कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले महाधिवेशन : यस्तो छ मतदानस्थलको तयारी

तस्बिर : हेमन्त श्रेष्ठ

सौराहा, चितवन — एमालेले दसौं महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने भने पनि अध्यक्षलगायत केही पदमा भने चुनाव हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै अन्य पदमा पनि ओलीले आइतबार पेस गरेको सूचीबाहेकबाट उम्मेदवारी परेपछि चुनाव हुने भएको हो । उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको उम्मेदवारी परेको छ । उनीहरू दुवै ओलीको सूचीबाहिरका हुन् ।

यतिबेला उम्मेदवारी दर्ताको काम सकिएको छ । निर्वाचनका लागि एमालेले इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । राम-लक्ष्मण रिमालले बनाएको मेसिन चुनावमा प्रयोग गरिने भएको छ । दसौं महाधिवेशनका लागि एमालेले राम–लक्ष्मण टिमलाई ईभीएमका लागि डेढ महिनाअघि प्रस्ताव गरेको थियो । त्यसपछि उनीहरूले मेसिन बनाउन सुरु गरेका थिए ।राम–लक्ष्मणले हालसम्म मेसिनबाट ९२ वटा चुनाव गरिसकेका छन् । एमालेको महाधिवेशनपछि राप्रपाले राम–लक्ष्मणको मेसिन कुरेर बसेको छ ।

प्रकाशित : मंसिर १३, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

अवैधानिक बाटोबाट वैदेशिक रोजगारमा  महिला, सीप नजान्दा थपिन्छन् पीडा

अमृता अनमोल

बुटवल — सरकारले उमेर हद, कामको प्रकृति लगायतमा बन्देज लगाउँदा अहिले पनि भारतीय बाटो भएर वैदेशिक रोजगारीमा जाने र दु:ख पाउने महिला धेरै छन् । थोरै रकममा जान पाइने, सीप र शिक्षा नभए पनि कमाइ हुनेजस्ता प्रलोभनमा भारतीय बाटो हुँदै खाडी मुलुकमा रोजगारीमा गएका धेरै महिला आर्थिक, शारीरिक र मानसिक समस्या भोग्न बाध्य छन् ।

श्रम स्वीकृतिविना त्यसरी जानेलाई राज्यले संरक्षण र उद्धार नगर्दा झन् ठूलो समस्यामा फस्ने गरेका छन् ।

अवैधानिक बाटो भएर वैदेशिक रोजगारीमा जाँदा समस्या भोगेकी एक पात्र हुन्– रुपन्देही तिलोत्तमा नगरपालिका माधवलियाकी कल्पना थापा । बुुटवलका जीवनाथ भट्टराईले घरेलु कामदारका लागि सीप र योग्यता नचाहिने, मासिक ४० हजार रुपैयाँ तलब पाइने, दिनको आठ घन्टा काम गरे पुग्ने, बढी काम गरे अतिरिक्त रकम र काम गरेकै ठाउँमा खान एवं बस्नको सुविधा हुनेजस्ता प्रलोभन देखाएपछि कल्पनाले विदेश जाने निधो गरिन् ।

त्यसका लागि सयकडा चार रुपैयाँमा ऋण खोजेर ९० हजार रुपैयाँ दलाललाई दिइन् । रकम बुझाएको तीन महिनापछि तीन छोराछोरीकी आमा कल्पना भारतको दिल्ली हुँदै साउदी अरबको रियाद पुगिन् । साढे ३ वर्षपछि उनी रित्तो हात घर फर्केकी छिन् । ‘भाषा, संस्कार जानिनँ । घरभित्रको काम भए पनि विद्युतीय सामान चलाउन र उनीहरुको स्वादअनुसार खाना पकाउन जानिनँ,’ कल्पनाले भनिन्, ‘यहीं कारण मालिकले सुरुका ६ महिना तलबै दिएन । पछि पनि भनेजति तलब माग्दा पटक पटक कुटाइ खाएँ । स्वदेशी दाजुभाइले उद्धार गरेपछि घर फर्केकी हुँ ।’

वैदेशिक रोजगारीमा रहेका महिलाहरुको क्षेत्रमा कार्यरत पौरखी नेपालको तथ्यांकअनुसार श्रम स्वीकृति नलिई भारतीय बाटो वा अवैध तरिकाले जाँदा वार्षिक ३ हजार महिला दु:ख पाएर फर्कने गरेका छन् । श्रम स्वीकृति नहुनेलाई राज्यले सहयोग समेत गर्दैन । वैदेशिक रोजगारीमा दु:ख पाएर घर फर्केका महिला घरपरिवार र समाजबाट पनि अपहेलित हुने गरेको पाइन्छ । ‘विदेशमा हिंसा भयो भन्नासाथ यौन सम्बन्ध राखेको, रोग बोकेर फर्केको हो कि भनेर चरित्र हत्या गर्ने गरिन्छ,’ ३ वर्ष कुवेतमा काम गर्दा जेल परेर फर्केकी बुटवल मोतिपुरकी राधिका न्यौपानेले सुनाइन्, ‘यही कारण पतिसँग समेत राम्रो सम्बन्ध रहन सकेन ।’

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा देशका करिब १५ लाख युवा भारतबाहेकका देशमा कार्यरत छन् । यसमध्ये करिब तीन लाख महिला रहेको अनुमान छ । धेरै महिला अवैध बाटोबाट जाने भएकाले वैदेशिक रोजगारीमा रहेका श्रमिक महिलाको वास्तविक संख्या भने एकीन छैन ।

वैदेशिक रोजगारीका समस्याबारे अध्ययन गरिरहेको इक्विडियम नेपालका कार्यकारी निर्देशक रामेश्वर नेपालले देशको वैदेशिक रोजगार ऐन महिलामैत्री नहुँदा अहिले पनि कानुनी प्रक्रिया बाहिरबाट जाने गरेको बताउँछन् । ‘वैदेशिक रोजगारमा जाने धेरै महिला सीपमूलक, दक्ष कामदारको समूहमा पर्दैनन् । कम खर्च लाग्ने प्रलोभनमा दलालको भरमा पर्छन्’ उनले भने, ‘अवैध रुपमा श्रममा जाने महिलालाई रोक्न देशले नै सुरक्षा, संरक्षण र सहज वातावरण बनाइदिनुपर्छ ।’

वैदेशिक रोजगारीमा जाने धेरै महिला मध्यम र विपन्न वर्गका छन् । मुश्लिम देशमा टाउको देखाउन नपाउने, परपुरुषसँग बोल्न नपाउने, नवाज पढ्दा शान्त हुनु पर्ने, हरेक विद्युतीय सामान राम्रोसँग चलाउनुपर्ने, सरसफाइ लगायतका नियम/सीप नजान्दा धेरै नेपाली महिलाले यातना भोग्नुपर्ने र तलब काटिने समस्या छ । ‘एकदिन सुपर मार्केटमा जाँदा छिमेकी दाइ देखेर बोलिहालेँ,’ ५ वर्ष कुवेतमा रोजगारी गरेर फर्केकी देवदह नगरपालिका खैरेनीकी उमा थापाले अनुभव सुनाइन् ‘बोलेकै कारण मलाई त्यसयता धेरै यातना दिइयो । मोबाइल चलाउन दिइएन । बाहिर जाँदा बुर्का लगाउन पठाइयो ।’

आफू जाने ठाउँको जानकारी र विदेश जाँदा चाहिने न्यूनतम सीप एवं ज्ञान नजान्दा दु: ख र यातना पाउने धेरै महिला छन् । २०७३ साउनमा घरेलु कामदारका रुपमा युएई गएकी सैनामैना नगरपालिका रामापुरकी देवकी परियारलाई १० जनाको परिवारमा खाना पकाउने र घर सरसफाइ गर्ने जिम्मेवारी थियो ।

विद्युतीय उपकरण कहिल्यै नचलाएकी उनलाई हरेक काममा समस्या भयो । ‘जे गर्दा पनि काम बिग्रन्थ्यो । कहिले आइरन त कहिले तातेको चुलोले हात डामिदिन्थे,’ उनले भनिन्, ‘काम बिगारेको भनेर तलब पनि काटिदिए । मासिक करिब ४० हजार रुपैयाँ बराबर कमाइ हुने भनिएकोमा १० देखि १२ हजार रुपैयाँ मात्रै दिन्थे । त्यो पनि समयमा दिँदैनथे ।’

वैदेशिक रोजगार ऐनले विदेश जान चाहनेलाई स्वदेशमा सीपको व्यवस्थादेखि विदेशमा सुरक्षा र फर्केपछि कमाएको रकमको सदुपयोग र पुनर्स्थापनासम्मलाई समेटेको छ । धेरै महिला यसबाट पनि वञ्चित छन् । ‘नबुझी विदेश जाँदा अधिकांश महिलाले फरक फरक आर्थिक, शारीरिक र मानसिक यातना भोगेका हुन्छौं,’ वैदेशिक रोजगारीबाट फर्केकी आप्रवासी महिला सरोकार केन्द्र रुपन्देही सदस्य सुमित्रा परियार भन्छिन् ‘सामाजिक आरोप सहनुपर्ने डरले धेरै महिलाले आफूहरुले दु:ख पाएका सबै कुरा घरमा पनि भन्न सक्दैनन् ।’

आप्रवासी महिलाको परामर्श र उद्धारमा संलग्न पौरखी नेपाल रुपन्देहीकी अध्यक्ष भगवती खनाल वैदेशिक रोजगारीमा जान महिलालाई बन्देज लगाउनुभन्दा सुरक्षित तवरले पठाउनका लागि व्यवस्था गर्नुपर्ने बताउँछिन् । ‘वैदेशिक र सुरक्षित रोजगारीबारे वडास्तरबाटै चेतना फैलाउनु पर्छ,’ उनी भन्छिन् , ‘जान चाहनेलाई सहज व्यवस्था र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’

प्रकाशित : मंसिर १३, २०७८ १२:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×