कांग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान अवस्था ठीक छैन : कोइराला

काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले इतिहास र संघर्षका गाथा गौरवशाली भए पनि पार्टीको वर्तमान अवस्था त्यो सुहाउँदो नभएको बताएका छन् । ‘कांग्रेसको इतिहास र संघर्षको गाथा जति बलिदानपुर्ण र गौरवशाली छ, पार्टीको अहिलेको अवस्था त्यो सुहाउँदो छैन,’ शुक्रबार प्रदेश १ को अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘पार्टी गतिशील र ऊर्जावान् हुन नेतृत्वमा नयाँ पुस्ता, नयाँ विचार, नयाँ कार्यशैली र नयाँ कार्यक्रमको आवश्यकता छ ।’

कांग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान अवस्था ठीक छैन : कोइराला

उनले यो महाधिवेशनले युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर प्रदान गरेको दाबी गरे । ‘म सबै प्रतिनिधिहरूलाई भविष्यको नयाँ कांग्रेस निर्माणमा आफ्नो अन्तरआत्माको आवाज सुन्न अनुरोध गर्दर्छु । को नेतृत्वमा पुग्छ भन्दा पनि कस्तो कांग्रेस निर्माण गर्ने भन्ने गहन जिम्मेवारी प्रतिनिधि साथीहरूको विवेकमा भरपर्छ,’ कोइरालाले भने ।

उनले विराटनगर कांग्रेसजनका लागि पावन भूमि भएको बताए । ‘हामी आज जुन ठाउँमा भेला भएर कांग्रेसको हुनुको गर्व गर्दैछौँ । यो पावनभूमि जननायक विश्वेश्वरप्रसाद कोइरालको हो, गिरिजाप्रसाद कोइरालाको हो । शैलजा आचार्य र नोना कोइराला जस्ता महिला नेतृत्वको भूमि हो,’ कोइरालाले भने, ‘म यो दिनमा शहिद राम र लक्ष्मणलाई सम्झन्छु, जो क्रान्तिको झण्डा बोकेर क्याप्टेन यज्ञबहादुर थापाको नेतृत्वमा ओखलढुङ्गा कब्जामा हिँडेका थिए । म ती तमाम् शहिदहरूलाई स्मरण गर्न चाहन्छु, जसको कारणले आज हामी स्वतन्त्र र सार्वभौम नागरिक भएका छौं ।’

उनले बीपीले देशमा संकट भए एक मुठी देशको माटो समाएर निर्णय लिन सुझाएको स्मरण गरे । ‘कांग्रेसमा अहिले देखिएको भागबन्डा, गुट र फुट अन्त्यको लागि ती तमाम शहिदहरूलाई स्मरण गरेर भविष्यको कांग्रेसबारे अन्तरआत्माको पुकार सुन्नु पर्नेछ । त्यो अन्तरआत्माको आवाजबाट नयाँ कांग्रेस प्रस्फुटन हुनेछ,’ उनले भने ।

प्रकाशित : मंसिर १७, २०७८ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?