काठमाडौँ — नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सञ्चालनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च निर्माण कार्य धमाधम भइरहेको छ ।
बाढीले क्षति पुर्याएको नारायणी नदीको तटलाई सम्याएर एमालेले मञ्च निर्माण गरेको हो । मंसिर १ गतेबाट सम्माएर मञ्च बनाउने सुरु गरिएको थियो ।
शुक्रबार हुने उद्घाटन कार्यक्रममा ५ लाख मानिस उतार्ने दाबी एमालेले गर्दै आएको छ ।
दुई तले हुने मञ्च १ सय २० फिट लामो र ६० फिट चौडा रहेको छ । यसको आधारमा फुटबल मैदानको आधा हुने छ ।
व्यवस्थापन कमिटीका संयोजक विनोद श्रेष्ठले मञ्चमा चार खण्ड हुने बताए । उनले बीचको खण्डमा एमाले स्थायी कमिटीका सदस्य तथा देशी विदेशी अतिथिहरुलाई राख्ने, एकतिर केन्द्रीय कमिटीका सदस्य, दायाँतर्फ सल्लाहकार परिषद्का सदस्य र ७२ जना कलाकारले एकै पटक कार्यक्रम प्रस्तुत गर्न सक्ने व्यवस्था गरिएको बताए ।
श्रेष्ठका अनुसार ५ सय मानिस अट्ने क्षमताको मञ्च निर्माण गरिएको छ । 'निर्माण कार्यमा स्वयंमसेवकहरु लागेको र सामग्री उद्घाटन र बन्दसत्रमा ५० लाख रुपैयाँ मञ्च निर्माण गर्न लाग्ने छ,' श्रेष्ठले भने ।
पाँचौ महाधिवेशनदेखिनै मञ्च निर्माण र व्यवस्थापनमा खट्दै आएका श्रेष्ठले भने, 'पाँचौदेखि आठौं महाधिवेशनसम्म यस्ता संरचना नेपालमा पाइने थिएन,' उनले भने, 'यो फिल्डिङ सिस्टमको मञ्च हो ।'
