कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

नारायणीमा सेल्फी सेन्टर, सौराहामा समृद्धिका चित्र

चितवन झकिझकाउ पारिँदै, सहभागीले नारायणी किनारको आकर्षक मञ्चबाट हुने सभालाई सुन्दै सेल्फी सेन्टरमा फोटो खिच्न पाउने
रमेशकुमार पौडेल

चितवन — नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा यो बेला बेग्लै चहलपहल छ । नारायणी पुलदेखि पूर्वतर्फ किनारको सबैभन्दा सिरानमा भव्य मञ्च बन्दै छ । शुक्रबार मध्याह्न अतिथिहरू बस्ने उक्त मञ्च बिहीबार साँझसम्म बनाएर सक्नैपर्ने भएकाले कामदारहरू व्यस्त छन् । बन्दै गरेको मञ्च हेर्न आउनेहरू पनि उत्तिकै छन् । 

नारायणीमा सेल्फी सेन्टर, सौराहामा समृद्धिका चित्र

भरतपुर बेलटाँडीका ९५ वर्षका विष्णुबहादुर कार्की, ८५ वषीय एचबी पुन र ७८ वर्षका भीमबहादुर विकको घर नारायणी किनारबाट करिब एक किलोमिटर दक्षिणमा छ । सधैं किनार डुलेका भेटिने यी वृद्ध बुधबार दिउँसो बन्दै गरेको मञ्च देखेर दंग परिरहेका देखिन्थे । मञ्चका अगाडि निकै बेर उभिए । मञ्च व्यवस्थापनमा खटिएका विनोद श्रेष्ठका अनुसार करिब ७५ प्रतिशत काम सकिएको छ । श्रेष्ठ पार्टीको २०४७ सालमा सम्पन्न पाँचौं महाधिवेशनदेखि मञ्च निर्माणमा खटिँदै आएका हुन् ।

‘सातौं महाधिवेशनसम्म मञ्च बनाउन फलाम प्रयोग हुँदैनथ्यो । घर ढलान गर्दाझैं बाँस राखेर खटहरू बनाउने गरिन्थ्यो । आठौं महाधिवेशनदेखि मञ्चमा फलामको प्रयोग हुन थाल्यो,’ उनले सुनाए, ‘नवौंमा डोमको सुरुवात भयो । १० औंमा आएर यी यसरी फोल्ड गर्न मिल्ने सामग्रीहरू काठमाडौंबाट ल्याएर मञ्च बनायौं ।’ मञ्च १ सय २० फिट लामो र ६० फिट चौडाइको छ । ‘अब निर्माणको काम लगभग पूरा हुने क्रममा छ । सजावटको काम बाँकी छ,’ स्वयंसेवक परिचालन समितिको संयोजक तथा मञ्च निर्माणको फिल्ड संयोजन गरेका एमालेका नेता श्रेष्ठले भने ।

एमालेले युवाबीच आकर्षण बनेको सेल्फी सेन्टर पनि उद्घाटन स्थलमा तयार गर्दै छ । ‘हामी १५/२० ठाउँमा सेल्फी सेन्टरहरू बनाउने छौं । दुईवटा ठाउँमा स्थायी सेल्फी सेन्टर नै हुने छन्,’ श्रेष्ठले भने । मञ्च आडैमा १० औं महाधिवेशनको लोगो बनेको कम्युनिष्ट पार्टीको झन्डा उचालेको गैंडाको मूर्ति रहने छ । त्यसैगरी मजदुरहरूले विश्व उचालेको मूर्तिसहितको सेल्फी सेन्टर अर्को ठाउँ बनाइने छ । यी दुई सेल्फी सेन्टर स्थायी हुनेछन् । गैंडाको मूर्तिमा महाधिवेशन अवधिभर कम्युनिस्टको र पछि नेपालको झन्डा हुनेछ ।

महाधिवेशनको उद्घाटन र बन्दसत्र हुने स्थानको दूरी करिब २० किलोमिटर छ । नारायणी किनारमा उद्घाटन कार्यक्रमपछि महाधिवेशनको बन्दपत्र आगामी शनिबारदेखि सौराहामा हुनेछ । बन्दसत्र गर्न पनि खुला ठाउँमा डोम निर्माण भइरहेको छ । बन्दसत्र स्थल र उद्घाटन स्थलको मञ्च निर्माण र अन्य काममा ५० लाख रुपैयाँ खर्च हुने श्रेष्ठले बताए । नेतृत्व चयनका लागि सौराहाको होटल सेभेन स्टारमा मतदानको कार्यक्रम छ ।

उक्त होटलको दुई सय मिटर लामो पर्खालको भित्तामा बुधबार विभिन्न चित्रहरू कोरिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ शीर्षकमा नयाँ कलाकारहरूलाई सहभागी बनाएर भित्ताभर चित्र बनाएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले जानकारी दिए । ५७ जना विद्यार्थीले भित्ताभरि चित्र कोरेका छन् । चितवनका पुराना चित्रकारले पनि चित्रहरू कोरेका छन् ।

‘देशभरका प्रतिनिधिलाई चितवनका कलाकारको सिर्जना देखाउने जमर्को गरेका हौं,’ चित्र बनाएका वरुणबाबु घिमिरेले भने । ‘भित्ताभरि चित्र देख्दा मान्छेको मन रमाउने छ । राजनैतिक बहसमा जुटिरहेकाहरूले बन्दसत्र स्थलमै राम्रा राम्रा चित्रहरू देख्ने छन् । चित्रहरूले मनलाई आनन्द दिन्छ,’ लालकाजी लामाले भने । बन्दसत्र स्थलमै चित्रकला प्रदर्शनी हुने अर्का चित्रकार डी बरालले बताए । राजनैतिक बहसको थलोमा सिर्जना मिसाउने प्रयास कलाकारहरूले गरेको बरालले बताए ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?