कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भोटिङ मेसिन’ प्रयोग गर्न देउवा सकारात्मक

काठमाडौँ — कांग्रेस महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न केन्द्रीय निर्वाचन समितिले प्रस्ताव गरेको छ । महाधिवेशनको तयारीका विषयमा छलफल गर्न सोमबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका थिए । बैठकमा महाधिवेशन तयारी तथा व्यवस्थापनका लागि गठन भएका समितिका संयोजकसहित नेताहरू सहभागी थिए । 

‘भोटिङ मेसिन’ प्रयोग गर्न देउवा सकारात्मक

छलफलका क्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मतगणनाका लागि धेरै समय लाग्ने भन्दै विद्युतीय भोटिङ मेसिन गर्ने प्रस्ताव गरेका थिए । त्यसमा अन्य समितिका संयोजक र नेताहरूले पनि समर्थन गरेका थिए ।

जवाफमा देउवाले त्यसबारे आफु सकारात्मक रहेको भनेका थिए । ‘ठीकै छ । यसमा म सकारात्मक छु । यसबारे फेरि छलफल गरौंला,’ देउवाले भनेका थिए ।

बैठकपछि एक नेताले पदाधिकारीबाहेक सदस्यहरूका हकमा भने भोटिङ मेसिन गर्ने गरी छलफल अघि बढेको जानकारी दिए । ‘पदाधिकारीको चुनाव कागजमै गर्ने र अन्य सदस्यहरूको हकमा भोटिङ मेसिन प्रयोग गर्ने विषयमा छलफल अघि बढेको छ, यसबारे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले निर्णय लिन्छ,’ ती नेताले भने ।

प्रवक्ता विश्वप्रकाश शर्माले विद्युतीय भोटिङका विषयमा सभापति देउवाले पदाधिकारी बैठकमा छलफल गरेर निर्णय लिने बताएका छन् ।

यसअघि कांग्रेसकै प्रचार विभागले डिजिटल भोटिङको प्रविधि सुनिश्चित गरेर पदाधिकारी बैठकमा छलफलका लागि विषय उठान गरेपनि नेताहरूले त्यसबारे शंका व्यक्त गर्दै कागजी मतदाननै गर्नुपर्ने भनेका थिए ।

तर, हालै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर महाधिवेशन गरेपछि कांग्रेसलाई त्यसले पनि दबाब परेको हो ।

‘पदाधिकारीकै मतगणना गर्न समय लाग्छ, त्यसपछि केन्द्रीय सदस्यहरूको गणना गर्दा झन् धेरै समय खर्च हुन्छ,’ निर्वाचन समितिका एक सदस्यले भने, ‘हामीले त्यहीकारण विद्युतीय भोटिङको लागि छलफल गर्न भनेका छौं । यद्यपि त्यसो गर्नका लागि हामीलाई तयारी गर्ने समय भने कम नै हुन्छ ।’

यो महाधिवेशनबाट कांग्रेसले सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित १३४ पदमा निर्वाचन गर्नुपर्नेछ ।

त्यसकालागि निर्वाचन समितिले फरक फरक र‌ंगका २९ वटा मतपत्र तयार गरेको छ । हरेक मतदाताले २९ वटा मतपत्रमा छाप लगाउनुपर्छ ।

त्यस्तै, २९ वटै प्वाइन्टबाट मतदान गर्ने गरी व्यवस्थापन भइरहेको निर्वाचन समितिले जनाएको छ ।

कागजी मतपत्रमै मतदान गर्नुपरेको अवस्थामा एकै जनालाई मतदान गर्न कम्तिमा एक घण्टा लाग्ने अनुमान छ । कांग्रेस महाधिवेशनमा देशभरबाट करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।


प्रकाशित : मंसिर २०, २०७८ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?