१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
कांग्रेस महाधिवेशन

प्रदेश झरे केन्द्रका नेता

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसको प्रदेश सभापति पद केन्द्रीय कार्यसमितिका सदस्य, पदाधिकारीका दाबेदार, संघीय सांसद, पूर्वमन्त्रीहरू तथा भ्रातृसंस्थाका प्रमुख पदमै रहेका नेताहरू समेतको रोजाईमा परेको छ । केन्द्रीय नेताहरू नै प्रदेश झरेपछि प्रदेशको प्रतिस्पर्धा केही रोचक बनेको छ । 

प्रदेश झरे केन्द्रका नेता

कांग्रेसले पहिलो पटक १४ औँ महाधिवेशनबाट सात वटै प्रदेशमा आफ्नो संगठन खडा गर्दैछ । जसअन्तर्गत शुक्रबार प्रथम अधिवेशनको निर्वाचनका लागि उम्मेदवारको मनोनयन भएको छ । मनोनयनमा धेरै केन्द्रका नेता प्रदेश गएका छन् ।

प्रदेश १ को अधिवेशन विराटनगर, वाग्मतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश २ बाहेक छ वटै प्रदेशमा उम्मेदवारको टुंगो लागेको छ ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र उपसभापति बिमलेन्द्र निधिलगायत नेताहरूले आ–आफ्नो प्रभाव क्षेत्रका आधारमा प्यानलै खडा गरेर उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । छ वटै प्रदेशमा मुख्यतः देउवा र पौडेल पक्षका बीच द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

महाधिवेशनको मिति नजिकिँदा पार्टीको नेतृत्वमा पुग्न आकांक्षीको लर्को छ । धेरै नेताहरूले केन्द्रकै नेतृत्वमा पुग्न, रहन चाहेका छन् । तर, कतिपय केन्द्रीय नेताहरूले भने प्रदेशको नेतृत्व रोजेका छन् । पार्टी र भ्रातृ संस्थाको केन्द्रीय तहमै रहेका नेताहरु पनि प्रदेशको कार्यकारी पद पाउने भएपछि प्रदेशमा झरेका छन् ।

प्रदेश १ मा केन्द्रीय सदस्य घिमिरे

नेविसंघको केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा आएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रदेश १ को सभापतिमा उम्मेदवारी दिएका छन् । नेता शेखर कोइरालाका विश्वासपात्र घिमिरेलाई वरिष्ठ नेता पौडेल समूहले सभापतिको उम्मेदवार बनाएको हो । प्रदेश १ मा देउवा र सिटौला पक्षले उद्धव थापालाई साझा उम्मेदवार बनाएका छन् । सिटौलानिकट नेता थापा झापाका पूर्वसभापति हुन् ।

०५९ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बनेका घिमिरे १३ औँ महाधिवेशनमा प्रदेश १ को भुगोलबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए । केन्द्रीय पदाधिकारीमा दाबी गर्दै आएका घिमिरेलाई नेता कोइरालाले प्रदेश सभापतिको उम्मेदवार बनाएका हुन् । केन्द्रीय कार्यसमितिमा रहिसकेका घिमिरेले प्रदेशको संगठन विस्तारमा थप योगदान गर्न प्रदेश सभापति रोजेको बताए ।

‘मुलुकमा संघीयता कार्यान्वयनको क्रममा रहेको छ । प्रदेश सभापतिले सिंगो प्रदेशको पार्टी संगठनलाई मजबुद बनाउन सकिन्छ, मैले त्यही सम्भावना देखेर केन्द्र छाडेर यता उम्मेदवारी दिएको हुँ,’ घिमिरेले इकान्तिपुरसँग भने ।

वाग्मतीमा पूर्वमन्त्री भीमसेनदास प्रधान

वाग्मती प्रदेशको सभापतिमा देउवा, पौडेल र सिटौला पक्षबाट तीन जनाको उम्मेदवारी परेको छ, त्यसमध्येमा संघीय सरकारका पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान समेत छन् । काठमाडौँको जिल्ला सभापति भइसकेका प्रधान काठमाडौं क्षेत्र नं. ६ का निर्वाचित संघीय सांसद हुन् । उनी रक्षामन्त्री भइसकेका नेता हुन् ।

प्राध्यापनबाट राजनीतिमा आएका उनी नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय सभापति समेत हुन् । १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित उनी यसपटक बलिया आकांक्षीमध्ये थिए । तर, सिटौलानिकट रहेर पार्टीमा अवसर लिँदै आएका उनले वाग्मती प्रदेशको सभापति रोजेका छन् ।

‘म भन्दा धेरै सिनियर साथीहरू पनि केन्द्रीय सदस्य बन्नुभएको छैन । म काठमाडौंको मान्छे, अहिले पनि काठमाडौंमा धेरै नेताहरू केन्द्रीय समिति बाहिर हुनुहुन्छ,’ प्रधानले भने, ‘त्यहीकारण मैले प्रदेश रोजे ।’ वाग्मती प्रदेश सभापतिमा पौडेल समूहले नुवाकोटका पूर्वसभापति जगदिश्वरनरसिंह केसी र देउवा पक्षले वाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँलाई अघि सारेको छ ।

गण्डकीमा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी

पर्वतबाट ०५६ पछि निरन्तर तीन पटक चुनाव जितेका कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पनि गण्डकी प्रदेशको सभापति रोजेका छन् । ०५६, ०६४ र ०७० का तीन वटा चुनावमा पर्वतबाट निर्वाचित जोशी देउवाका विश्वासपात्र हुन् । दुई पटक केन्द्रीय सदस्य भइसकेका जोशीलाई देउवा पक्षले नै गण्डकी प्रदेशको सभापतिमा अघि सारेको हो ।

‘सबै साथीहरूको चाहना सहमतिको थियो, सबैले तपाई नै उठ्नुपर्छ भनेर सहमति दिएपछि त्यहीआधारमा उम्मेदवारी दिएँ,’ जोशीले भने । गण्डकी प्रदेश सभापतिमा पौडेल समूहले शुक्रराज शर्मालाई उम्मेदवार बनाएको छ । गण्डकी वरिष्ठ नेता पौडेलको आफ्नो गृहप्रदेश हो । शर्मा कास्कीका पूर्व जिल्ला सभापति हुन् । उनी प्रतिनिधिसभा सदस्यको निर्वाचन ०७४ मा कास्की–३ बाट कांग्रेसको उम्मेदवार थिए ।

लुम्बिनीमा संघीय सांसद भरत शाह

लुम्बिनी प्रदेशको सभापतिमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका संयोजक रहेका सांसद भरतकुमार शाह उम्मेदवार छन् । रुपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा लगातार तेस्रोपटक निर्वाचित शाह सभापति देउवासँग निकट छन् ।

उनी १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित नेता हुन् । यसपटक केन्द्रीय समितिका सम्भावितका रुपमा हेरिएका उनलाई देउवाले प्रदेश सभापतिमा उठाएका हुन् । यहाँ पौडेल समूहले अम्मरसिंह पुनलाई सभापतिको उम्मेदवार बनाएको छ । पुनः रोल्पाका पूर्वजिल्ला सभापति हुन् ।

कर्णालीमा तरुण दल महामन्त्री भुपेन्द्रजङ्ग शाही

कांग्रेसका युवा संगठन नेपाल तरुण दलका केन्द्रीय महामन्त्री भुपेन्द्रजङ्ग शाहीले कर्णाली प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । नेविसंघको केन्द्रीय राजनीति गर्दै तरुण दलको महामन्त्री बनेका शाही पिछडिएको क्षेत्रबाट केन्द्रीय सहमहामन्त्रीका आकांक्षी थिए ।

तरुण दलकै नेतृत्व वा पार्टीको केन्द्रीय समितिको स्वभाविक दाबेदारका रुपमा हेरिएका उनले प्रदेश सभापति रोजेका छन् । उनलाई तरुण दलको तदर्थ समिति गठन गर्दा वरिष्ठ नेता पौडेलले महामन्त्री बनाएका थिए । उनी पौडेलका विश्वासपात्र मानिन्छन् । कर्णाली सभापतिमा शाहीलाई पौडेल समूहले साझा उम्मेदवार बनाएको छ ।

‘म जे भूमिकामा थिएँ, त्यसबाट देशभरिको नेतृत्व गर्न सक्थे‍‌‌ । तर, मलाई आफ्नो कर्णालीको भुगोल सुधार्नुपर्छ भन्ने लाग्यो, त्यसैले कर्णालीमा कांग्रेसलाई संमृद्ध बनाउने उदेश्यले प्रदेश सभापतिनै रोजेँ,’ उनले भने । उनी कालिकोटबाट दुवै संविधानसभा सदस्यका उम्मेदवार हुन् । यहाँ देउवा पक्षले जुम्लाका नेता ललितजङ्ग शाहीलाई उम्मेदवार बनाएको छ । शाही ०७० सालमा संविधानसभाका सदस्य हुन् । कालिकोटका नेता मोतिराज बमले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिममा पूर्वमन्त्री बीरबहादुर बलायर

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बीरबहादुर बलायर सुदूरपश्चिम प्रदेशको सभापतिका उम्मेदवार छन् । १३ औँ महाधिवेशनमा सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा निर्वाचित उनलाई देउवा पक्षले सभापतिको उम्मेदवार बनाएको हो । डोटीबाट पटक–पटक चुनाव लडेका बलायर ०७० को संविधानसभा सदस्यमा निर्वाचित भएका उनी भौतिक पुर्वाधार तथा यातायातमन्त्री बनेका थिए ।

‘मैले आफैले महत्वपूर्ण रुपमा हेरेको थिइनँ । तर, सबैले सहमतिको आधारमा तपाई नै जानुपर्छ भन्ने कुरा आएपछि म तयार भएँ । अब सुदूरपश्चिममा कांग्रेसको संगठन मजबुद पार्न भूमिका खेल्छु,’ उनले भने । सुदूरपश्चिम प्रदेशको सभापतिमा पौडेल समूहले नारायण मिश्रलाई उम्मेदवार बनाएको छ । मिश्र कैलालीका पूर्व जिल्ला सभापति हुन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ मा १७७०, वाग्मतीमा २१३७, गण्डकीमा ११५३, लुम्बिनीमा ११४२, कर्णालीमा ७४९ र सुदूरपश्चिममा ९८७ मतदाता छन् । केन्द्रीय निर्वाचन समितिले शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि शनिबार विहान ८ बजेदेखि मतदान गर्ने निर्वाचन कार्यतालिका छ । तर, प्रदेश निर्वाचन समितिले परिस्थितिअनुकुल त्यसलाई तलमाथि पारेर निर्वाचन कार्यक्रम अघि बढाएका छन् ।

देशभर ७ प्रदेशमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रदेशभित्रका जिल्ला सभापति, क्षेत्रीय सभापति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति र प्रदेश प्रतिनिधिहरू प्रदेश अधिवेशनका मतदाता हुन्छन् । यसआधारमा केन्द्रीय महाधिवेशनपछि महत्वपूर्ण र ठूलो अधिवेशन प्रदेश अधिवेशन हो अर्थात् प्रदेश अधिवेशन मिनि महाधिवेशन नै हुन् ।

प्रदेश अधिवेशनले प्रदेश कार्यसमितिको चयन गर्छन् । कांग्रेसको विधानले प्रदेश कार्यसमितिमा १ सभापति, २ उपसभापति, २ महामन्त्री र १ महिलासहित ३ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ ।

प्रकाशित : मंसिर १७, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?