काठमाडौँ — सर्लाहीमा कांग्रेसको अधिवेशन गराउनका लागि केन्द्रीय निर्वाचन समितिले चौथो पटक निर्वाचन अधिकृत खटाएका छन् । यसअघि पटक–पटक गरी खटिएका तीन जनाले अधिवेशन गराउन नसकेर राजीनामा दिएपछि समितिले चौथोपटक अरुण ज्ञवालीलाई निर्वाचन गराउने जिम्मा दिएर पठाएको हो ।
केन्द्रीय महाधिवेशन आउन एक सातामात्रै बाँकी हुँदा पनि सर्लाहीमा भने वडा तहकै अधिवेशन सकिएको छैन । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले चौथो पटक ज्ञवालीलाई पठाएर चुनाव गराउने प्रयास भइरहेको बताए ।
‘पहिले ३ जना साथीहरूलाई पठाइसकेका हौं । उहाँहरूले नसकेर फर्किनुभयो । अहिले फेरि अरुण ज्ञवालीलाई पठाएका छौं,’ उनले भने, ‘त्यहाँ प्रदेश क्षेत्रको अधिवेशन गराएर प्रदेश महाधिवेशन गराउने प्रयत्न गरिरहेका छौं ।’ सर्लाहीको प्रदेशसभा क्षेत्रको अधिवेशन हुन नसकेका कारण प्रदेश २ को प्रदेश अधिवेशन रोकिएको छ ।
