कांग्रेस महाधिवेशन

काठमाडौं आउन थाले प्रतिनिधिहरू

रासस

काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधिहरू संघीय राजधानी काठमाडौं आउने क्रम सुरु भएको छ । पार्टीको १३औं महाधिवेशन सम्पन्न भएको पाँच वर्ष ९ महिनापछि हुन लागेको १४औं महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको हो ।

काठमाडौं आउन थाले प्रतिनिधिहरू

तत्कालीन राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको संगठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाबाट नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो ।

सोही सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ । उक्त अधिवेशनले तत्कालीन अवस्थामा टङ्प्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो । पार्टी स्थापना भएको झण्डै आठ दशकपछि यही मङ्सिर २४ देखि २६ गतेसम्म १४औं महाधिवेशन काठमाडौंमा हुँदैछ ।

नेपाली कांग्रेस बागलुङका पूर्वसभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल महाधिवेशनमा भाग लिन आइतबार साँझ नै काठमाडौं आइपुगेका छन् ।

यस्तै गोरखा कांग्रेसका पूर्वसभापति हरिबहादुर घले पनि महाधिवेशनमा भाग लिन शनिबार राति काठमाडौं आइपुगे । दुई कार्यकाल गोरखा कांग्रेसको नेतृत्व गरिसकेका घले १४औं महाधिवेशनमा अल्पसङ्ख्यक कोटाबाट केन्द्रीय सदस्य बन्ने तयारीमा छन् । घलले सोमबार नै गोरखा कांग्रेसका केन्द्रीय सदस्यको उपस्थितिमा उम्मेद्वारी घोषणा गर्दैछन् ।

कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएसँगै चार दिनपछि सुरु केन्द्रीय महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको हो । कांग्रेसले १४औं महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बुकिङ गरिसकेको बताएको छ ।

मुलुक संघीयतामा गएपछि कांग्रेसले पहिलोपटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ ।

प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितसिंह शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित भएका छन् ।

यस्तै ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशनसमेत सम्पन्न भइसकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे भोलि मंगलबारसम्म सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने बताउँछन् ।

'हिजोसम्म विवाद रहेका सर्लाहीका चार र महोत्तरीको एक निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नेगरी निर्वाचन समितिले काम गरिरहेको छ,' उनले भने । कांग्रेसको महाधिवेशनमा चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने संयोजक घिमिरेले बताए ।

प्रकाशित : मंसिर २०, २०७८ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?