काठमाडौँ — कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापतिका आकाक्षी नेताहरू छलफलमा जुटेका छन् । छ प्रदेशमा भएको अधिवेशनमा चार वटा प्रदेशमा पराजय बेहोरेपछि सभापतिका आकांक्षी वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला छलफलमा जुटेका हुन् ।
बैठक केन्द्रीय महाविधेशनका विविध विषयमाथि केन्द्रित हुने एक नेताले बताए । ‘केन्द्रीय महाविधेशनका लागि अब केही दिनमात्रै बाँकी छ, हाम्रो टिमबाट सभापतिको साझा उम्मेदवार चयन गर्नुपर्नेछ । त्यही विषयमा नेताहरू छलफलमा बस्नुभएको हो,’ एक केन्द्रीय सदस्यले भने ।
पौडेल समूहले गण्डकी र लुम्बिनीमा राम्रो वर्चस्व जमाएपनि अन्य चार प्रदेशमा भने हार बेहोरेको छ । प्रदेश अधिवेशनबाट फर्किएका नेताहरू केन्द्रीय महाधिवेशनको साझा उम्मेदवार तय गर्दै रणनीति तय गर्न छलफलमा जुटेका हुन् ।
कांग्रेसको महाधिवेशनमा आगामी शुक्रबारदेखि काठमाडौंमा हुदैछ । शेरबहादुर देउवा पुन: सभापतिमा दोहोरिन चाहेका छन् भने उपसभापति निधिले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
