सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौं : नेता थापा

मंसिर ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औं महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन् । उनले भने, “१०औं महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।” 

नेता थापाले स्थानीय तहमा सहमतिमा नै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभाव पर्ने बताए । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुंगो नलागेको भन्दै उनले छलफलबाट पदको टुंगो लाग्ने जानकारी दिए । उनले भने, “मेरो उम्मेदवारी के मा भन्ने टुंगो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौं ।”

यस्तै, नेता शेरबहादुर तामाङले महाधिवेशनले सर्वसहमत नेतृत्व छनोट गर्ने बताएका छन् । उनले अन्तिम समयसम्म सहमतिको प्रयास हुने र सहमतिमा नै नेतृत्व चयन हुने बताए । उनले भने, “साथीहरुले आन्तरिक तयारी सुरु गर्नुभएको छ । आकांक्षा राख्न पाइन्छ ।” 

फरक प्रसंगमा बोल्दै उनले आफू सचिवको उम्मेद्वार रहेको बताए । उनले भने, “म काममा विश्वास राख्छु । कायकर्ताले दिएको जिम्मेवारीमा बस्छु । तर अपग्रेड हुने चाहना छ ।”

नेकपा एमालेका युवा नेता महेश बस्नेतले १०औं महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताए । उनले माओवदीबाट आएका र १० बुँदे सहमतिबाट आएका नेताहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “अन्यमा समस्या छैन । १० बुँदे सहमतिपछि आएका नेतामा केही समस्या देखिएको हो । उहाँहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिन्छ ।”

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully