१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
अन्तर्वार्ता

हामी किन विद्रोहको मानसिकतामा बाँच्न बाध्य छौं कांग्रेसले जवाफ दिनुपर्छ

जो नेताको घरमा पुग्छ, सधैं आँखा अगाडि रहन्छ, उसले मात्रै त्यो अवसर पाउने भए त कसरी लक्षित वर्गको उत्थान हुनसक्छ ? फेरि त्यसरी नेताहरूको आँखा अगाडि बस्ने भनेको त काठमाडौंमै बस्ने मात्रै हो । त्यो दूरदराजमा बस्ने मान्छेले कहिले अवसर पाउने ?

कांग्रेसमा दलित समुदायबाट जिल्ला सभापति बन्ने पहिलो व्यक्ति हुन्, रुकुमका मानबहादुर नेपाली । उनी पार्टीको १२ औं महाधिवेशनबाट रुकुम सभापति बनेका थिए । पछिल्ला दुई दशक उनले राजनीतिका माध्यमबाट निरन्तर दलित समुदायको हक, अधिकारको क्षेत्रमा काम गरे । उनी पार्टीबाट संघीय संसद्‌को समानुपातिकको बन्द सूचीमा तीन पटकसम्म नाम परेका उम्मेदवार हुन्, तर उनले सांसद बन्ने मौका पाएनन् ।

हामी किन विद्रोहको मानसिकतामा बाँच्न बाध्य छौं कांग्रेसले जवाफ दिनुपर्छ

०५२ सालमा नेविसंघ रुकुमको सभापति भएका नेपाली ०५४ मा तरुण दलको जिल्ला अध्यक्ष भए । त्यस्तै, १० औं महाधिवेशनबाट पार्टीको जिल्ला सहसचिव, तरुण दलको केन्द्रीय सदस्य, र केन्द्रीय सचिव पनि भए । ०७१ सालमा राष्ट्रिय दलित आयोगको अध्यक्ष भएका उनले २ वर्ष काम गरे ।

अब कांग्रेसको १४ औं महाधिवेशनमा रुकुमबाट महासमिति सदस्य बनेका नेपाली केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टीमा नेताहरूले समावेशी समानुपातिक व्यवस्थाअनुसारको अधिकार आसेपासेलाई मात्रै अवसर दिएको उनको गुनासो छ । कांग्रेसको १४ औं महाधिवेशन र दलित समुदायको सशक्तिकरणको मुद्दामा सम्बन्धित रहेर नेता नेपालीसँग इकान्तिपुरका प्रकाश धौलाकोटीले गरेको कुराकानी :

तपाईंले पार्टीले समावेशी समानुपातिक व्यवस्थाको समुचित उपयोग गर्न सकेन भन्दै आउनुभएको छ ?

अहिले हाम्रो संविधानले नै समावेशी समानुपातिक सिद्धान्तअनुसार राज्यका हरेक निकायमा प्रतिनिधित्वको व्यवस्था गरेको छ । यो राम्रो कुरा हो । यसको उपयुक्त ढंगले प्रयोग हुन सकेको भए लक्षित समुदायको उत्थान हुन सक्थ्यो । जो शताब्दीऔं देखि उत्पीडनको शिकार छ, त्यो समुदायको उन्नयनका लागि यो व्यवस्था हो । तर, हाम्रा राजनीतिक दलहरूले यसको समुचित उपयोग गरेनन् ।

नेपाली कांग्रेसकै हकमा पनि नेताहरूले यसको दुरुपयोग गरेका छन् । समावेशी समानुपातिक व्यवस्था भनेपछि पार्टीभित्र र राज्यका पदहरूअनुसार त्यो जिम्मेवारी कसलाई दिने ? भनेर संस्थागत मापन त हुनुपर्ने हो । तर, यहाँ त्यस्तो भइरहेको छैन । कसले कति योगदान गरेको छ ? वास्तवमै त्यो जिम्मेवारीमा बसेर उसले आफ्नो समुदायको उत्थानको लागि कति काम गर्न सक्छ ? भन्ने कुराको मुल्यांकन नगरी नेताहरूले आफूले चाहेको मान्छेलाई समावेशी समानुपातिकमा अवसर दिने चलन बसेको छ । समावेशीमा को व्यक्तिलाई समेट्ने भन्ने छनौट के आधारमा भइरहेको छ ? यो नेताहरूको तजबिजी अधिकारको क्षेत्रभित्र पर्ने कुरा होइन । नेताहरूले जसलाई राख्न इच्छा गर्‍यो, उसैलाई मात्रै राख्ने व्यवस्था त होइन । त्यसैले यसको उपयोग गर्दा पार्टीले निश्चित मापदण्ड बनाउनुपर्छ, र त्यहीआधारमा यसको उपयोग गर्नुपर्छ भन्ने हो ।

कांग्रेसबाट अहिले कस्ता मान्छेहरूले यो अवसर लिइरहेका छन् ?

कांग्रेसमा मात्रै होइन, हाम्रो राष्ट्रियरुपमै यसको उपयोगमा प्रश्न उठेको छ । जो नेताहरूको घर–घरमा पुग्छ, दैलोमा पुग्छ, ऊ नै समावेशीबाट सांसद बन्छ, केन्द्रीय नेता बन्छ । यो त कांग्रेसमा मात्रै होइन, सबै पार्टीमा छ । यो त हाम्रो साझा समस्या बनेको छ । समावेशी व्यवस्था उपयोग गरेपछि उसले आफ्नो कार्यक्षेत्र के हो ? आफ्नो समुदायका लागि उसले के गर्‍यो ? त्यो चीजको मुल्यांकन हुनुपर्‍यो । जो नेताको घरमा पुग्छ, सधैं आँखा अगाडि रहन्छ, उसले मात्रै त्यो अवसर पाउने भए त कसरी लक्षित वर्गको उत्थान हुनसक्छ ? फेरि त्यसरी नेताहरूको आँखा अगाडि बस्ने भनेको त काठमाडौंमै बस्ने मात्रै हो । त्यो दुरदराजमा बस्ने मान्छेले कहिले अवसर पाउने ? दुरदराजको मान्छे त कहिल्यै नेताको दैलोमा पुग्न सक्दैन । त्यसरी न पार्टीको संगठन बन्छ, न उसको समुदायको उत्थान र सशक्तिकरणमा कुनै योगदान पुग्छ ।

अर्को कुरा, एक अवधिमा समावेशी व्यवस्था प्रयोग गरेपछि फेरि त्यही मान्छे, त्यही पदमा रहिरहनुभएन । त्यो समावेशिताको अवसरले उसले आफ्नो व्यक्तित्व बनाउनुपर्‍यो, र फड्को मार्नुपर्‍यो । एउटै व्यक्तिले निरन्तर अवसर लिने हो भने नयाँ मान्छेले कसरी अवसर पाउने ? त्यसले त त्यहाँ भित्र पनि वर्गीय विभेद खडा गर्न थालेको छ । जस्तैः दलितभित्र पनि तीन वटा वर्ग भइसक्यो, एउटा जो चरम गरिबी भोगिरहेका छन्, जसको गाँस, बास र कपासकै टुंगो छैन । जस्तैः बादी, मुसहर, डुम आदि । दोस्रो, मध्यम वर्ग, जसलाई गरेर खान लाउन धौ–धौ छ । अर्को भनेको दलितभित्रको सम्भ्रान्त वर्ग, जो अहिले दलितका नामको अवसरको निरन्तर भोग गरिरहेको छ ।

तपाईंले आफूले अवसर पाइनँ भनेर यो कुरा गर्नुभएको हो कि ?

मैले अवसर पाइनँ भन्ने कुरा ठूलो होइन । अवसरको न्यायोचित वितरण हुनुपर्छ भन्ने मुख्य कुरा हो । म नै भएँ भनेपनि मैले एकपटक मात्रै प्रयोग गर्छु । म अहिले पनि रुकुमबाट खुलाबाटै महाधिवेशन प्रतिनिधि हुँ । तर, पार्टीमा यस्तो अवस्था छ कि एउटै व्यक्तिले एउटै अवसर पटक–पटक लिइरहेको छ । उसको व्यक्तित्वमा कुनै परिवर्तन छैन, न उसले पार्टीमा योगदान पुर्‍याएको छ, न उसको समुदायको हितमा काम गरेको छ ।

त्यसैले यो मेरो कोही व्यक्तिप्रति लक्षित कुरा होइन, यो हाम्रो व्यवहार र प्रवृत्तिमाथिको प्रश्न हो । यसलाई सुधारेर जाऔं भन्ने हो । यो एउटा व्यक्तिको मात्रै कुरा होइन, देशभरिको पछाडि परेको वर्ग, समुदाय जो छ, तिनको उत्थान र सशक्तिकरणको कुरा हो । त्यो समुदायबाट संघर्ष गरिरहेका नेता कार्यकर्ताहरूले समान अवसर पाउनुपर्छ भन्ने हो ।

जसले तीन पटकसम्म एउटै पदमा दोहोरिएर समावेशी सुविधा लियो, तर केही परिवर्तन छैन भने उसलाई त दशपटक दोहोर्‍याए पनि केही परिवर्तन हुने वाला छैन । त्यसरी एउटै व्यक्ति वा परिवारलाई मात्रै राज्यले, पार्टीले लगानी गरेर त सिंगो समुदायको सशक्तिकरण कसरी हुन्छ ? त्यसैले समावेशी व्यवस्थाबाट चुनिएको नेतृत्वले उसले देशको लागि, उसको समाजका लागि के योगदान गर्‍यो भन्ने मुल्यांकन गरेर अवसरको वितरण हुनुपर्छ । एक जनाले एक पटकको लागि मात्रै प्रयोग गर्नुपर्छ । र, अर्कोपटक खुला प्रतिस्पर्धामा जाने प्रयत्न गर्नुपर्छ । पार्टीले पनि त्यो अवसर दिनुपर्छ । म यो महाधिवेशनमा देशभरिका साथीहरूमाझ यो कुरा उठाउँछु ।

त्यस्ता अवसरहरूको न्यायोचित वितरण कसरी गर्ने त ?

यसको पहिलो आधार भनेकै संस्थागत मुल्यांकन हो । पार्टीमा कति लगानी गरेको छ ? कति काम गरेको छ ? उसको जनमत कस्तो छ ? ऊ आइसकेपछि उसले पार्टी र उसको समुदायका लागि के गर्न सक्छ ? आधारभूत रुपमा यी कुराहरू हेर्नुपर्छ । यसको संस्थागत मुल्यांकन नै पहिलो आधार हो । त्यसका लागि पछाडि पारिएको क्षेत्र, भुगोल, वर्ग, लिङ्ग पनि हेर्नुपर्‍यो । यसमा धेरै कुराहरू छन्, विभिन्न अन्तर्राष्ट्रिय अभ्यास र मोडालिटीहरू पनि छन्, ती विषयमा पार्टीभित्र छलफल हुनुपर्छ ।

समावेशीबाट पार्टीमा आएका नेताहरू खुला प्रतिस्पर्धा गर्न डराउँछन् नि ?

त्यही त कुरा हो । हामीले आत्मविश्वास बढाउनुपर्छ । सुरक्षित भइराख्नका लागि नेता रिझाउने र अवसरको भोग गर्नेमात्रै गर्नुभएन । व्यक्तिगत सुरक्षामा मात्रै ध्यान दिँदा समुदायको मुद्दा ओझेलमा पर्‍यो, पार्टीको संगठन कमजोर भयो । आफूले राजनीति गर्ने भएपछि त धरातल बनाउनुपर्छ । समाज केन्द्रित हुनुपर्‍यो । काम गर्नुपर्‍यो । सबैलाई समेटेर राम्रो काम गर्ने, इमान्दारिता देखाउने हो भने सधैं अन्यायमात्रै नहोला नि !

तपाईंको मतलव राजनीतिमा जातीय अर्थात् अरु कुनै आधारमा विभेद छैन ?

विभेद नै छैन त म भन्दिनँ । किनभने हाम्रो समाज नै त्यही हो । तर, त्यसैलाई आधार बनाएर आत्मबल कमजोर बनाउनुहुँदैन भन्ने हो । ०४८ सालमा भर्खर पञ्चायत गएको थियो, त्यस्तो बेलामा पनि बाँकेबाट कृष्णसिंह परियारले चुनाव जित्नुभएकै हो । उहाँ कांग्रेसकै नेता हो । त्यो बेला झन् धेरै जातपातको कुरा थियो, अहिले पनि छ । हामीले भोग्यौँ, देख्यौँ । स्थानीय चुनावमा अहिले पनि जातकै कारण कतिपय संभावना बोकेका, राम्रो क्षमता भएका साथीहरूले पराजय बेहोर्नुभएको छ । विभेद छ । तर, त्यसो भनेर हामीले प्रयास नै नगर्ने, पार्टीले सधैँ अवसर नै नदिने हो भने त समाज त कहिल्यै पनि परिवर्तन हुँदैन । त्यो उत्पीडनमा परेको समुदाय कहिल्यै माथि उठ्नै सक्दैन । त्यसो भए त के यो समावेशी व्यवस्था भनेको एक÷दुई जना मान्छेलाई सांसद बनाउन, नेता बनाउनमात्रै ल्याइएको हो त ? मुख्य कुरा त उत्पीडनमा परेको समुदाय, वर्ग, क्षेत्र र लिङ्गको शशक्तिकरण होला नि ?

त्यसो भए तपाईं रुकुमबाट चुनाव लड्न तयार हुनुहुन्छ ?

यस्तो छ, रुकुममा म उठे कम भोट पाउने, अर्को गैरदलित साथी उठे बढी पाउने अवस्था छैन । हाम्रो माओवादी जनयुद्धको प्रारम्भ भएको जिल्ला हो । हामी कहाँ पार्टीको धरातल नै एकदम कमजोर छ । हामीले जित निकाल्नका लागि अझै धेरै संगठन गर्नुपर्छ । त्यहाँ अवसरहरू लैजान सक्नुपर्छ । तर, पार्टीले चुनाव हार्छ भन्दैमा म नउठ्ने भन्ने होइन, म लडेपनि, अर्को जो साथी लडेपनि हामीले पाउने भोटमा तलमाथि हुन्छ जस्तो लाग्दैन । पार्टीले त्यो मौका दियो भने म लड्न तयार छु ।

यो महाधिवेशनमा तपाईंको आकांक्षा चाँहि के हो ?

म पार्टीको केन्द्रीय समितिमा जान चाहन्छु । त्यहाँ मैले अहिलेसम्म पार्टीमा काम गरेर प्राप्त गरेको अनुभवलाई समेटेर दलित समुदायको सशक्तिकरणका लागि काम गर्न चाहन्छु । म एक पटकका लागि एउटा पदमा समावेशी व्यवस्थाको प्रयोग गर्ने हो । म यो पटक दलिततर्फ केन्द्रीय सदस्य लड्छु, एक पटकमात्रै त्यो पद लिन्छु । अर्को पकट खुला प्रतिस्पर्धाको लागि तयार हुन्छु ।

तपाईं केन्द्रीय सदस्य भएपछि दलितका मुद्दा कसरी सम्बोधन गर्नुहुन्छ ?

कांग्रेसले अहिलेसम्म इतिहास भँजाएर खाएको छ । धनमानसिंह परियारलाई महामन्त्री बनायौँ भनेर होस्, या चाँहि यो वा त्यो गर्यौँ भनेर । म इतिहास भँजाएर होइन, कांग्रेसले अबको स्पष्ट बाटो देखाएर दलित समुदायको मत लिनुपर्छ भन्ने पक्षमा छु ।

कांग्रेसले धेरै राजनीतिक परिवर्तन गरायो, तर दलितको जीवनमा के परिवर्तन भयो ? हामी त सधैँ उत्पीडनमा छौँ । छुवाछुत र जातीय विभेद किन अन्त्य भइरहेको छैन ? हामी किन आज पनि विद्रोहको मानसिकता बोकेर बाँच्न बाध्य छौँ ? यसको जवाफ कांग्रेसले दिनुपर्छ । खाली बीपीले यो गरे, त्यो गरे भनेरमात्रै हुदैन, अब कांग्रेसले समाजलाई स्पष्ट मार्ग दर्शन गर्नुपर्छ । समाजवादको दिशातर्फ कांग्रेसले बाटो देखाउनुपर्छ ।

उत्पीडित समुदायले कसरी अधिकार पाउँछ ? दलितहरूको समस्या कसरी समाधान हुन्छ ? आधारभूत कुराहरूकै आभावमा छन् दलितहरू । दलितभित्र पनि वर्गीय असमानता छ, त्यसको निराकरण कसरी गर्ने हो ? पार्टीले नीति र कार्ययोजना बनाउनुपर्छ । र, समाजबाट, राज्यबाट बहिष्कृत, दुर्व्यवहारमा परेको, विभेदमा परेको हाम्रो जो समुदाय छ, त्यसको मुक्तिको लागि काम गर्न सक्नुपर्छ । म यी विषय पार्टीमा उठाउँछु ।

प्रकाशित : मंसिर २१, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?