बलरामा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, मतदान अधिकृतसहित ४ प्रहरी घाइते- समाचार - कान्तिपुर समाचार

बलरामा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, मतदान अधिकृतसहित ४ प्रहरी घाइते

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा केही सेल अश्रुग्यास प्रहार
ओमप्रकाश ठाकुर

सर्लाही — कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा सर्लाहीको बलरामा सोमबार पनि झडप भएको छ । झडपमा मतदान अधिकृतसहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । 

बलरा नगरपालिका–८ गडहियामा कांग्रेस इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेको थियो भने संस्थापन पक्षले विद्यालयमा मतदानस्थल बनाउन खोजेको थियो । त्यसक्रममा मतदान अधिकृत झासँग विवाद हुन थालेपछि प्रहरीले उनलाई उद्धार गर्न खोज्दा झडप भएको थियो । कांग्रेस कार्यकर्ताले प्रहरी र मतदान अधिकृतमाथि नै आक्रमण गरेपछि झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

मतदान अधिकृत झाको टाउकोमा चोट लागेको छ । यस्तै, प्रहरी निरीक्षक सुरेश ठाकुरसहित ४ जना प्रहरी पनि घाइते भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

‘विवाद उत्पन्न भएपछि कांग्रेसको एक पक्षले जबरजस्ती मतदान अधिकृतलाई लैजान खोज्दा प्रहरीले रोक्यो, त्यसक्रममा उनीहरुले ढुंगामुढा गर्न थाले,’ एसपी प्रसाईंले भने, ‘स्थिति नियन्त्रणमा लिनका लागि केही राउण्ड अश्रुग्यास प्रहार भएको छ, अहिले अवस्था सामान्य छ, घाइतेको पनि उपचार भइरहेको छ ।’

प्रहरीले अनावश्यकरुपमा बल प्रयोग गरी आफ्ना कार्यकर्तालाई घाइते बनाएको त्यस क्षेत्रका संघीय सांसद अमरेशकुमार सिंहले बताए । ‘प्रहरीले हाम्रा कार्यकर्ताहरुलाई अनावश्यकरुपमा बल प्रयोग गरेर घाइते बनाएको छ, यसमा गृहमन्त्री बालकृष्ण खाँणले सत्ताको उन्माद देखाएका छन्,’ उनले भने ।

यसअघि आइतबार पनि बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको क्रममा दुई समूहबीच विवाद उत्पन्न भएपछि प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले एक राउण्ड हवाइ फायर गरेका थिए ।

प्रकाशित : मंसिर १३, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

मंसिर सुरुवातमा पनि निक्षेप घट्यो, सोमबार बैंकहरूले लिए झण्डै ३८ अर्ब सापटी

कान्तिपुर संवाददाता

काठमाडौँ — मंसिरको सुरुवाती दिनमा पनि बैंकहरुमा निक्षेप घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार मंसिरको १० दिनमा मात्रै बैंकहरुबाट १४ अर्ब निक्षेप घटेको छ । २७ वाणिज्य बैंकहरूमा कात्तिक मसान्तसम्म ४२ खर्ब ३३ अर्ब रुपैयाा निक्षेप रहेकोमा मंसिर १० गतेसम्म आउँदा ४२ खर्ब १९ अर्बमा झरेको छ । 

निक्षेप घटिरहँदा पनि यस अवधिमा कर्जा प्रवाह भने बढेको छ । मंसिरको १० दिनमा २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा मंसिर १० गतेसम्म ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । कात्तिक महिनामा मात्रै वाणिज्य बैंकहरुबाट ३६ अर्ब निक्षेप घटेको थियो ।

मंसिरको सुरुवाती दिनमा पनि निक्षेप घटेपछि बैंकहरुलाई परिचालनका लागि समेत नगद अभाव भएको छ । नगद अभाव भएपछि बैंकहरुले सोमबार एकै दिन राष्ट्र बैंकबाट ३७ अर्ब ९२ करोड रुपैयाँ सापटी सुविधा (एसएलएफ) लिएका छन् । यस्तो सापटीमा बैंकहरुले ५ प्रतिशत व्याजदर तिर्नुपर्छ भने अवधि जम्मा सात दिनको हुन्छ ।

पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९०.३१ प्रतिशत पुगेको छ । असार मसान्तभित्र सिडी रेसियोलाई ९० प्रतिशतभन्दा मुनि झार्नुपर्ने बाध्यकारी व्यवस्था छ ।


प्रकाशित : मंसिर १३, २०७८ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×