सभापतिका आकांक्षी निधिले ल्याए अवधारणापत्र

मंसिर १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीको नेतृत्व पुस्तान्तरणलाई मुख्य मुद्दा बनाउँदै अवधारणापत्र सार्वजनिक गरेका छन् । आसन्न कांग्रेस महाधिवशेनमा सभापतिका प्रत्याशी निधिले पार्टीलाई यथास्थितिबाट अघि बढाउने वा नेतृत्व पुस्तान्तरण गर्ने मुद्दासँग आफ्नो उम्मेदवारी जोडिएको बताएका छन् ।

बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेका निधिले आफ्नो उम्मेदवारीबारे कुनै अन्योल र द्विविधा नराख्न पनि आग्रह गरे ।  निधिले चार वर्षको कार्यकालमा गर्न सकिने कार्यक्रम र योजना समेटिएको अवधारणाका साथ आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको केन्द्रीय पदाधिकारीका लागि मंसिर २१ मा मनोनयन र २५ मा निर्वाचन गर्ने तालिका छ । ‘स्पष्ट र गतिशील कांग्रेस, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्न कांग्रेस’ नारा अघि सारेका निधिले नेतृत्व पुस्तान्तरण गर्ने आफ्नो अभियानलाई साथ दिन प्रतिनिधिहरूसँग अपिल गरेका छन् । 

पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको झन्डै २५ वर्षदेखिको सहयात्रा तोड्दै निधि सभापतिको उम्मेदवार बन्न लागेका हुन् । उत्तराधिकारीका रूपमा आफूलाई अघि बढाउन आग्रह गर्दा पनि देउवाले आफैं उम्मेदवार हुने बताएपछि निधि अलग भएका हुन् । १३ औं महाधिवेशनकै बेला देउवाले १४ औं महाधिवेशनमा सहयोग गर्ने बचन दिएको निधिको भनाइ छ ।

१३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका देउवा, वरिठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले यसपटक अभिभावक बनेर नेतृत्व हस्तान्तरणमा सहयोग गर्नुपर्ने निधि बताउँछन् । पहिलो पुस्ताबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने मुद्दासँग संस्थापनइतर पक्षका आकांक्षी शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला र आफूबीच समझदारीसमेत बनेको उनको दाबी छ । 

‘आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसको रूपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न, नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराई नेतृत्व विकास गर्नकै लागि मेरो उम्मेदवारी हो,’ निधिले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै भनेका छन्, ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न, जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन, देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने काम गर्नेछु ।’ 

उनले अवधारणापत्रमा पार्टीका संगठनलाई चलायमान बनाउने प्रतिबद्धता गर्नुका साथै संविधान संशोधन र छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधारसम्मका पक्षलाई समेटेका छन् । संविधान संशोधनका लागि पार्टीको आधिकारिक निर्णयलाई कार्यान्वयन गराउन आफू लाग्ने प्रतिबद्धता उनको छ । छिमेकी मित्र मुलुकहरू भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन र नेपालका सहयोगी अन्य सबै मुलुकसँग सुमधुर सम्बन्ध विकास गर्न आवश्यक रहेको उनले औंल्याएका छन् । 

यसपटक कांग्रेस महाधिवेशन निर्वाचनमा मात्रै केन्द्रित हुने भएकाले पार्टीको राजनीतिक अवधारणा नआउने भएको छ । केन्द्रीय कार्यसमितिको निर्वाचनपछि नीति महाधिवेशन छुट्टै गर्ने कांग्रेसको निर्णय छ । उम्मेदवारहरूले व्यक्तिगत तहमा आफ्नो अवधारणा सार्वजनिक गर्दै प्रतिनिधि आकर्षण गर्न खोजेका छन । 

प्रदेश २ का अधिवेशनहरूमा व्यस्त रहेका निधि अवधारणापत्र सार्वजनिक गर्नकै लागि राजधानी आएका थिए । ८ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि रहेको प्रदेश २ मा यतिबेला संस्थापन र इतर दुवै पक्षको नजर परेको छ । क्रियाशील सदस्यता विवादले ढिलाइ हुँदा प्रदेश २ का ८ जिल्लामा मंसिर १२ बाट मात्रै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै छ । ती अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । महाधिवेशन प्रतिनिधिमा आफ्नो वर्चस्व कायम राख्न निधि केही समयदेखि प्रदेश २ केन्द्रित भएर लागेका छन् । आफ्नो राजनीतिक र सांगठनिक अवधारणा सार्वजनिक गरेलगत्तै उनी जनकपुर गएका छन् ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully