एमाले महाधिवेशन : अत्यावश्यक सवारी नरोकिने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले महाधिवेशन : अत्यावश्यक सवारी नरोकिने

रासस

चितवन — नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रको सडकमा अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइँदै छ । बिहान ९ बजेदेखि साँझ ५:३० बजेसम्म सवारी साधनमा रोक लगाइने छ । तामाङले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारी साधन भने व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताए ।

पूर्व पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनलाई व्यवस्थापन गरिएको छ । नारायणगढ–मुग्लिनतर्फबाट आएका सवारी साधन बाइपास सडक हुँदै पूर्वतर्फ जाने छन् । पश्चिमतर्फ जानेलाई केन्द्रीय बस ट्रमिनलबाट भित्री सडक प्रयोग गरेर बाह्रघरे हुँदै नारायणी नदीको पुलबाट नवलपरासीतर्फ पठाइने छ । त्यताबाट आएका सवारीलाई पनि भित्री सडक प्रयोग गरेर केन्द्रीय बस ट्रमिनल हुँदै गन्तव्यतर्फ पठाइने छ । तामाङले भने, 'यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन गरिएको छ, अत्यावश्यक सवारी कहीँ पनि रोकिँदैनन् ।'

मानिसको चाप धेरै भएको ठाउँमा सवारी साधनसमेत चलेमा दुर्घटना हुनसक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ । गाडी रोकिने नाकामा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् ।

महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा बनाइएको छ । उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

रासस

चितवन — नेकपा एमालेको १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११:४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १:१५ बजे उनी फर्कनेछन् ।

तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल आउने वा नआउने टुङ्गो लागिसकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदैछन्।

एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मंसिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।

प्रकाशित : मंसिर ९, २०७८ १०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×