि सिटौला समूहबाट केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

राजनीतिक विश्लेषक आचार्य प्रदेश अधिवेशनबाट देउवा–सिटौला समीकरणले निरन्तरता पाउने संकेत मिलेको बताउँछन् । ‘उहाँहरूको समीकरण १३ औं महाधिवेशनदेखिकै हो । त्यो अहिले प्रदेश अधिवेशनमा मात्रै होइन, तल्ला तहका अधिवेशनमा पनि देखियो,’ आचार्यले भने, ‘यो गठजोड केन्द्रीय महाधिवेशनमा पनि हुन सक्ने देखिन्छ ।’

प्रदेशको अधिवेशनले दुई वटा सन्देश दिएको आचार्य बताउँछन् । ‘पहिलो, संघीयता कार्यान्वयनमा कांग्रेसको प्रतिवद्धता ढिलो भएपनि पूरा भयो । अर्को भनेको राजनीतिक शक्तिको कुरा हो, त्यो भनेको प्रदेश अधिवेशनको नतिजाले केन्द्रलाई पुर्‍याउने प्रभाव हो,’ उनले भने, ‘प्रदेश र केन्द्रका मतदाता अलग–अलग हुन्छन्, त्यसैले प्रदेशकै आधारमा केन्द्रको अनुमान लगाइहाल्नु पनि गलत हुन्छ ।’

कुन प्रदेशमा को ?

सुदुरपश्चिममा देउवानिकट पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य वीरबहादुर बलायर प्रदेश सभापतिमा निर्वाचित भएका छन् । उनले पौडेल समूहका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय बढी मतले पराजित गरे । यो देउवाको गृहप्रदेश हो । गृहजिल्ला डडेलधुरामै देउवाविरुद्ध आवाज उठेपछि सुदुरपश्चिममा देउवाको जनमत कमजोर बनेको कांग्रेसवृत्तको बुझाई थियो । देउवाले प्रदेश अधिवेशनबाट त्यसलाई चिरेका छन् । बलायरले ६८८ मत पाए भने मिश्रले २८० मतमात्रै ल्याए । यहाँ १००३ मत खसेको थियो । डोटीबाट पटक–पटक चुनाव लडेका बलायर ०७० को संविधानसभा सदस्यमा निर्वाचित थिए । त्यसबेला उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए ।

कर्णालीमा महामन्त्री पूर्णबहादुर खड्कानिकट ललितजंग शाहीले सभापति जितेका छन् । क्षेत्र र जिल्ला अधिवेशनदेखि नै कर्णालीलाई ध्यान दिएका खड्काले प्रदेश अधिवेशनमा आफूनिकट शाहीलाई जिताएका हुन् । शाहीले पौडेल समूहका उम्मेदवार भुपेन्द्रजंग शाहीलाई १०५ मतले पराजित गरे । जुम्लाका नेता शाही संविधानसभाका सदस्य हुन् । उनले ४२२ मत पाए भने अर्का प्रत्यासी शाहीले ३१७ मत ल्याए । उपसभापति विमलेन्द्र निधिका उम्मेदवार मोतिराज बमले ७ मत पाए ।

लुम्बिनी प्रदेशमा भने पौडेल समूहका उम्मेदवार अमरसिंह पुन प्रदेश सभापतिमा निर्वाचित भए । पुनले देउवा पक्षका प्रत्यासी भरतकुमार शाहलाई ८५ मतले पराजित गरेका हुन् । कोइराला परिवारसँग निकट मानिने पुन रोल्पाका पूर्वजिल्ला सभापति हुन् । उनले ८५२ मत पाए भने शाहले ७६७ मत ल्याए । शाह प्रतिनिधिसभा सदस्य एवं सार्वजनिक लेखा समितिका सदस्य हुन् ।

गण्डकी प्रदेशमा पौडेल समूहका शुक्रराज शर्मा निर्वाचित भएका छन् । यो पौडेलको आफ्नो प्रदेश हो भने गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नै पौडेल समूहका नेता हुन् । यहाँ देउवा पक्षका अर्जुनप्रसाद जोशी ८४ मतले पराजित भए । विजयी कास्कीका पूर्वजिल्ला सभापति रहेका शर्माले ६१२ मत पाए भने केन्द्रीय सदस्य रहेका जोशीले ५२८ मत पाए । गण्डकीको अधिवेशनमा नेता पौडेल र महामन्त्री शशांक कोइराला आफैं मैदानमा थिए ।

बागमती प्रदेश सभापतिमा देउवानिकट इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । उनले पौडेल पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई १५८ मतले पराजित गरे । यहाँ सिटौला पक्षले देउवा पक्षलाई समर्थन गरेको थियो । पहिलो चरणमा सिटौलानिकट भीमसेनदास प्रधानसमेत प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा प्रधानले बानियाँलाई समर्थन गरे । बानियाँले १०८५ मत पाए भने केसीले ९२७ मत प्राप्त गरे ।

प्रदेश १ मा निर्वाचन समितिले परिणाम घोषणा गरेको छैन । तर, गणना सकिँदा २ मतले पौडेल समूहका उम्मेदवार गुरुराज घिमिरे पराजित भएका छन् । सभापतिका आकांक्षी शेखर कोइरालाको गृहनगर विराटनगरमा भएको अधिवेशनमा सिटौला पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित भएका छन् । थापालाई देउवा पक्षले समर्थन गरेको थियो । घिमिरेले पुनः मत गणनाको निवेदन दिएपछि त्यसबारे निर्वाचन समितिले निर्णय गरिसकेको छैन । थापाले ८४४ मत पाए भने घिमिरेले ८४२ मत पाएका छन् ।

प्रकाशित : मंसिर २०, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?