काठमाडौँ — कांग्रेसको संस्थापन इत्तर पक्षले साझा उम्मेदवार छान्ने विषयमा केन्द्रीय सदस्यसहितको भेला बोलाएको छ । महाधिवेशन सुरु हुन तीन दिनमात्रै बाँकी हुँदा पनि पौडेल समूहबाट सभापतिको उम्मेदवारकै टुंगो लागेको छैन । तर, सबै नेताहरूले एकता र साझा उम्मेदवारीमै जोड दिएका छन् । समूहका सबै केन्द्रीय र नेताहरूसहित दिउँसो एक बजे चाक्सीबारीमा बैठक बस्न लागेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।
‘महाधिवेशन नजिकिएको छ, जिल्ला–जिल्लाबाट सभापति र प्रतिनिधि साथीहरू आउन लाग्नुभएको छ, त्यसैले हामी सबैको छलफलबाट एउटा निष्कर्षमा पुग्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।
पौडेल समूहबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच रस्साकस्सी छ । नेताहरू आफ्नो माहोल बनाउन कसरत गरिरहेका छन् ।
आफू साझा उम्मेदवार भए जित्न सक्ने सबै नेताहरूको दाबी छ ।
सोमबारको छलफलमा चार नेताबीच सहमति नजुटेपछि नेताहरूले साझा उम्मेदवार तय गर्ने विषयमा केन्द्रीय सदस्यहरूसहितको बैठक बोलाएका हुन् ।
सभापतिका आकांक्षी नेता शेखर कोइरालाले सोमबार सम्पादकहरूसँगको छलफलमा पार्टीका युवा नेताहरूले दुई दिनभित्र सहमतिबाट उम्मेदवारको टुंगो लगाउन भनेको बताएका थिए ।
त्यस विषयमा पार्टीभित्रका युवा नेताहरूले मंगलबार बिहान अलग्गै बैठक बसेर छलफल गरेका छन् । ‘हामीले साझा उम्मेदवार तय गर्नैपर्ने कुराको अनुभूति नेताहरूलाई गराउन खोजिरहेका छौँ, त्यही विषयमा विहान हामीमात्रै बसेर छलफल गर्यौँ । अब चाक्सीबारी बैठकमा हामीले त्यही विषय राख्ने हो,’ छलफलमा सहभागी एक नेताले भने ।
पौडेल समूहमा नेताहरूबीच साझा उम्मेदवार छान्ने सहमति नहुँदा पौडेल समूहभित्रै मतदान गर्नुपर्ने परिस्थिति बन्न लागेको अर्का एक नेताले बताए । ‘हामीले तपाईंहरू आफैँ मिल्नुस्, नभए हामीले नै तपाईंहरूमध्ये एक उम्मेदवार छान्नुपर्ने हुन्छ भनेर अनुरोध गरेका छौँ,’ ती नेताले भने ।
कांग्रेसको महाधिवेशनमा आगामी शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि सभापतिका दाबेदार छन् ।
