काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अवस्थामा सरकार ढल्ने स्थिति भएकाले माओवादी केन्द्रसँग पार्टी एकता गरेको बताएका छन् । एमालेको १० औं महाधिवेशनको बन्द सत्रलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका नीति र योजना कार्यान्वयनका लागि आफूहरू मिलेको बताए ।
तर सरकार बनाएको र पार्टी एकता गरेकै दिनबाट षड्यन्त्र भएको उनले उल्लेख गरे । ‘कम्युनिष्ट आन्दोलन रक्षात्मक रुपमा गइरहेका बेला कम्युनिष्ट पार्टीले जनमत पाएको थियो तर सुरुकै दिनबाट षड्यन्त्र सुरु गरे,’ उनले भने, ‘हामीमाथि अनेक प्रहार भए । हाम्रोभित्रका अनेक व्यक्तिहरूलाई भड्काउने क्रियाकलाप भए । हाम्रो पार्टी श्रृंखलाबद्ध हमलाको क्रमश: सिकार हुँदै गयो । पार्टी विभाजन गराइयो । एकीकृत भइरहेका नेताहरू आफै संलग्न भएर पार्टीभित्र विभाजनका क्रियाकलापमा लागे र पार्टी दुईपल्ट विभाजन भयो ।’
