काठमाडौंमा सिंह-थापा भर्सेस देउवा-सिटौला

काठमाडौं जिल्ला सभापतिका लागि देउवा–सिटौला समूहले उपेन्द्र कार्कीलाई अघि सारको छ भने सिंह–थापा समूहले वर्तमान सभापति सबुजकृष्ण बानियाँलाई नै अघि सारेको छ ।

मंसिर ११, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत काठमाडौं जिल्ला अधिवेशन आइतबार हुँदैछ । संघीय राजधानी र पार्टीको केन्द्रीय महाधिवेशन आयोजक जिल्ला भएकाले समेत काठमाडौंको नेतृत्व चयनलाई नेताहरूले महत्त्वका साथ हेरेका छन् ।

आफूनिकटलाई जिल्ला सभापति बनाउन केन्द्रीय नेताहरूकै उपस्थिति र नेताहरूबीचको तालमेलले काठमाडौं अधिवेशन झन् रोचक बनेको छ । शीर्ष नेताहरूकै उपस्थितिमा जिल्ला सभापतिका आकांक्षीहरूको उम्मेदवारी घोषणा भएको छ । 

काठमाडौंमा यहाँका स्थायीबासी पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धन बनेको छ भने त्यसविरुद्व सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ । यसअघि १३ औँ महाधिवेशनमा देउवा–सिंह गठबन्धनबाट सबुजकृष्ण बानियाँ जिल्ला सभापति बनेका थिए । त्यसबेला थापा पनि सिटौला समूहमै थिए । 

१४ औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी थापाले सिटौला समूह छाडिसकेका छन् । उनले यसपटक नेता सिंहसँग गठबन्धन गरेर आफूनिकट नेताहरूको व्यवस्थापन गरेका छन् । काठमाडौंमा वडा तहको अधिवेशनदेखि नै देउवा–सिटौला र सिंह–थापा गठबन्धन बनेको हो ।

सिंह–थापा समूहले यसपटक पनि जिल्ला सभापतिका लागि वर्तमान सभापति सबुजकृष्ण बानियाँलाई नै अघि सारेको छ । यता देउवा–सिटौला समूहले भने उपेन्द्र कार्कीलाई जिल्ला सभापतिको उम्मेदवार बनाएको छ । कार्की यसअघि क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुन् । उनले दुई कार्यकाल क्षेत्रीय सभापति भएर काम गरेका छन् । त्यो क्षेत्रमा कार्कीकै कारण देउवा समूहको बलियो उपस्थिति बनेको नेताहरू बताउँछन् । दुवै समूहले भव्य समारोहका साथ जिल्ला सभापतिसहित प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । 

काठमाडौं जिल्ला अधिवेशनका लागि नेता सिंह र थापा आफैँ मैदानमा उत्रिएका छन् । देउवा–सिटौला समूहमा देउवाको प्रतिनिधित्व सहमहामन्त्री प्रकाशशरण महतले गरेका छन् भने सिटौलाको प्रतिनिधित्व भीमसेनदास प्रधानले गरेका छन् ।

देउवा–सिटौला समूहले सभापतिमा कार्की, उपसभापतिमा धर्मराज अर्याल र  रामलाल श्रेष्ठ, सचिवमा सागर रञ्जित र कुमारराज सुवेदी तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानलाई उम्मेदवार बनाएको छ । कार्कीले देउवा र सिटौलापक्षीय केन्द्रीय सदस्यहरूकै उपस्थितिमा बिहीबारै बसुन्धरामा कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेका थिए । 

त्यस्तै, सिंह–थापा समूहले पनि शनिबार विहान लाजिम्पाटमा एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेको छ । सो समूहले सभापतिमा बानियाँ, उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी, सचिवमा इन्द्र थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा अमिता प्रधान र रोमेल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । 

काठमाडौंमा १० प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । त्यसमध्ये क्षेत्र नं. २ र ६ मामात्रै देउवा–सिटौला गठबन्धनले जितेको छ । काठमाडौंमा क्षेत्र नं. १ मा रवीन्द्रविक्रम राणा, २ मा कविर शर्मा, ३ मा सन्तोष चालिसे, ४ मा श्यामकृष्ण संगत ५ मा श्याम खड्का, ६ मा श्याम खड्गी, ७ मा मुकुन्द रिजाल, ८ मा राजेशकुमार श्रेष्ठ, ९ मा जयकृष्ण महर्जन र १० मा पुकार श्रेष्ठ क्षेत्रीय सभापति निर्वार्चित भएका छन् । 

जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले शनिबार मनोनयन दर्तापछि आइतबार मतदान प्रक्रिया अघि बढाइने बताए । ‘जिल्ला अधिवेशनको उद्घाटन आइतबार विहान हुन्छ, दिउँसो मतदान हुन्छ,’ उनले भने ।  काठमाडौं जिल्ला अधिवेशनका करिब ३२ सय मतदाता छन् ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully