पौडेल समूहका चार नेताको निष्कर्ष– ‘साझा उम्मेदवारीको विकल्प छैन’

मंसिर २०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापतिका आकांक्षी चार नेताहरूले साझा उम्मेदवार छान्ने सहमति गरेका छन् । ६ प्रदेशमा भएको अधिवेशनमा चार वटा प्रदेशमा पराजय बेहोरेपछि सभापतिका आकांक्षी वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सोमबार साँझ बोहराटारमा छलफलमा बसेका थिए ।

‘नेताहरूबीच प्रदेश अधिवेशनको समिक्षा भयो, अहिलेलाई साझा उम्मेदवारीको विकल्प छैन भन्ने नै निष्कर्ष हो,’ एक नेताले भने, ‘मंगलबार हाम्रो टिमका केन्द्रीय सदस्यहरूसहित बसेर छलफल गर्ने भनेर उठेका छौं ।’ स्रोतका अनुसार मंगलबार दिउँसो १ बजे केन्द्रीय सदस्यहरूसहित नेताहरूबीच साझा उम्मेदवारीको विषयमा छलफल हुनेछ । 

कांग्रेसको महाधिवेशन आगामी शुक्रबारदेखि काठमाडौंमा हुँदैछ । अधिवेशन आउन तीन दिनमात्रै बाँकी हुँदा नेताहरूले उम्मेदवारीको टुंगो लगाउन सकेका छैनन् । 

कान्तिपुर

Link copied successfully