लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य अस्वीकार

कार्यकारी पदमा पनि नबस्‍ने

मंसिर १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् । १० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका नेता पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा प्रस्ताव गरेका थिए ।

ओलीले केन्द्रीय कमिटीमा पण्डितलाई प्रस्ताव गरेपछि अस्वीकार गर्दै सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको लेखेका छन् ।  

इकान्तिपुरसँगको फोन कुराकानीमा नेता पण्डितले भने,' मैले यसअघि पनि पदाधिकारीमा प्रतिस्पर्धा गर्छु भनेको थिएँ । पदाधिकारी भइनँ भने त्याग गर्छु भनेको थिएँ । मैले नोमिनेसन दर्ता गराइनँ ।'  पदाधिकारीमा ठाउँ नदिएपछि उनले केन्द्रीय सदस्य पनि अस्वीकार गरेको बताएका छन् ।

'पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा थिएँ । त्यसमा नेतृत्वले अर्कै सूची घोषणा गरेपछि बागी, विद्रोही बन्न चाहिनँ । बागी र विद्रोह मेरो खुनमा छैन,' उनले भने, 'अहिले जस्ता प्रतिनिधि आउनु भएको छ, यो परिस्थितिमा नेतृत्वको सूचीबाहिर गएर उम्मेदवारी दिनुको अर्थ थिएन ।'

उनी महाधिवेशन नसकिँदै चितवनबाट काठमाडौं फर्किसकेका छन् ।

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully